चितवन– स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले चितवन मेडिकल कलेजको अनुगमन गरेका छन्।
चितवन मेडिकल कलेजले दिएको उपचार सेवा तथा सुविधाका बारेमा जानकारी लिन भन्दै मन्त्री यादवले शनिबार स्थलगत अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा मन्त्री यादवसहितको टोलीले अस्पतालको आकस्मिक, बहिरंग कक्ष तथा विभिन्न विभागको निरीक्षण गर्नुका साथै सम्बन्धित विमागका चिकित्सकहरुबाट अस्पतालले पुर्याउँदै आएको सेवासुविधाका सम्बन्धमा जानकारी समेत लिएका थिए।
अस्पतालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने निजी क्षेत्रबाट आफूहरुले ठूलो लगानी गरेर स्वास्थ्य उपचार सेवा दिए पनि निजी अस्पतालहरुका लागि सरकारको स्पष्ट नीति नहुदाँ धेरै समस्या आएको जानकारी गराए। उनले आफूहरु गुणस्तरी सेवा दिन प्रतिवद्ध रहेको बताउँदै निजी अस्पतालका समस्याहरु समाधान गर्न माग गरे।
अस्पतालमा बिरामीहरुको चाप उच्च रहेको बताउँदै अध्यक्ष न्यौपानेले सेवा विस्तार गर्दा आवश्यक पर्ने विभिन्न उपकरण तथा सामाग्री उपलब्ध गराउन सरकारसँग आग्रह गरे।
मन्त्री यादवले बिरामीलाई स्वास्थ्य उपचार सेवा दिन निजी अस्पतालहरुको ठूलो भूमिका रहेको भन्दै सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताए। मन्त्री यादवले सरकारले स्वास्थ्य क्षेत्रमा भएको विकृति अन्त्य गर्न फाइल ट्«याकिङ सिस्टम लागू गरेको जानकारी दिँदै अब स्वास्थ्य संस्थाको विकृति अन्त्य हुने दाबी गरे।
‘कहाँ के अवस्था छ, स्वास्थ्य संस्थामा कति डाक्टर छन्, त्यो फाइल ट्र्याकिङ सिस्टमबाट हेर्ने काम भइरहेको छ।’, उनले भने, ‘अब अस्पतालको मेसुले कहाँ के गर्छ, सबै थाहा हुन्छ, विकृति अन्त्य हुनेछ।’
उनले जनतालाई गुणस्तरीय सेवा दिन १ हजार २ सय नयाँ ठाँउमा स्वास्थ्य केन्द्र स्थापना गर्ने बताउँदै अगामी वर्ष हरेक वडामा नै आधारभूत उपचार पुग्ने दाबी गरे।