काठमाडौं- सरकारले आगामी १४ र १५ भदौमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको सहयोग प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागी हुने पाहुँनाहरुको उपचारका लागि लक्षित गर्दै ५ अस्पतालमा आवश्यक व्यवस्था मिलाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्मेलनमा सहभागिको स्वास्थ्यमा आउन सक्ने आवश्यक अवस्थालाई मध्यनजर गर्दै ५ सरकारी अस्पतालमा उपचारको व्यवस्था मिलाएको हो। मन्त्रालयका अनुसार बिमस्टेकका लागि वीर, त्रिवी शिक्षण, पाटन, निजामती र नेपाली सेनाको अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ। यसका साथै थापाथलीस्थित नर्भिक, नख्खुस्थित नेपाल मेडिसिटी र सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको शिक्षण अस्पताललाई पनि तयारी अवस्थामा रहन भनिएको छ।
यसैगरी, पाहुनाको स्वास्थ्यलाई ख्याल गर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, सोल्टी होटलस्थित सम्मेलन स्थल र पाहुना बस्ने होटलमा समेत आक्समिक उपचारका लागि स्वास्थ्य युनिट खडा गरिने भएको छ। यी स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा समेत खटाइने छ। हरेक टोलीमा चार जना चिकित्सक, नर्स, प्यारामेडिक्स र ल्याव टेक्निसियन हुनेछन्।
विमस्टेक सम्मेलनमा नेपाल सहित भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका भिआइपी पाहुन आउँदैछन्। सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओचा, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति माइथरीपला सिरिसेना, म्यानमारका राष्ट्रपति विन माइन्ट नेपाल आउने बताइएको छ।