रुपन्देही– तिलोत्तमा नगरपालिका र वडा नं. ५ मणिग्रामस्थित क्रिमसन अस्पतालबीच सहकार्यको सम्झौता भएको छ। नगरपालिकामा सोमबार आयोजित एक विशेष कार्यक्रमबीच नगर उप–प्रमुख जगेश्वरदेवी चौधरी र अस्पतालका अध्यक्ष लक्ष्मण ज्ञवालीले समझदारी पत्रमा हस्ताक्षर गरे।
सम्झौताअनुसार नगरपालिकाले गर्ने स्वास्थ्य शिविर, खेलकुद सप्ताहलगायतका कार्यक्रम तथा नगरपालिकाले आवश्यक ठानेका बखत अस्पतालले आवश्यक स्वास्थ्यकर्मी तथा औषधीहरु निःशुल्क उपलब्ध गराउने सहमति भएको छ। यस्तै नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीले लिने स्वास्थ्य सुविधाका लागि अस्पतालले तोकेको शीर्षकमा दश प्रतिशत सहुलियत छुट उपलब्ध गराउने पनि समझदारी पत्रमा उल्लेख छ।
आर्थिक स्थिति कमजोर भएकाहरूलाई अस्पतालमा उपचार गराउँदा नगरपालिकाको विशेष सिफारिसको आधारमा थप छुट सुविधा दिन सक्ने समझदारी नगरपालिका र अस्पतालबीच भएको छ । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा अतिविपन्न एवं पिछडिएको वर्ग वा तिनको एकाघरका आफन्तलाई नगरपालिकाकाको सिफारिसमा सम्झौतापत्रमा उल्लेखित सहुलियतमा अस्पतालले तोकेको सेवाहरु प्रदान गर्ने पनि समझदारी कायम भएको छ ।
यसैगरी नगरपालिकाले आयोजना गर्ने स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुमा अस्पतालका स्वास्थ्यकर्मीहरुले निःशुल्क परामर्श तथा सेवा दिने सहमति पनि कायम भएको छ । सहमति सोमबारदेखि एक वर्षसम्म रहने अस्पतालका अध्यक्ष ज्ञवालीले बताए ।