डक्टर्स आर्टिकल

हर्मोन र स्तन क्यान्सर

 डा रोशन प्रजापति

स्तन पुरुष र महिला दुवैमा हुने अंग हो। तर, यसको विकास भने महिलामा मात्र भएको पाइन्छ । पुरुषको स्तनमा ग्रन्थीहरुको विकास भएको हँुदैन, त्यसैले यसको कुनै महत्व पनि हुँदैन। जबकि, प्रजननमा महिलाको स्तनको महत्वपूर्ण भूमिका रहेको हुन्छ।

स्तनको विकास प्रक्रियालाई म्यामोजेनेसिस भनिन्छ। स्तन पूर्णरुपमा विकास हुनको लागि यसका ग्रन्थी र बहन नलीको विकास हुनु जरुरी छ । ग्रन्थी साधारणतयाः १५–२० सम्म हुन्छ । यो बहन नली ग्रन्थीबाट आएर निप्पलमा खुलेको हुन्छ र शिशुलाई स्तनपान गराउँदछ।

बाल्य अवस्थामा पुरुष वा महिलाको स्तन समान रुपमा विकासको प्रक्रियामा रहे पनि पछि महिलामा हुने इस्ट्रोजन र प्रोजेस्ट्रोन नामक हर्मोनको कारणले महिलामा यसको अझ विकास हुँदै जान्छ। इस्ट्रोजन हर्मोनले बहन नलीलाई र प्रोजेस्ट्रोन हर्मोनले ग्रन्थीको विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ तर पनि स्तनको पूर्ण विकास भने पहिलो गर्भावस्थाको अन्तिमतिर मात्र हुने गर्दछ।

यी हर्मोनका स्रोतहरु, मानव शरीरमा भएको कोलेस्टेरोल, डिम्बासय, भ्रुण र केही मात्रामा अन्डकोष हुन्।

स्तनको विकास र वृद्धिमा हर्मोनका साथै विभिन्न वृद्धि गर्ने तत्वहरुको आवश्यकता पर्दछ । जस्तैः इस्ट्रोजन, प्रोजेस्ट्रोन, एन्ड्रोजन, प्रोल्याक्टिन, इन्सुलिन, ग्लुकोकोर्टिकोस्टेरोइड, थाइरोइड, फाइब्रोब्लास्ट वृद्धि गर्ने तत्व आदि। 

यी हर्मोन र वृद्धि गर्ने तत्वहरु स्तनकोषमा भित्र वा स्तनकोषको बाहिर रहेका हुन्छन् । यी स्तनकोषको भित्र वा बाहिर रहेका हर्मोन र वृद्धि गर्ने तत्वहरुलाई कोषको भित्र र बाहिर रहेका रिसेप्टरहरुको माध्यमबाट अन्तक्र्रिया गरिरहेका हुन्छन् । एस्ट्राडिअल नामको हर्मोनले स्तनकोषको रिसेप्टरको माध्यमबाट स्तनकोषको वृद्धि गराउँदछ।

जसरी स्तनका तन्तु विकासमा यी हर्मोन र वृद्धि गर्ने तत्व र तिनीहरुको रिसेप्टरहरु रहेको हुन्छ । त्यसरी नै स्तन क्यान्सरका कोषहरुमा पनि यी विभिन्न हर्मोन र वृद्धि गर्ने तत्वका रिसेप्टरहरु रहेका हुन्छन् र केही त यी हर्मोनहरुमा नै निर्भर रहेका हुन्छन्।

त्यसै स्तन क्यान्सरका बिरामीहरुमा एस्ट्रोजन रिसेप्टर र प्रोजेस्ट्रोन रिसेप्टरहरु देखिएमा एन्टिस्ट्रोजन अर्थात् टमोक्सिफनको प्रयोग गरिन्छ । जसले सो रिसेप्टरमा गई एस्ट्रोजनको असरलाई निष्क्रिय बनाइदिन्छ । त्यस्तै ती क्यान्सर कोषहरुमा वृद्धि गर्ने तत्वका रिसेप्टरहरु जस्तै इजिएफ रिसेप्टर पनि रहेका हुन्छन्।

तसर्थ लामो समयसम्म एस्ट्रोजन र प्रोजेस्ट्रोनको असर रहेमा महिलामा स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ। जसको कारण हो,
- चाँडै महिनावारी शुरु हुनु
- ढिला महिनावारी सुक्नु
- पहिलो बच्चा ढिला पाउनु वा बच्चा नै नपाउनु
- लामो समयसम्म गर्भनिरोधक चक्की प्रयोग गर्नु ।
- मोटोपना हुनु (महिनावारी सुकेका महिलामा)

मानव शरीरको बोसोमा एरोमेटसी नामक इन्जाइम रहेको हुन्छ । जसले शरीरमा एस्ट्रोजन बनाउन प्रशस्त मद्दत गर्दछ । त्यसैले यदि यस्ता महिलाको स्तन क्यान्सरमा देखिएमा लेट्रोजोल, एनेस्ट्रोजोल जस्ता औषधिको प्रयोग गरिन्छ जसले एरोमेटसी नामक इन्जाइमलाई निष्क्रिय बनाइदिन्छ।

त्यस्तै स्तन क्यान्सर वंशानुगत पनि हुन्न सक्छ, जस्मा बिआरसिए १, बिआरसीए २, जिन म्युटेसन हुने गर्दछ।

यदि,
- दुई वा सो भन्दा बढि परिवारका सदस्यमा स्तन र÷वा डिम्बासयको क्यान्सर भएमा
-  धेरै कम उमेरमा स्तन वा डिम्बासयको क्यान्सर भएमा 
-  एकै व्यक्तिलाई स्तन वा डिम्बासयको क्यान्सर भएमा 
-  दुवै स्तनको क्यान्सर भएमा
- पुरुषलाई स्तन क्यान्सर भएमा
- यदि परिवारमा कसैलाई बिआरसिए १, बिआरसीए २, जिन म्युटेसन भएको थाहा पाइएमा
वंशानुगत क्यान्सरको सम्भावना बढी हुन्छ । यदि माथि उल्लेखित बुँदाहरु परिवारमा पाइएमा आपूmले सो जिनको परीक्षण गराउन पनि सकिन्छ।
 
स्तन परीक्षण कहिले र कसरी गर्ने ?

यदि परिवारमा कसैलाई स्तन क्यान्सर भएको छ भने उसको उमेरभन्दा ३ वर्ष पहिलेदेखि वा २० वर्षको उमेरदेखि 

- महिनावारी भएको ५ दिनपछि
- ऐना अगाडि उभिएर दुवै हात कम्मरमा राखेर र दुवै हात माथि लगेर
- सुतेर दायाँ स्तनको परीक्षण गर्दा दायाँ हात टाउको पछाडि राखेर बायाँ हातले बीचको ३ वटा आंैलाको टुप्पोले चारै भाग र बीचमा छाम्ने र बायाँ स्तनको परीक्षण गर्दा बायाँ हात पछाडि लगि दायाँ हातको औंलाले

 यदि
-   कुनै गिर्खा भेटिएमा
-  दुवै स्तन समान नभएमा
- स्तनको मुन्टा भित्र तानिएमा
- स्तनको छालामा परिवर्तन आएमा 

स्तन क्यान्सरका लक्षण हुन सक्छन्।

-(डा प्रजापति भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत छन्।)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने