राजविराज– सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरकी ३६ वर्षीया प्रेमिका पराजुलीको तीन साताअघि मृत्यु भयो। उनलाई बचाउन परिवार र आफन्तले पाँच वर्षदेखि गरेको अथक प्रयास सफल हुन सकेन। भदौ २२ गते नाबालक छोरा विवेक र पति शेषराजको आँखैअगाडि प्रेमिकाले सदाका लागि बिदा लिइन्।
प्रेमिकाको मृत्युको कारण बन्यो– ढाडमा भएको ट्युमर।
ट्युमरको अपरेसन असफल भएपछि त्यसैबाट क्यान्सर भएर प्रेमिकाको मृत्यु भएको परिवारका सदस्यले बताएका छन्।
पाँच वर्षअघि विराटनगरस्थित विराट 4 होममा ट्युमरको पहिलो अपरेसन भयो। तर, छ महिना नपुग्दै समस्या दोहोरिएपछि उपचारमा संलग्न डा आरके सावुले फेरि शल्यक्रिया गर्नुपर्ने सल्लाह दिए।
‘डाक्टरसँग अविश्वास भएपछि हामीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखाउने निधो गर्यौं,’ पति शेषराज भन्छन्, ‘विकल्प नभएपछि दोस्रो अप्रेसन पनि गर्नैपर्यो।’ सोही क्रममा ट्युमरबाट क्यान्सर भएको पुष्टि भएको उनले जानकारी दिए।
क्यान्सर पत्ता लागेपछि चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा प्रेमिकाको उपचार सुरु भयो। उपचारमा करिब ८० लाख रुपैयाँ सकिएको पराजुलीले बताए। ‘जति नै प्रयास गर्दा पनि अन्त्यमा सहाराविहीन भइयो,’ बोल्दाबोल्दै भावुक भएका उनले आँखाको डिलमा टिलपिलाएका आँसु लुकाउने असफल प्रयास गरे, ‘छोराको चिन्ता गर्दागर्दै उनको सास गयो।’
प्रेमिकाले सन्सार छोडेको अन्तिम क्षण सम्झिएर उनी भक्कानिए, ‘बाबु... (छोरा विवेक) भन्दाभन्दै गइन्।'
उनको मृत्युपछि शेषराजसहित दुई छोरा र एक छोरीको विचल्ली भएको छ।
000
सप्तरीकै विष्णुपुर गाउँपालिका १, खुरहुरीयाकी ५० वर्षिया रामसुनैर मण्डल स्तन क्यान्सरबाट पीडित छिन्। चितवनस्थित भरतपुर अस्पतालमा उपचारकै क्रममा २०७२ असारमा उनको देब्रे स्तन काट्नुपर्यो। अपरेसन गरेपछि निको हुने विश्वासमा रहेकी उनी यतिबेला भने विरक्तिएकी छिन्। ‘भगवानले चाँडै उठाए बाँच्नेलाई सहज हुन्थ्यो,’ उनको बिलौना छ, ‘निको हुने ग्यारेन्टी भएन, ऋण काढेर उपचार गराउँदा परिवारको विचल्ली हुने भयो।’
रामसुनैरका पति असर्फी फर्निचरको काम गर्छन्। दिनभरको हाजिराले खानलाउन मुस्किल परिरहेका बेला उपचारका लागि पैसा जुटाउनै समस्या भएको उनले सुनाइन्। ‘सेकाइ र किमोका लागि महिनौं दिनसम्म अस्पतालमै बस्नुपर्छ,’ उनले थपिन्, ‘भएको जायजेथा सकिन लाग्यो। बिसेक हुने संकेत पनि देखिएन।’
चारचार महिनामा अस्पताल पुग्नुपर्ने भए पनि पछिल्लो पटक पैसा अभावले जान नसकेको उनले सुनाइन्। एक महिनादेखि औषधि पनि सकिएपछि खटपटी सुरु भएको रामसुनैरको भनाइ छ।
उपचारमा सरकारी स्तरबाट पाएको एक लाख सुविधाबाहेक सात लाख रुपैयाँ खर्च भएको उनले बताइन्। ‘एक कठ्ठा जग्गा बिक्री भयो, अझै एक लाख ऋण छ,’ उनी भन्छिन्।
आफू बिरामी परेपछि पति र २५ वर्षीया छोरा अशोक पनि स्याहार सुसारमै खटिनु पर्दा बोझ भएर बाँच्नु परेको उनले दुखेसो गरिन्।
रामसुनैरकै छिमेकी ४० वर्षिया भोलाकुमारी यादवको अवस्था पनि उस्तै छ। ३ छोरी र १ छोराकी आमा भोलालाई पनि स्तन क्यान्सर भएपछि डेढ वर्षअघि अप्रेसन गरिएको छ।
राजगढ गाउँपालिका– ५ स्थित उपस्वास्थ्य चौकीमा कार्यालय सहयोगी रहेका पति उचितलालको तलबले घरव्यवहार र उपचारको खर्च धान्न नसकेपछि भोलाको पनि उपचार रोकिएको छ। भदौमा अस्पताल जानुपर्ने भए पनि खर्च अभावले उनी जान पाएकी छैनन्। ‘दसैं पेश्की आएपछि जाने सल्लाह गरेका छौं,’ उनले भनिन्।
उपचारमा हालसम्म करिब ५ लाख खर्च भएको छ। ४ कठ्ठा जग्गा बिक्री गरेर पनि नपुगेपछि ३ लाख ऋण लिएको उनले बताइन्। ‘गहना सबै बन्धकी राखेका छन्,’ उनले थपिन्, 'अब त उकासौंला र गहना लगाएर हिडौंला भन्ने आशा पनि मरिसक्यो।’
स्थानीय दिलीप यादवका अनुसार खुरहुरीमा मात्रै ४/५ जना क्यान्सरका रोगी छन्।
000
प्रेमिका, रामसुनैर र भोलाकुमारी पात्र हुन्, पछिल्लो समय क्यान्सरको अवस्था भने भयावह छ।
क्यान्सर रोगी नभएको गाउँ नै पाउन छोडेको स्थानीयहरु बताउँछन्। सप्तरीमा क्यान्सरका कारण ज्यान गुमाउने र पीडित हुनेको आधिकारिक तथ्यांक छैन। तर, सरकारले क्यान्सर लगायतका कतिपय रोगको उपचारका लागि सहुलियत दिन थालेपछि सिफारिस लिन आउनेहरुको तथ्यांक भने ठूलो छ। चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै क्यान्सर उपचारका लागि १३ जनाले सिफारिस लिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रशासन प्रमुख राजकुमार महतोले बताए।
कार्यालयका अनुसार गत वर्ष ८९ महिला र ९६ पुरुष गरी जम्मा १८५ जनाले क्यान्सरको उपचारका लागि सिफारिस लिएका थिए।
सरकारले क्यान्सर लगायत मिर्गौला रोग, मुटु रोग, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया, कलेजो, अप्लास्टिक एनिमिया, थालसेमिया र मष्तिस्क आघात १२ वटा रोगको उपचारका लागि १ लाख रुपैयाँ सहायता उपलब्ध गराउने गरेको छ।
महँगो उपचार, पहुँचमा छैनन् अस्पताल
चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा बर्सेनि ३५ हजार मानिसलाई क्यान्सर रोग लाग्ने गरेको छ। हरेक एक लाखमध्ये एक सय २० जनामा क्यान्सर रोग लाग्ने गरेको अस्पतालले जनाएको छ।
क्यान्सर रोग लाग्नेमध्ये २० प्रतिशत बिरामीको मात्र रोग पत्ता लाग्ने गरेको र कतिपयको अस्पतालमा उपचार गर्न ल्याउने क्रममा तथा केहीको रोग पत्ता नलाग्दै मृत्यु हुने गरेको अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्य बताउँछन्।
नेपालमा करिब ६० हजारभन्दा बढी क्यान्सर पीडित रहेको र ८५ प्रतिशत बिरामी अझै पनि स्वास्थ्य सेवाबाट वञ्चित रहेको विज्ञहरुले बताइरहँदा यसको उपचार भने अपेक्षा गरे अनुसार पनि सहज छैन।
भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सहयोगबाट मुख्य ७ वटा अस्पतालमा मात्रै क्यान्सरको निदान र उपचार सुविधा छ। जसमा काठमाडौंको वीर, शिक्षण, कान्ति बाल, भक्तपुर क्यान्सर अस्पताल, धरानको बिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स र पोखराको मणिपाल मेडिकल कलेज छन्।
बिरामीको संख्या, उनीहरुको आर्थिक अवस्था र उपचार पद्धति लगायतका अवस्थालाई हेर्दा क्यान्सरको उपचार जटिल र असहज छ। सामान्य आर्थिक अवस्था भएका व्यक्तिलाई रोग लागेपछि मृत्यु पर्खनुबाहेक विकल्प नै नहुने नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादव बताउँछन्। सरकार, राजनीतिक दल तथा सरोकारवाला पक्षले यसलाई विस्तार गर्ने र उपचार सेवालाई सहज बनाउने विषयमा गम्भीर भएर लाग्नुपर्ने उनको सुझाव छ।
खानपानको समस्या र चेतनाको कमी
गुणस्तरहीन खानपान, शारीरिक व्यायामको कमी र बढ्दो प्रदूषणका कारण नेपालमा क्यान्सर रोगीहरु वृद्धि हुँदै गएका छन्। क्यान्सर नसर्ने रोग भए पनि अल्पविकसित मुलुकका मानिस समयमै अस्पतालसम्म पुग्दैनन्।
७० प्रतिशत क्यान्सर खानपानका कारण लाग्ने गरेको छ। क्यान्सर रोगलाई नियन्त्रण गर्न भरतपुर अस्पतालले ५४ वटा जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम दिएको जनाए पनि त्यो पर्याप्त नभएको स्थानीयहरु बताउँछन्।
‘जुन रफ्तारमा बिरामीको संख्या बढेको छ, यसलाई समयमै सम्बोधन नगरे अवस्था भयावह हुन सक्छ,’ सप्तकोसी नगरपालिका १ का चन्द्रशेखर चौधरी भन्छन्, ‘क्यान्सरको उपचारलाई सहज बनाउने तथा यसका विषयमा जनचेतना फैलाउने र सचेत गर्ने विषयलाई पनि सरकारले प्राथमिकतामा राख्नुपर्छ।’
के हुँदै छ प्रयास?
दिनप्रतिदिन क्यान्सर पीडितको संख्या थपिँदै जाने र पीडितहरुको मृत्यु हुँदै जाने क्रम चलिरहे पनि यसको नियन्त्रणका लागि हालसम्म ठोस काम भने हुन सकेको छैन। वर्षमा एक–दुई पटक हुने शिविरका भरमा बिरामीको पहिचान गर्नुपर्ने अवस्था छ।
यही अवस्थालाई मध्यनजर गरी गत जेठमा प्रदेश २ अन्तर्गत सिरहाको लहानमा क्यान्सर अस्पताल निर्माणका लागि मुख्यमन्त्री लालबावु राउतलाई स्थानीयले आग्रह गरे। सो क्रममा अस्पतालका लागि नगरपालिकाले २५ बिघा जग्गासमेत उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। २०७० फागुन १० गतेदेखि लहानमा क्यान्सर केयर सेन्टर सञ्चालनमा छ।
स्थानीयको मागका विषयमा प्रदेश सरकारले भने हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
प्रदेशका समाजिक विकासमन्त्री नवलकिशोर साह (लालबाबु) ले भने प्रदेशको अस्थायी राजधानीसमेत रहेको जनकपुरमा क्यान्सर रोगको उपचारका लागि व्यवस्था मिलाउन लागिएको बताए।
वीरजन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताललाई मुटु, न्युरो सर्जरी र स्त्री रोग, जनकपुरमा क्यान्सरसहित मुटु र हाडजोर्नीको उपचार तथा राजविराजमा आयुर्वेद विज्ञानको विषयमा रिसर्च सेन्टर स्थापना गर्ने योजना बनिरहेको साहको भनाइ छ।