काठमाडौं- गुल्मीको तम्घासमा २ दिने निःशुल्क मुटु स्वास्थ शिविर सञ्चालन हुने भएको छ।
मुटु दिवसको उपलक्ष्यमा लायन्स क्लब अफ काठमाडौ लर्ड बुद्धको आयोजनामा सदरमुकाम तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालयकोे प्राङ्गणमा शिविर सञ्चाल हुन लागेको हो।
कार्यक्रम अन्तर्गत असोज १३ गते प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ। ‘मुटु जोगाऔं, खानपान र व्यायाममा ध्यान दिऊँ, स्वास्थ्य परीक्षण गरौँ, अरुलाई पनि सचेत बनाऔँ’ भन्ने नाराका साथ प्रभातफेरि आयोजना हुनेछ।
प्रभातफेरिपछि शिविरको उद्घाटन हुने छ। शिविर गृहमन्त्री मबहादुर थापा (बादल)ले गर्नेछन्।
यस्तै, शिविरमा सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल, प्रदेशका मन्त्री, प्रमुख जिल्ला अधिकारी लगायतको सहभागिता रहनेछ।
शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी, वरिष्ठ डा दिनेशचन्द्र पोखरेल, वरिष्ठ जनरल फिजिसियन डा रोशन कुमार झा, स्त्री तथा प्रसुती एवं परिवार नियोजन विशेषज्ञ डा सौजन्य कर्माचार्य, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा राकेश महर्जनलगायत चिकित्सकहरु सहभागी हुनेछन्।
कुल ३० जनाको मेडिकल टिम रहने शिविरमा डा ओमप्रकाश पटेल, डा दयानन्द शाह, डा दृष्टि पौडेल, डा सविता महर्जन, डा शंकर पोखरेलगरी ५ जना मेडिकल अफिसर सहभागी हुनेछन्।
कार्डियोग्राम, ईसिजी, इन्डोस्कोपी, अल्ट्रासोनोग्राफी, ब्लड तथा सुगर जाँचका साथै युरिन र प्रोटिन जाँचलगायतका सामान्य प्याथोलोजी सेवा शिविरका अवसरमा दिइनेछ।
बिरामीका लागि चाहिले सबै औषधि निःशुल्क वितरण गरिने लायन्स क्लब अफ काठमाडौ लर्ड बुद्धका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए।
उनका अनुसार शिविरमा मुटुको इसीजी, इको कार्डियोग्राम , अल्ट्रासाउन्ड, इन्डोस्कपी र प्याथलोजीसम्बन्धी सेवा नि:शुल्क उपलब्ध हुनेछ।