चितवन– नेपाल सिआरएस कम्पनीलाई उत्कृष्ट सामाजिक संस्थाका रुपमा स्वास्थ्य खबर हेल्थ अवार्ड २०७५ प्रदान गरिएको छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा आयोजित एक कार्यक्रममा संस्थालाई अवार्ड प्रदान गरेका हुन्।
‘सोसियल हर्ट विथ बिजनेस माइन्ड’लाई आधारभूत सिद्धान्त बनाएर ४० वर्षदेखि नेपालका दुर्गम क्षेत्रमा यी सामाग्री पु¥याइरहेको छ सिआरएसले । नेपालको सन्दर्भमा उत्कृष्ट सामाजिक बजारीकरणको नमुनाका रुपमा यसलाई लिन सकिन्छ।
कम्पनीले विशेषगरी परिवार नियोजन र यौनरोग नियन्त्रणका क्षेत्रमा प्रभावकारी भूमिका खेलिरहेको छ । उत्पादन लागत भन्दा निकै कममा उपभोक्ताको दैलोसम्म परिवार नियोजनका अस्थायी सामाग्रीहरु उपलब्ध गराइरहेको छ । सँगै सर्वसाधरणलाई महसुस गराइरहेको छ, यो निःशुल्क होइन । ‘थोरै भए पनि पैसा परेको कुरालाई महत्व दिइने भएकाले यस्तो तरिका अपनाइएको हो,’ कम्पनीका प्रबन्ध निर्देशक जीवलाल पोखरेल भन्छन् । उनका अनुसार नेपाल सरकारका निःशुल्क कार्यक्रम प्रभावकारी नहुनुको एउटा कारण यसलाई महसुस गरेर सिआरएसले थोरै रुपैयाँमा किनाउने रणनीति लिएको हो।
नेपालीमाझ चिरपरिचित परिवार नियोजनको साधन ढालका साथै प्यान्थर र डिजाएर, संगिनी सुई, आकस्मिक गर्भनिरोधक पिल्स इकोन, सुनौलो गुलाफ र निलोकन ह्वाइट, झाडापखालाका लागि नवजीवन र सुत्केरी सामग्री नेपाल सिआरएस कम्पनीका सामग्री हुन्।
बजारमा उपलब्ध ढालको लागत ८ रुपैयाँ ६८ पैसा भए पनि उपभोक्तासँग रु १ मात्रै लिने गरेको छ । हालसम्म सिआरएसले कन्डम मात्रै ३२ करोड ८० लाख २८ हजार ४ वटा बेचिसकेको छ । यसको अर्थ त्यतिपल्ट जोडीलाई अनिच्छित गर्भ रहन र यौनजन्य रोगको संक्रमणबाट जोगाएको छ भन्ने अर्थ लाग्छ । यसैगरी पिल्स २६ करोड ८८ लाख ८ हजार ४ सय २४, संगिनी ८५ लाख ८० हजार ९२, आइयुसिडी ३५ हजार ९ सय ६२, इम्प्लान्ट १८ ४ सय ८२ र ई–कोन ३७ लाख २१ हजार ७ सय २० बिक्री–वितरण गरिसकेको छ । यसबाहेक यौनजन्य रोग, परिवार नियोजनलगायतका विषयमा जनचेतना फैलाउने काम समेत यसले गर्दै आएको छ।