समाचार

कैलालीमा निजी लगानीका अस्पताल खुल्ने क्रम बढ्दै


कैलाली– सुदूरपश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा पछिल्लो समय निजी लगानीमा अत्याधुनिक सेवा सुविधासहितका अस्पताल खुल्ने क्रम बढ्दै गएको छ।

धनगढी उपमहानगरपालिका–३ चटकपुरमा गएको महीनादेखि १० करोड रुपैयाँ बढीको लगानीमा २५ शय्याको सुविधायुक्त ‘माया मेट्रो’ अस्पताल सञ्चालनमा आएको छ। 

अस्पतालमा २४ घन्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्स–रे तथा सिटीस्क्यान सेवा रहेको छ। 

त्यस्तै, वातानुकूलीत क्याबिन, दूरबिन तथा बिना दूरबिन शल्यचिकित्सकीय सेवा, चौबिसै घण्टा फार्मेसीलगायतको सेवा प्रदान गरिने पनि अस्पतालका अध्यक्ष धीरेन्द्र साउँदले जानकारी दिए।

निजी क्षेत्रकै लगानीमा गत असारदेखि धनगढी– ५ मा ‘निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर’ सञ्चालनमा आएको छ। ५ करोड रुपैयाँ बढीको लगानीमा सञ्चालनमा आएको उक्त अस्पतालले २५ शय्याबाट सेवा सुरु गरेको र आगामी दिनमा अस्पताललाई ५० शय्यामा विस्तार गर्ने लक्ष्य रहेको अस्पतालका सञ्चालक तीर्थराज पन्तले जानकारी दिए।

अस्पतालले निकट भविष्यमै किड्नी डाइलाइसिस मेसिन र सिटीस्क्यान सेवा विस्तारका लागि योजना अघि सारेको जनाएको छ। निसर्ग अस्पतालमा सघन उपचार कक्ष (आइसियु), नवजात शिशु उपचार कक्ष (एनआइसियु), बाल सघन उपचार कक्ष (पिआइसीयु), कृत्रिम श्वासप्रश्वास प्रणाली (भेन्टिलेटर), अत्याधुनिक प्याथोलोजी र डिजिटल एक्सरे सेवा उपलब्ध रहेको छ।

यसअघि धनगढीमा निजी क्षेत्रकै लगानीमा मिर्गौला रोगको विशेष उपचारका लागि ‘सिपी’ अस्पताल र आँखाको विशेष उपचारका लागि ‘धनगढी नेत्रालय’ सञ्चालनमा आइसकेका छन्।

अस्पताल स्थापनासँगै गुणस्तरीय तथा थप उपचारका लागि अब यस क्षेत्रका सर्वसाधारणले काठमाडौं, नेपालगन्ज तथा भारतलगायत विभिन्न ठूला शहरमा गई चर्को मूल्यमा उपचार गर्नुपर्ने बाध्यता हट्दै गएको छ। साथै, अस्पताल स्थापनाले यस क्षेत्रको विकासमा समेत टेवा पुग्ने भन्दै यहाँका स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। रासस

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने