विचार/ब्लग

आयुर्वेद अध्ययन संस्थान गठनको औचित्य

लोचन आचार्य

नेपालमा त्रिभूवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयले आयुर्वेदतर्फको बी.ए.एम. एसी  कार्यक्रम सञ्चालन गरिरहेको छ। 

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थानले आफ्नो आङ्गिक क्याम्पस आयुर्वेद क्याम्पस, कीर्तिपुरमार्फत् सो कार्यक्रमको सञ्चालन गर्दै आइरहेको छ भने नेपाल संस्कृत विश्वविद्यालयले आयुर्वेद अध्ययन संस्थानमार्फत् केन्द्रीय आयुर्वेद क्याम्पस, दाङमा सो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

नेपाल संस्कृत विश्वविद्यालयले २०६७ सालदेखि आयुर्वेद अध्ययन संस्थानको स्थापना पछि मात्र यो कार्यक्रमको सुरुवात गरेको हो भने त्रिवी अन्तर्गतको आयुर्वेद क्याम्पसको लामो इतिहास छ।
नेपाल सरकारद्वारा वि.सं.१९८५ मा ४ शैय्यायुक्त आयुर्वेद चिकित्सालय सहितको आयुर्वेद महाविद्यालयको स्थापना गरेको पाईन्छ  ।
वि.सं.२०२९ सालमा सो महाविद्यालयलाई त्रिभुवन विश्वविद्यालयमा समाविष्ट गरियो र चिकित्साशास्त्र अध्ययन संस्थानको स्थापना पश्चात् आयुर्वेद क्याम्पस सो संस्थान अन्तर्गत नै सञ्चालित रहिआएको छ।
२०३० सालमा नयाँ शिक्षा नीति लागू भए पश्चात् आयुर्वेद एवं आधुनिक चिकित्सामा प्रवीणता प्रमाण पत्र तहको अध्ययन अध्यापन सुरु भयो।

वि.सं. २०३५ देखि एमबीबीएस कार्यक्रमको सुरुवात भयो भने २०४४ सालदेखि आयुर्वेद स्नातक तह बीएएमएसको अध्ययन अध्यापन शुरु भएको थियो।

तर विभिन्न कारणवश २०४७ सालदेखि एमबीबीएसको अध्यापन बन्द भयो । पछि २०५३ सालदेखि बीएएमएसको अध्ययन अध्यापन निरन्तर रुपमा भइरहेको छ । २०६९ सालदेखि भने आयुर्वेद क्याम्पसमा आयुर्वेदमा स्नातकोत्तर एम.डी. कार्य चिकित्साको अध्ययन अध्यापन हुँदै आएको छ।

तर आयुर्वेद क्याम्पसको जति ऐतिहासिक महत्व छ, त्यसै अनुपातमा यसको विकास एवं विस्तार भने त्यति फड्को मार्न सकेको छैन।

९० वर्ष ईतिहास बोकेको यो संस्थामा विगत देखि नै शैक्षिक, भौतिक, प्राज्ञिक एंव प्रशासनिक समस्याहरू रही आएका छन्। त्यो छुट्टै चर्चाको विषय हो।

यो क्याम्पसको प्रमुख उद्देश्य दक्ष आयुर्वेद चिकित्सकहरूको उत्पादन गरी राष्ट्रिय आवश्यकता पूर्ति गर्नु हो । क्याम्पसको यो उद्देश्य प्राप्ति, क्याम्पसको सर्वाङ्गीण विकास एवं राष्ट्रिय आवश्यकता पूर्तिको लागि आयुर्वेद अध्ययन संस्थानको गठन गर्नुपर्ने आवाज विभिन्न समयमा उठ्दै गरेको छ। 

राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति २०५२ को दफा ६.१ मा ‘आवश्यक साधन युक्त अनुसन्धान केन्द्र सहित आयुर्वेद अध्ययन संस्थानको स्थापना त्रि.वि.वि. अन्तर्गत गरिनेछ’ भनी आयुर्वेद अध्ययन संस्थानको स्थापनालाई नेपाल सरकारको नीतिको रूपमा अङ्गीकार गरिएको छ।

त्यसैगरी २०५५मा शिक्षा मन्त्रालयद्वारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनको बुँदा नं.१२ (पृष्ठ १३३) मा समत स्पष्ट रुपमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत आयुर्वेद अध्ययन संस्थानको स्थापनाको लागि सिफारिस गरेको पाइन्छ।

त्यसैगरी विभिन्न समयमा सरकारद्वारा जारि भएका निर्देशिकाहरू जस्तै आयुर्वेद चिकित्सा प्रणालीको सुदृढीकरणका लागि कार्य सञ्चालन निर्देशिकाका २०६०, आयुर्वेद चिकित्सालयको सेवाको स्तर तथा सञ्चालन मापदण्ड एवं निर्देशिकाका २०६१, आयुर्वेद औषधालयहरुको सेवाको स्तर तथा सञ्चालन मापदण्ड एवं निर्देशिकाका २०६१ मा पनि नेपालमा विभिन्न विधाहरूमा आयुर्वेदको स्नातकोत्तर कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता दर्शाएको देखिन्छ।

पछिल्लो पटक त्रिभूवन विश्वविद्यालयबाट  २०७४ साल फागुन १६ गते त्रिवि आयुर्वेद अध्ययन संस्थान स्थापनाको लागि गठित अध्ययन समितिले पनि त्रिवि अन्तर्गत आयुर्वेद अध्ययन संस्थानको गठन गरी त्यस मार्फत् दीर्घकालीन रुपमा आयुर्वेदसम्बन्धी २२ वटा विषयमा एम.डिरएम.एस र १० वटा पीजी डिप्लोमाको पठनपाठन गर्न गराउन सकिने सम्भाव्यता रहेको पनि प्रतिवेदनमा सुझाव दिइएको छ।

प्रा.डा. चन्द्रराज सापकोटाको संयोजकत्वमा गठन गरिएको उक्त अध्ययन समितिमा नेपाल आयुर्वेद चिकित्सा परिषद्का अध्यक्ष प्रा.डा. धनिकलाल भरखेर, आयुर्वेद क्याम्पसका क्याम्पस प्रमुख डा. शिवमंगल प्रसाद र सह–प्राध्यापक डा. राजकिशोर शाह, नेपाल सरकारको आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय, सिंहदरबार वैद्यखाना विकास समितिका पूर्व प्रबन्ध निर्देशक डा. राजेन्द्र कुमार गिरी, सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा. वंशदीप खरेल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अध्यक्ष डा. ऋषिराम कोइराला र नरदेवी आयुर्वेद चिकित्सालयका अध्यक्ष शंकर पौडेल रहनुभएको थियो।

यद्यपि, आयुर्वेद अध्ययन संस्थानको गठनको सन्दर्भमा केही प्रश्नहरू भने उठ्ने गरेका छन् । वि.सं. २०५२ साल देखि विकेन्द्रीकरणमा प्रवेश गरेको र २०६९ साल माघ १८ देखि स्वायक्तता प्राप्त गरेको आयुर्वेद क्याम्पसलाई वास्तविक आफ्नो विकासको लागी आयुर्वेद अध्ययन संस्थानको रूपमा विकास हुनैपर्छ ? भन्ने स्वभाविक प्रश्न उठ्ने गरेको छ। 

यो प्रश्नको उत्तरसँगै आयुर्वेद क्याम्पसको विकासमा चिकित्साशास्त्र अध्ययन संस्थानको भूमिका समेत जोडिन पुग्छ । आयुर्वेद चिकित्सामा स्नातकोत्तर अध्ययन स्वदेशमै प्रारम्भ गर्नुपर्ने अनिवार्य देखिएको सन्दर्भमा आयुर्वेद चिकित्सा विधाका तीन विषयहरुमा स्नातकोत्तर कार्यक्रम एम.डी.शैक्षिक सत्र २०६९ सालबाटै सञ्चालन गर्ने भनिएता पनि कार्य चिकित्सा विषयमा मात्र संचालन गरियो  । अन्य विषयमा अहिलेसम्म सञ्चालन हुन सकेको छैन   । २०६९ सालमा नै द्रव्यगुण विज्ञान र रसशास्त्र तथा भैषज्यकल्पना विषयको पाठ्यक्रम तयार हुँदापनि चिकित्सा शास्त्र अध्ययन संस्थानले सञ्चालन गर्न नदिएको अवस्था छ।

पुनः २०७३ सालमा रसशास्त्र विभागको माग अनुसार आयुर्वेद क्याम्पसले सञ्चालन अनुमतिको लागि अनुरोध गर्दा पनि चिकित्सा शाष्त्र अध्ययन संस्थानले स्वीकृति नदिएको अवस्था छ । २०७४ देखि सञ्चालनको लागि पुनः अनुरोध गर्दा पनि स्वीकृति हुन सकेको छैन।

जबकी, आफ्नै परिसरमा रहेको ५० बेड शिक्षण अस्पताल र ११ वटा विभाग रहेको यो क्याम्पसले अल्पकालिन रूपमा द्रव्यगुण विज्ञान र रसशास्त्र तथा भैषज्यकल्पना बाहेक शल्य (सर्जरी) र स्वस्थवृत्त (प्रिभेन्टिभ एण्ड कम्युनिटि मेडिसिन) विषयमा स्नातकोत्तर विषय र बी फार्मेसी (आयुर्वेद) विषयको सञ्चालनको क्षमता राख्दछ।

तर चिकित्साशास्त्र अध्ययन संस्थानको भूमिकाका कारणले पनि त्रिवि अन्तर्गत अलग्गै आयुर्वेद अध्ययनको गठनको आवश्यकता झन् बलियो महसुस हुँदै गएको हो । अध्ययन संस्थानले आफू अन्तर्गतको क्याम्पसको अभिभावकको भूमिका खेलेर सकारात्मक कार्यक्रमलाई प्रोत्साहन दिनुपर्नेमा यसो हुन नसक्नु आश्चर्यजनक छ।

त्यसैगरी, केही सरकोरवाला क्याम्पसको क्षमता अभिवृद्धि गरी अध्ययन संस्थानमा प्रवेश गर्ने कि क्षमता अभिवृद्धिका लागी आयुर्वेद अध्ययन संस्थानको गठन गर्ने भन्ने दुविधामा रहेको देखिन्छ । कुखुरा पहिला कि अण्डा पहिला जस्तो देखिने यो प्रश्नको सामान्य उत्तर भने आयुर्वेद आयुर्वेद अध्ययन संस्थानको गठन नगरी आयुर्वेद क्याम्पसको शैक्षिक, भौतिक, प्राज्ञिक एवं प्रशासनिक विकास नहुने निश्चित देखिएको छ।

आयुर्वेद क्याम्पस कीर्तिपुरलाई त्रिवि अन्तर्गतगठन हुने आयुर्वेद अध्ययन संस्थान अन्तर्गत सञ्चालन गर्ने प्रमुख उद्देश्य मुलुकमा देखिएको आयुर्वेदको विशेषज्ञ चिकित्सकको कमीलाई पूर्ति गर्ने हो  । आयुर्वेदमा स्नातकोत्तर र सो भन्दा माथि अध्ययन गरेका विशेषज्ञ आयुर्वेद चिकित्सकको संख्या मुलुकभर जम्मा ५९ छ।

सञ्चालन हुने शैक्षिक कार्यक्रमहरूको लागि नरदेवी चिकित्सालय, सिंहदरबार वैद्यखाना विकास समिति, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, आयुर्वेद विभाग लगायतका संस्थाहरूले समेत आफ्नो स्रोत र सावधान, प्राविधिक एवं जनशक्ति लगायतका सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको अवस्था छ।

नेपाल संस्कृत विश्वविद्यालयले आयुर्वेद अध्ययन संस्थानको गठन गरी प्रवीणता तहसम्म मात्रै अध्यापन हुने केन्द्रिय आयुर्वेद क्याम्पसलाई विकास गरी विगत ८ वर्षदेखि बीएएमएसको अध्यापन गराउँदै आएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थानको गठन हुँदा यसको भौतिक स्थति एवं शैक्षिक जनशक्ति पूर्ण भएको थिएन।

आज समयसँगै त्रिवि शिक्षण अस्पताल र महाराजगन्ज चिकित्सा क्याम्पसले हजारौंको संख्यामा चिकित्सकहरूको उत्पादन मात्र गरेको छैन, चिकित्सा शिक्षाको उत्कृष्ट केन्द्रको रूपमा पनि विकास भएको छ।

सरकारका विभिन्न निकायहरूबाट नै त्रिवि अन्तर्गत आयुर्वेद अध्ययन संस्थानको रूपमा विकास गर्ने प्रतिबद्धता भएता पनि यथार्थमा शिक्षा मन्त्रालय र त्रिभूवन विश्वविद्यालयका पदाधिकारीहरूको अकर्मण्यताको कारणले गर्दा आयुर्वेद क्याम्पसको विकासमा ठूलो प्रश्न चिह्न देखिएको छ।

तर यथार्थ यो पनि हो कि आयुर्वेद अध्ययन संस्थानको गठन पश्चात नै आयुर्वेद क्याम्पसले रातारात कोल्टे फेर्छ भन्नु दिग्भ्रमित गर्नु हो । आयुर्वेद अध्ययन संस्थानको गठन आयुर्वेद क्याम्पस र नेपालको समग्र आयुर्वेद शिक्षाको विकास भन्दा पनि प्राध्यपकहरूको पदीय व्यवस्थापनको लागि मात्र गरियो भने यसको गठन सुरुवातदेखि नै उनुत्पादक हुनेछ।

स्वयं आयुर्वेद अध्ययन संस्थानको लागी आवश्यक दक्ष जनशक्तिको आपूर्ति, आर्थिक स्रोतको व्यवस्थापन, चुस्त व्यवस्थापन र योग्य नेतृत्व विना आयुर्वेद अध्ययन संस्थानले अपेक्षित लक्ष्य प्राप्त गर्न सक्दैन । किनभने स्वायक्तताबाट प्राप्त भएको थुप्रै अधिकारहरूको सफल प्रयोग गर्न नसक्दा आयुर्वेद क्याम्पसको समुचित विकास र विस्तार अन्य स्वायक्त क्याम्पसझैं गर्न नसकेको यथार्थ हाम्रो सामू छ।

अर्को त्रिवि सभाको बैठकमा प्रस्तुत हुने भनिएको आयुर्वेद अध्ययन संस्थानको गठनको प्रस्तावले आयुर्वेद क्याम्पसको नियती कोर्नेछ । क्याम्पसको नियती अब प्रधानमन्त्री, शिक्षा मन्त्री र त्रिभुवन विश्वविद्यालयको हातमा छ।  

आचार्य नेपाल आयुर्वेद विद्यार्थी समाजका उपाध्यक्ष हुन् ।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live