रुपन्देही – रुपन्देहीमा क्यान्सर डाइग्नोसिस एण्ड रिसर्च सेन्टर स्थापना हुने भएको छ । रोटरी क्लबहरुको पहलमा रुपन्देहीमा क्यान्सर अस्पताल निर्माण गर्न थालिएको हो ।
रोटरी क्लब अफ बुटवलको अगुवाईमा तिलोत्तमाको मणिग्राममा आइतबार भएको विस्तारित भेलामा सहभागी रोटरीयनहरुले यस क्षेत्रमा क्यान्सर अस्पतालको अभाव रहेकाले सञ्चालन गर्नु पर्नेमा जोड दिए ।
क्यान्सर अस्पताल संचालनको लागि सहकार्य गर्न तयार रहेको रोटरी इन्टरनेसनल डिष्ट्कि ३२९२ अन्तरगत जोन फाइबका रोटरी क्लबलका अध्यक्ष तथा प्रतिनिधीहरुले बताएका छन्। उनिहरुको एउटै भनाई छ, ‘क्यान्सर अस्पताल अति आवश्यक छ । सहयोगको लागि हामी तयार छौं । जोन फाइभका २१ वटा क्लबहरुले क्यान्सर अस्पताल स्थापना गर्ने अभियानमा साथ दिने प्रतिवद्धता पछि अभियान्ताहरु उत्साहित भएका छन् ।’
क्यान्सर अस्पताल स्थापनाको लागि स्रोत जुटाउने कार्य शुरु भएको संयोजक हुतानन्द खनालले जानकारी दिए । उनले रोटरी क्लबहरुको सहयोग तथा सहकार्य गर्ने प्रतिवद्धताले आफूहरु उत्साहित भएको बताए।
करिव ६ करोड रुपैयाँ संकलन पछि अस्पताल सञ्चालन गर्न सकिने अर्का अभियान्ता तथा रोटरी क्वल अफ बुटवलका पूर्व अध्यक्ष अजयमान श्रेष्ठले बताए। उनका अनुसार १५ वर्षे गुरुयोजना बनाएर अघि बढिनछ।
क्यान्सर अस्पताल स्थापनाको लागि अभियानमा हिडेका अर्का अभियान्ता डा दिलिप भटट्राईले अस्पताल सञ्चालनको सम्भावना रहेको बताउदै त्यसको लागि सवैको सहकार्य आवश्यक रहेको बताए।
आइतबार भएको भेलामा दाताहरुले सहयोगको समेत घोषणा गरी सकेका छन्। त्रिभूवन विश्व विद्यालयका उपप्राध्यापक समेत रहेका रोटरी क्लब अफ बुटवलका अध्यक्ष नारायण प्रसाद पन्थले एक वर्षको सम्पूर्ण तलव अस्पताल स्थापनार्थ सहयोग गर्ने घोषणा गरे।
त्यसैगरी समाजसेवी आरसी आचार्यले घुमाउरो पारमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे । त्यसैगरी रोटरी क्लब अफ तिलोत्तमा मिड टाउनका सचिव थानेश्वर पाण्डेले पिएच एफ बराबर सहयोग गर्ने बताए ।
रोटरीमा पिएचफ भनेको एक लाख रुपैयाँसम्मको डोनरलाई वुझिन्छ । यस अघिनै बुटवलका समाजसेवी सिमली फाउण्डेशनका संस्थापक महेन्द्र अर्याल र उनको परिवारले ४५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ ।
भेलामा फाउन्डेशनका कानुनी सल्लाहकार बलराम न्यौपानेले अर्यालको परिवारले आफ्नो सवै श्रीसम्पत्ति अस्पतालाई सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।