१.
आज कुटेर भोलि धरौटीमा छुट्न थाले भने?
क्षतिपूर्ति माग्दै दुई छाक अन्न लुट्न थाले भने?
सरकार ! ज्यानको सुरक्षा माग्न कता जाऊँ म,
तिम्ले राखेको सुरक्षाकर्मीले पनि कुट्न थाले भने?
२.
औषधिभन्दा बरु सञ्जीवनी खान भन्दिनू
हस्पिटल होइन मन्दिरतिर जान भन्दिनू
ठग होइनन् डाक्टर ग्यारेन्टी दिन सक्ने,
ग्यारेन्टी चाहिएमा ठगकोमै जान भन्दिनू!
३.
भगवानसँग नदाँजी मान्छेकै नाम बनाइदेऊ
लापरबाही नसम्झ, इमानदार काम बनाइदेऊ
म आफ्नो ज्ञान र सीपले सक्दो प्रयास गर्छु,
आफू सुरक्षित भएर प्रयास गर्ने ठाम बनाइदेऊ!
४.
काल परै बसी अमृतले छुनुपर्ने होइन र?
हार मानेर यमराज पनि रुनुपर्ने होइन र?
डाक्टरले सबैलाई बचाउन सक्ने भए,
सम्पूर्ण डाक्टरहरु अमर हुनुपर्ने होइन र?