कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकामा सुनौलो हजार दिन कार्यक्रम सञ्चालनमा आएपछि मातृ र शिशु मृत्युदर घटाउन मद्दत पुगेको छ।
आमा र शिशुको स्वास्थ्य सुधार गर्न सञ्चालित कार्यक्रमपछि दुवैको मृत्युदरमा निकै कमी आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिलराम भट्टले बताए। चार पटक गर्भवती जाँच, आइरन चक्की तथा जुकाको औषधि खुवाउने र दुई वर्ष मुनिका बच्चालाई खोप लगाउने कार्य गरिँदै आएको छ।
दुई वर्षअघिदेखि सञ्चालित कार्यक्रमको प्रभावकारिताका कारण गर्भवती महिला स्वास्थ्य संस्थामै सुत्केरी हुँदै आएका छन्। ‘आइरन चक्की र जुकाको औषधि सेवनले महिलामा रक्त अल्पताको समस्या हटेको छ’ शाखा प्रमुख भट्टले भने।
आमा र शिशुको स्वास्थ्य राम्रो राख्न कार्यक्रमले सघाउ पु¥याएको उनको भनाइ छ। स्तनपान गराउने महिलाको सङ्ख्या विगतको तुलनामा बढेको छ। दुई कुपोषण उपचार केन्द्रमार्फत २३ महिना मुनिका अति कुपोषित बालबालिकालाई औषधियुक्त खानाको माध्यमबाट उपचार गर्ने व्यवस्था गरिएको छ। औषधियुक्त खानाको माध्यमले कुपोषित बालबालिका स्वस्थ हुन थालेका छन्।
वडावडामा स्वास्थ्य सेवा पु¥याउन नगरपालिकाले स्वास्थ्य इकाई स्थापना अगाडि बढाएको छ। गत वर्ष वडा नं २, ८, १२ र १८ मा स्वास्थ्य इकाई स्थापना गरेको नगरपालिकाले यस वर्ष वडा नं ३, ११, १३ र १५ मा स्थापना गर्ने बताइएको छ। प्रत्येक इकाईमा स्वास्थ्य सहायक (एचए) को व्यवस्था गरी उपचारात्मक तथा प्रर्वद्धनात्मक सेवा प्रदान गरिने योजना छ। नगरपालिकामा हाल छ नगर स्वास्थ्य केन्द्र, एक स्वास्थ्य चौकी र दुई बर्थिङ्ग सेन्टर सञ्चालनमा छन्। रासस