नेपाल गरिब मुलुक हो भनेर म मान्दिन। समुन्नत बनाउन नखोजिएको देश हो नेपाल। आवश्यकता र परिवर्तनकारी उर्जालाई निरुत्साहित गरिने प्रवृत्ति, नीतिनियम, सामाजिक न्यायले हस्तक्षेपकारी भूमिका खेलेको जस्तो स्पष्ट देखिने देश हो नेपाल।
देशले बुझ्नुपर्छ, हरेक मानिसले यस धर्तीमा आउन साथ उसको पहिलो साइनो स्वास्थ्यसँग जोडिएको हुन्छ। उसको स्वास्थ्य भनेको देशको स्वास्थ नै हो। स्वास्थ्य ठिक भए देश ठिक हुने हो। स्वास्थ्यमैत्री समाज निर्माणका लागि युवा चिकित्सकको अहम भूमिका रहन्छ। तर, चिकित्सकमैत्री समाज र देश हाम्रो छ त ?
चिकित्सकको तलबबारे एक अनलाइन सर्वेक्षण गरेको थिए। जसमा १ सय २३ चिकित्सकले सहभागिता जनाए। सर्वेक्षणबाट करिब ८६ % चिकित्सकहरु चरम श्रम शोषणको सिकार भएको निष्कर्ष आयो। जसमध्ये करिब २६% युवा चिकित्सक आफ्नो तलबबारे बेखबर रहदै काम गर्दै आएको पाइयो। यसको सोझो अर्थ हो, उनीहरुलाई ५ हजार रुपैयाँ मासिक तलब दिएपनि लिदै आएका छन्। सायद अब मन्त्री लालबाबु पन्डितले पनि बुझ्नुहुनेछ डबल सिफ्ट किन हुन्छ भनेर। के अब 'मरेको आत्मा बोकेको जीवित शरिरमाथि लगाएको जिम्मेवारीवोध गराउने सेतो कोट कफिन बनिरहेको बोध हुँदैन र ! यी चिकित्सकलाई?
युएस बंगला प्लेन दुर्घटनाको शोकसभामा भनेको थिए, 'जो दिवंगत भए, उनीहरुको एकै लक्ष थियो– जीवन र मृत्यको बीच उभिने। आफूले हासिल गरेको ज्ञान प्रयोग गर्दै मानिसहरुको मृत्युलाई रोक्ने।' तर अकल्पनिय दुर्घटनाले उनीहरुको सपना पुरा हुन दिएन। त्यस भावव्हिल क्षणमा दृढता प्रकट हुँदै गर्दा अस्पतालमाथि भएको तोडफोड, चिकित्सकमाथि हमला, कुटपिट, धम्की, न्यून ज्याला याद भने आइरहेको थियो |
चिकित्सकको मनोबल गिराउने, प्रताडित गराउने उद्देश्यले बेलाबेला आउने भनाइ "पैसा कमाउन छ" भने व्यापार गर भन्नेलाई मेरो प्रश्न, के तपाईहरु चिकित्सकबिहीन समाज र देशको परिकल्पना गर्न सक्नुहुन्छ? चिकित्सकको शून्यता देशमा छायो भने चिकित्सकहरु समेत आयात गर्नुपर्यो भने के हुन्छ? अन्तराष्ट्रिय मजदुर संगठन(ILO) ले स्पष्ट भनेको छ, 'श्रम कुनै स्याउ र टेलिभिजन सेट जस्तो पदार्थ होइन, जसको मोलमलाई गरेर ठूलो मुनाफा हासिल हुन्छ। श्रम दैनिक जीवनको यस्तो पाटो हो जसमा आत्मसम्मान, सुरक्षा, विकास, समृद्धि जोडिएको होस्।'
अब युवा चिकित्सकहरुमाथि हुँदै आएको श्रम शोषण बन्द हुनुपर्छ। आर्थिक रुपले पनि सामाजिक उपस्थिति जनाउन सक्ने ग्यारेन्टी हुनुपर्छ। समाज, देशलाई स्वास्थमैत्री बनाउन नेतृत्वदायी भूमिका हस्तान्तरण गर्नुपर्छ। युवा चाकित्सकहरुको पक्षमा उभिऔ, स्वास्थमैत्री समाज निर्माणमा लागि परौ।
(डा धरेल हाल बंगलादेशमा छन्)