भद्रपुर- झापाको मेचीनगरमा एकै घरका तीन जना डेङ्गु रोगले बिरामी भएका छन्।
मेचीनगर–३ बाहुनडाँगीकी ३५ वर्षीया शर्मिला राई, उनको ११ वर्षीय छोरो अमन राई र २७ वर्षीय देउरानी सरिता राई डेङ्गुबाट सङ्क्रमित भएका हुन्।
डेङ्गु सङ्क्रमित तीनैजनालाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी शिक्षण अस्पतालमा भर्ना गरिएको छ। झापाको काँकरभिट्टा, विर्तामोड र दमक नगर क्षेत्रमा विगत वर्षमा डेङ्गु सङ्क्रमण फैलिएको भए पनि बजारबाट निकै टाढा बाहुनडाँगीको ग्रामीण क्षेत्रमा डेङ्गु रोगी फेला परेको यो पहिलो पटक हो।
एक साताअघि शुरुमा ११ वर्षीय अमन राईमा टाउको दुख्ने समस्यासँगै कडा ज्वरो आएपछि रक्त परीक्षण गर्दा डेङ्गु सङ्क्रमण पत्ता लागेको अमनका बुबा ध्रुव राईले बताए। उनले भने, ‘छोरोलाई ज्वरो आएको तीन दिनपछि उसकी आमा र काकीलाई पनि त्यस्तै ज्वरो आयो।’ रासस