विचार/ब्लग

स्वास्थ्य क्षेत्रका तनाव व्यवस्थापनका लागि बेलायतबाट सिक्नुपर्ने कुरा

डाक्टर, बिरामी र बिरामीका आफन्त बिच प्रभावकारी सञ्चार जरुरी

 डा उज्वल चालिसे

हामी सबै सफल सुखी र स्वस्थ  जीवन जिउन चाहन्छौं र आफू अथवा आफ्नो परिवारमा कसैको बिरामी भइ वा दुर्घटनामा परेर मृत्यु हुनसक्छ भन्ने बारेमा  सोच्न पनि सक्दैनौं । हर खतराबाट बचाइ आफूलाइ कसरी सुरक्षित राख्न सकिन्छ भन्ने कुरालार्इ मानव मात्र होइन, हरेक जीवले आफ्नो जीवनको मुख्य मन्त्र बनाएको हुन्छ। तरपनि यो या त्यो कुनै न कुनै कारण, कुनै न कुनै बेलामा हामी सबै मर्ने नै हो । संसारकै सबै धनी ब्यक्तिले जतिसुकै पैसा खर्च गरेपनि अमर रहन सक्दैन।  मृत्यु शाश्वत सत्य हो । हामी जन्मिएपछि एकदिन मर्नैपर्छ भन्ने कुरा  हामीले जति छिटो मनन् गर्न सक्यौं हामी त्यति नै सुखी र सफल हुन सक्छौं ।मेडीकल साइन्सले मृत्युमाथि विजय प्राप्त गर्न सकेको छैन। तर बाँचुन्जेल रोगको त्रासदी कम गर्न भने सफल भएको छ।

चिकित्साकर्मी एवम् अस्पताल हरेक दिन यही स्थितिबाट कुनै ब्यक्तिलाइ बचाउन् लागिपरिरहेको हुन्छन्। मानिसको जीवनमा जन्मदेखि मृत्युसम्मका हरेक स्वास्थ्य सम्बन्धि जाटिलतालार्इ समाधान गरी स्वस्थ जीवन बाँच्न पाउनुपर्ने हरेकको नैसर्गिक अधिकारलार्इ सुरक्षित गरने सीप प्रयोग गर्नु उसको धर्म अनि कर्तब्य हो। उसलार्इ यो काम गर्न एक्लै सम्भव हुँदैन, त्यसैले विकसित मुलुकमा उनीहरुलार्इ साधनस्रोत सम्पन्न बनाइ हौसला प्रदान गरिन्छ। यो पेसालार्इ उच्च मर्यादित रूपमा लिइन्छ।

विकसित देसमा आफ्नो रोगको बारेमा सम्पूर्ण जानकारी बिरामीलाई दिनुपर्ने कानुनी बाध्यता छ। बिरामी स्वयंलाई रोगको अवस्था उपचारका विकल्प अनि त्यससँग सम्बन्धित जाटिलताको बारेमा सुसुचित गराइ अनिवार्य सहमति लिनुपर्ने हुन्छ। बिरामीको होस् नै गुमेको आपत्कालिन अवस्थामा बाहेक अरु अवस्थामा रोग अनी उपाचारको सम्पूर्ण जानकारी बिरामि स्वयंलाई दिनुपर्ने कानुनी बाध्यता छ। अचेत अवस्थामा आफूलार्इ 'के–के उपचार गरियोस् के–के नगरियोस्' भन्ने बारेमा पहिलेनै भन्नुपर्ने गरी ब्यवस्था मिलाइएको हुन्छ । आफू अचेत रहेको अवस्थामा कसको सहमति लिएर काम गर्नेलगायत सम्पूर्ण कुरामा पाहिले नै जानकारी दिनुपर्ने हुन्छ। हरेक कुराको पहिल्यै योजना बनाइएको हुन्छ। मृत्यु भएपछि के गर्ने ? भन्नेबारे आफ्नो इच्छा कानुनी रुपमा पहिले नै दर्ता गराउनुपर्ने हुन्छ।

बेलायतमा कुनै पनि नागरिक उपचारबाट आर्थिक वा कुनै कारणले बञ्चित हुन पर्दैन। सरकारी स्वास्थ्य सेवा सम्पूर्ण रूपमा  नि:शुल्क उपलब्ध छ। अस्पतालसम्म आउन नसक्ने बिरामीलार्इ कि त एम्बुलेन्समा नि:शुल्क लैजाने ल्याउने ब्यवस्था गरिन्छ कि घरमै पुगेर नि:शुल्क सरकारी स्वास्थ्य सेवा दिइन्छ। अस्पतालमा भर्ना  हुन्जेल खाना पनि बिना शुल्क नै हुन्छ। अस्पतालमा एक बिरामीको सेवाको लागि एक नर्स खटाइएको  हुन्छ भने एक डाक्टरले बढीमा १० जना बिरामी हेर्छन्। थोरै बिरामी हेर्नु पर्ने भएपछी डाक्टरले हरेक बिरामीलार्इ समय दिन्छ। कुनै बिशेष उपचारका लागि भने लामो समय कुर्नुपर्ने हुनसक्छ ।  कुर्न नसक्नेले निजी स्तरबाट सेवा लिन पाउँछ।

हाल नेपालका अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु भएमा देखिने गरेको धेरैजसो तनाव सही सूचना प्रवाहको अभाव हो । सञ्चार प्रणालीमा रहेको कमजोरले गर्दा बिरामी र असप्पतालबीच असमझदारी उत्पन्न भएका धेरै घटना छन्। त्यसबाहेक उपचारको सम्पूर्ण आर्थिक ब्यवस्था  परिवारले नै मिलाउनुपर्ने अवस्था छ ।  उपचारको क्रममा बिरामीको मृत्यु भएमका अस्पताल वा चिकित्सकको लापरवाहीले भएको भनेर उपचार खर्चबाट उन्मुक्ति पाउन खोजेको समेत देखिन्छ।

तनावका एकपछि अर्को घटना भइरहेका छन् तर यस्तो अवस्थामा के गर्ने भन्न विषयमा स्पष्ट कानूनको अभाव देखिन्छ।  प्रहरी  र प्रशासनमा पनि उस्तै अन्योलता देखिन्छ। केही दशक अघिसम्म बेलायतमा पनि यस्तै अवस्था थियो।  बिरामीको रोग अवस्था, उपचार सम्बन्धि सम्पूर्ण जानकारी बिरामी वा बिरामीको मन्जुरीमा उसको आफन्तलार्इ दिनैपर्ने कानुन ल्याइयो, त्यसछि स्वस्थ्यकर्मीले बिरामीसँग खुलेर छलफल गर्ने वातावरण बन्यो। यस्ता किसिमका तनाव हटेर गए।

अहिले बिरामी पक्ष उपचारमा चित्त नबुझे कानुनी उपचारमा जान्छन्।  मेडिकल लापरवाही भएको हो कि होइन भननेर निर्णय गर्नको लागि त्यसैसँग सम्बन्धित विषेशज्ञहरुको समितिले दिएको सुझावअनुसार अदालतले  निर्णय गर्छ । हाल नेपाली जनताको चेतनाको स्तर माथि उठिसकेको परिप्रेक्ष्यमा  यस  विषयमा जति सक्दो चाँडो स्पस्ट कानुनी व्यवस्था गर्नु सवैको हितमा हुन्छ।  
बेलायत सरकारले कुल बजेट करिव ३० प्रतिशतसम्म रकम स्वास्थ्य सेवा दिनको लागि खर्च गर्छ । त्यसैले यत्रो नि:शुल्क एवम् गुणस्तरीय  स्वास्थ्य सेवा सम्भव भएको छ । जबकी भाषणमा वा घोषणापत्रमा भोटको लागि जति गफ दिएपनि  नेपालमा आजसम्म कुनैपनि सरकारले बजेटको पाँच प्रतिशतसम्म पनि छुट्याउने आँट गरेको देखिएको छैन।

मानव स्रोतसाधन र आवश्यक उपकरणहरूको अभावै अभावका बिच पनि स्वास्थ्यकर्मीले गाउँ–गाउँमा सेवा दिइरहेको अवस्थामा सरकारले आफ्नो दायित्व बोध गरेको छैन । उल्टो चिकित्साकर्ममा रहेका श्रमजीविको थाप्लोमा दायित्व थोपरेर सजिलो बाटोमा हिँड्न खोजिरहेको प्रतित हुन्छ। जबकि एउटा चिकित्सकले गर्ने भनेको आफ्नो ज्ञान र सीप, उपलब्ध स्रोत र साधन, रोगको जटिलता हेरि सकेसम्म उपचार गर्ने हो। हरेक उपचारका आफ्नै जोखिम हुन्छन् तर जोखिम नलिइ उपचार गर्न सकिँदैन।  त्यसैले सकेसम्म जोखिमको बारेमा सुसुचित गराउनु उपचार गर्ने अस्पताल वा चिकित्सकको धर्म हो।

बेलायत लगायत अन्य् विकसित मुलुकमा  उपचार मात्र होइन, स्वस्थ्य सेवाप्रदायक संस्थाका कुनैपनि सेवा चित्त नबुझेमा उजुरी गर्न पाइन्छ। अस्पतालको लापरवाही वा कमजोरी देखिए उचित क्षतीपूर्ति पनि भराइन्छ। तर त्यो क्षतिपूर्ति चिकित्सकले दिने होइन, यहाँको स्वास्थ्य बिभाग (जसलार्इ एनएचएस  भनिन्छ) ले यसको जिम्मेवारी लिन्छ। कुनैपनि जटिल समस्याका बेलामा उपचारको दौरानमा हुनसक्ने जोखिमलार्इ न्युनिकरण गर्न 'मल्टिडिसिप्लिनरी टिम'मा छलफल गरी निर्णय लिइन्छ। जसले गर्दा भबितब्य परेर बिरामीको मृत्यु भएमा उपचार गर्ने चिकित्सक एक्लै जिम्मेवार नभइ अस्पताल र स्वास्थ्य विभागले नै जिम्मेवारी लिन्छ।  निजी क्लिनिकमा भएको समस्यामा चाहिँ डाक्टर र क्लिनिक नै जिम्मेवार हुन्छन्। चिकित्साकर्मी माथि हुन सक्ने भौतिक आक्रमण रोक्न कडा कानुन बनाइएका छन्।

नेपालमा मेडिकल बिध्यार्थीलार्इ अहिले रोग कसरी पत्ता लगाउने ? उपचार कसरी गर्ने ? भन्ने कुरामात्र सिकाइन्छ।  त्यो बाहेक बिरामीसँग कसरी व्यवहार गर्ने ? सम्वेदनशील विषयमा बिरामीका  आफन्तसँग  कसरी प्रभावकारी रुपमा  छल्फल गर्ने भन्ने कुराको समेत पाठ्यक्रम बनाउन जरूरी छ।

(डा चालिसे द रोयल मार्सडन हस्पिटल लण्डनमा फेलोसिप गरिरहेका छन्।)

 

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने