राजविराज– ‘रेफरल सेन्टर’को उपमा पाउँदै आएको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा शुक्रबारदेखि ‘डायलाइसिस’ सेवा सुरु गरिएको छ। अस्पतालमा श्रोत÷साधन थप गरी गुणस्तरीय सेवा दिने प्रयासस्वरुप सो सेवाको सुरुवात गरिएको हो।
आज उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले ‘डायलाइसिस’ सेवाको उद्घाटन गरेका छन्। अस्पतालमा करिब १ करोड रुपैयाँ लागतका ४ वटा मेसिन जडान गरिएको छ। उद्घाटनका क्रममा राजविराज–७, खर्सालटोलका रामप्रसाद साह र वोदेवरसाइन नगरपालिका–४, फुलकाहीका चतुरनारायण साह ‘डायलाइसिस’का लागि भर्ना भएको अस्पतालका मेडिकल सुपरिटेन्डन्ट चुमनलाल दासले जानकारी दिए।
‘डायलाइसिस’ सेवाको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री यादवले सगरमाथा अञ्चल अस्पतालबाट अपवाद बाहेक बिरामी रेफर गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने र अन्य जिल्लाका बिरामी उपचारका लागि सप्तरी आउने गरी अस्पतालको स्तोरोन्नति गरिने बताए। ‘केहिदिन भित्रै महत्वपूर्ण अन्य सुविधा सञ्चालनको तयारीमा छौं।’, उनले भने, ‘कस्तो सेवा भन्ने चाँही सुरु गरेपछि भनौंला।’
दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको अभावमा अस्पतालको स्वास्थ्य सेवा प्रभावित भइरहेको विषयलाई सरकारले चाँडै नै सम्बोधन गर्ने मन्त्री यादवले बताए। ‘डाक्टरहरुको लिष्ट तयार छ। कोही आउँदैछन्, कोही आउने क्रममा छन्’, उनले थपे, ‘उनीहरुलाई निर्भिकतापूर्वक काम गर्नसक्ने वातावरण बनाउने जिम्मा तपार्इं–हाम्रै हो।’
उनले अस्पतालका लागि सुविधासम्पन्न भवन निर्माणका लागि सरकारले ७६ करोड रुपैयाँ बजेट छुट्याएको र टेण्डर प्रक्रिया सम्पन्न भई सम्झौता हुन बाँकी रहेकाले यही वर्ष निर्माण कार्य पनि सम्पन्न हुने जिकिर गरे।
प्राविधिकहरु नै बिगार्छन् अस्पतालका मेसिन : मनिष सुमन
सप्तरी निर्वाचन क्षेत्र नं. २ ‘ख’ बाट निर्वाचित प्रदेश सांसद मनिष सुमनले अस्पतालकै प्राविधिक र कर्मचारीले भएका मेसिन बिगारेर बिरामीलाई अस्पताल बाहिर पु¥याउने गरेको बताउँदै त्यस्ता क्रियाकलाप सुधार नगरे डायलासिस सेवा पनि उद्घाटनमा मात्रै सिमित हुने दावी गरे।
डाक्टरहरु पनि अस्पतालमा बिरामी छोडेर क्लिनिक धाउने परम्पराका कारण बिरामीले स्तरीय सेवा पाउन नसकेको उनको आरोप थियो। ‘डाक्टर साबहरुले अस्पतालमा राम्रै सेवा दिनु भएको छ। त्यसका लागि धन्यवाद,’ उनले भने, ‘तर, त्यही समयमा क्लिनिकमा पनि बिरामी हेर्न भ्याइरहनु भएकै छ।’
धरान–विराटनगरका निजी अस्पतालका दलाल र एम्बुलेन्स सञ्चालकहरुको प्रभावमा अञ्चल अस्पतालबाट बिरामी रेफर हुने गरेको बताउँदै सुमनले त्यस्तो प्रवृत्तिको अन्त्य गर्न पनि स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराए। ‘इमर्जेन्सीमा बिरामीको राम्रो चेकजाँच पनि हुन पाएको हुँदैन, कतिखेर रेफर गर्ने भन्ने हतारो देखिन्छ।’, उनले भने, ‘अलिकति पनि रिस्क लिन कोही तयार छैन।’
इमर्जेन्सी बाहिर ‘गिद्दले सिनो ढुकेझैं’ बिरामीको रेफर पर्खेर बस्ने एम्बुलेन्सका कारण पनि अस्पतालको सेवा प्रभावित भइरहेको भन्दै उनले आक्रोस ब्यक्त गरे।
‘डायलाइसिस’ सेवा उद्घाटन कार्यक्रममा सहभागी भएका राष्ट्रियसभाका सदस्य सुमनराज प्याकुरेल, प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहलगायतले पनि सप्तरीलगायत मधेशको स्वास्थ्य अवस्था सुधारका लागि जस्तोसुकै पहल गर्न तयार हुने प्रतिवद्धता जनाए।
राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले सप्तरीमा शिक्षण अस्पताल स्थापना गर्ने कुरा चलिरहेको बताउँदै त्यसका लागि आवश्यक जग्गा राजविराज नगरपालिकाले उपलब्ध गराउने स्पष्ट पारे।