बझाङबाट डीबी बिष्टले लेखेको 'बझाङ जिल्ला अस्पतालका तीन डाक्टर एकैपल्ट छुट्टीमा, उपचार नपाउँदा बच्चा गुमाएको गुनासो' समाचारले केही लेख्न बाध्य गर्यो।
अस्पतालका डाक्टरहरु एकैपल्ट बिदामा बसेका कारण उपचार सेवा प्रवाह ठप्प हुनु बिडम्बनापूर्ण हो । चारजना मध्य तीनजना एकैपटक बिदामा बस्दा सेवा प्रभावित हुन्छ नै । त्यसैले यसमा ध्यान पुर्याइनुपर्थ्यो। सेवा प्रवाहमा समस्या नअउने गरी आफू अन्तर्गतका क्रमचारीलार्इ बिदा दिनुपर्थ्यो कार्यालय प्रमुख डा अनुप रेग्मीले। मानवप शंसाधनको उचित व्यवस्थापन कार्यालय प्रमुखको जिम्मेवारी भित्र पर्ने कुरा हो।
आफूबाहेक सबै डाक्टरलार्इ बिदा दिइरहँदा कस्तो असर पर्छ ? कार्यालय प्रमुखले बुझ्नुपर्ने हो। मानवस्रोत के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ध्यान नपुर्याउनु प्रमुखको गैरजिम्मेवारी हो। त्यसैले यो घटनाबाट पाठ सिक्नुपर्छ।
शिशु मृत्युको यथार्थ कारण पहिल्याउनुका साथै आवश्यक र दक्ष मानवस्रोत व्यवस्थापन, परिचालन एवम् नियमन गर्न नसकेकोमा प्रमुखले लज्जाबोध गर्दै माफी माग्नुपर्छ। आगामी दिनमा यसरी घटना हुन नदिन आफ्नो एक्सन प्लान प्रस्तुत गर्नुपर्छ। तर उनी आफ्नै मातहतका कर्मचारीमाथि दोषारोपण गरेर पानीमाथिको ओभानो खोज्नु राम्रो होइन। यो उहाँको लाचारीपन हो। उनी रक्षात्मक भएको यसले दर्शाउँछ।
डाक्टर बिदामा बस्दा उक्त अस्पतालमा खटिएका डा रेग्मीले बिरामीको व्यवस्थापन आफूले गर्न नसक्ने भएपछि तुरुन्तै रिफर गर्ने व्यवस्था गर्नु पर्दैन ? कि प्रशासनिक कामको बोझले थिचिएका उहाँले त्यति पनि गर्न भ्याउनु भएन ? मातृशिशु कार्यक्रमअन्तर्गत देशैभरि चौबीसै घन्टा एयर लिफ्टिङ लगायतका सुविधा दिएको भनी परिवार स्वास्थ्य महाशाखा दावी गर्छ। कुनैपनि बिरामीको बारेमा जवाफदेही उक्त बिरामीलाई हेर्ने डाक्टर नै हुन्छ। यस परिघटनामा प्रत्यक्ष सम्बन्धित डा रेग्मी बारे भन्दा बिदामा बसेका डाक्टरहरुको बारेमा समाचारमा बढी शब्द खर्च हुनु पनि अनौठो देखिन्छ । यस विषयमा पनि खोजिनीती आवश्यक देखिन्छ ।
जेजस्तो भएता पनि बझाङ जस्तो दुर्गम जिल्लामा सेवा दिने कुनै डाक्टर वा स्वस्थ्यकर्मीलाई दोष दिनु वा गालीगलौज गर्ने उद्देश्य होइन मेरो। यस दु:खद घटनाबाट अस्पतालका कार्यलय प्रमुख, अन्य चिकित्सक एवम् स्वास्थ्यकर्मीका साथै सम्पूर्ण बझाङका जनताले भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक योजना बनाउन पहलकदमी लिनु अत्यावश्यक देखिन्छ । शिशु गुमाएकी आमा र घरपरिवारलाई र्इश्वरले सहनेशक्ति प्रदान गरून्।