काठमाडौं– पोष्ट ग्य्राजुएट इन्सिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च (पीजीएमइआर)लगायतका भारतीय सरकारी मेडिकल कलेजले विदेशी रेसिडेन्ट डाक्टरलाई पनि तलब दिने भएका छन्।
यसअघि विदेशी विद्यार्थीले स्वयम्सेवकका रुपमा काम गर्थे भने भारतीय जुनिएर रेसिडेन्टले ७० हजार रुपैयाँ र सिनियर रेसिडेन्टले एक लाख भारतीय रुपैयाँ प्रति महिना पाउने गरेका थिए।
आफूहरु पनि भारतीय रेसिडेन्ट जत्तिकै काममा खट्ने भएपनि तलब नदिएर विभेद भएको विषय विदेशी रेसिडेन्ट डाक्टरले लामो समयदेखि उठाइरहेका थिए।
केही दिनअघि मात्रै यस्तो निर्णय भएको पीजीआइएमआरमा एमडी गरिरहेका नेपाली डाक्टर विपिन कुमार यादवले बताए । विदेशी विद्यार्थीलाई तलब दिनुपर्ने विषयलाई नेपालका प्रधानमन्त्री केपी ओली मार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष नेपाली रेसिडेन्ट डाक्टरले पु¥याएका थिए । नेपाली विद्यार्थीका कारण आफूहरुमाथि न्याय भएको भन्दै अन्य देशका विद्यार्थीले नेपाली विद्यार्थीप्रति आभार प्रकट गरेका छन्।
पीजीआइएमआरमा एमडी अध्ययनरत डा विपिन कुमार यादव भन्छन्, ‘हामी निर्णयबाट असाध्यै खुशी छौं । पहिलो लामो समयदेखि भोग्दै आएको विभेदबाट मुक्त भएको छौं । दोस्रो, हाम्रा अभिभावकको काँधबाट आर्थिक भार हटेको छ।’
भारतमा रहेका सवै सरकारी इन्सिच्युटले लागु गर्नुपर्ने भएपनि अल इन्डिया मेडिकल इन्सिच्युट (एम्स) र जवाहरलाल इन्सिच्युट अफ पोस्टग्य्राजुएट मेडिकल एजुकेसन एन्ड रिसर्चले लिखित निर्देशन पाइनसकेको जनाएका छन् । पीजीएमइआरले भने केही दिनअघि विदेशी विद्यार्थीलाई पनि तलब दिन भारत सरकारबाट लिखित निर्देशन पाएको छ।
अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेस (एम्स), नयाँदिल्लीमा जुनिएर रेसिडेन्ट रहेका डा सागर पौडेलले यो विषयलाई नेपालका प्रधानमन्त्री केपी शर्मा वली समक्ष राखेका थिए।
डा सागरले भनेका छन्, ‘यो लामो समयदेखि उठिरहेको तर थन्किएको माग थियो । यसका लागि राजनीतिक पहल मात्रै समाधान थियो । जब मैले नेपालका प्रधानमन्त्री ओली भारत भ्रमणमा आउने थाहा पाएँ । मैले भारतमा रेसिडेन्सी गरिरहेका नेपाली डाक्टरका तर्फबाट पत्र लेखें । यही विषयलाई लिएर नेपाल पुगेर प्रधानमन्त्री ओली र विदेशी मन्त्री प्रदीप ज्ञवालीलाई पनि भेटें ।’
भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले डाक्टरहरुको उक्त गुनासो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष राखेका थिए । त्यसपछि नेपालीलगायत भारतमा पढ्न आउने विदेशी विद्यार्थीको यो गुनासो सम्बोधन भएको थियो।
पीजीएमइआर चन्डिगढमा एमडी र एमएसमा १० प्रतिशत विदेशी विद्यार्थीका लागि आरक्षण गरिएको छ । ६ सय ६८ सिटमा ६६ विद्यार्थी विदेशी हुनुपर्छ । तीमध्ये ५८ जना विदेशी विद्यार्थीले एमडीएमएस गरिरहेका छन् । जसमा ५० जना नेपाली छन्।
सवै डाक्टर उत्तिकै कडा मेहनतका साथ काम गर्ने भएकाले विदशै विद्यार्थीहरुले तलब पाउन जरुरी रहेको पीजीआइएमइआरका निर्देशक डा जगत राम बताउँछन् । उनी भन्छन्, ‘सवै विदेशी विद्यार्थीले अब तलब पाउनेछन् । केही दिनअघि मात्रै भारत सरकारले उनीहरुको माग पूरा गरिदिएकमो छ । हामीले यसलाई कार्यान्वयन गर्न प्रतिबद्ध छौं।’
अहिले जुनिएर रेसिडेन्ट मात्रै तलब पाउने आफूले जानकारी पाएको बताउँदै निर्देशक डा रामले सिनिएर रेसिडेन्टलाई पनि दिलाउन माथिल्ला निकायसँग छलफल गर्ने जनाए।
हिन्दुस्तान टाइम्सको सहयोगमा