ऊ गलिहाल्ला कि भनेर
ऊ ढलिहाल्ला कि भनेर
ऊ मरिहाल्ला कि भनेर
आसैआसमा
कुर्न गाह्रो हुँदो रहेछ।
आशा थियो
मार्सीको धान देखेर
माफियासँगको खानपान देखेर
दुई तिहाईको सान देखेर
उ टिक्ने छैन
पुनः बखेडा झिक्ने छैन
हाम्रो आँ... गरेर खान लागेको गाँस मिच्ने छैन
तर अहँ
हप्तौंहप्ता कुर्दा पनि
थाहा नपाएझैं गरी घुर्दा पनि
तर्कलाई जालझेलले पुर्दा पनि
उसको रगतमा चिनी घट्यो
दृढता घटेन
स्नायुमा तरङ्ग घट्यो
आत्मविश्वास घटेन
मांसपेशीमा बल घट्यो
देशभक्ति घटेन
खै कति कुरौँ म?
कुर्न गाह्रो हुँदो रहेछ।
जनताको भोटभन्दा महँगो
माफियाको नुन छ
दलालले लगाएको गुन छ
अनि अबैध रुपमा भित्रिएको सुन छ
म त इमान्दार मान्छे
त्यही भएर दुई तिहाई पाएको
नुनको सोझो गरौँ भन्यो
जनता लुट्न अघि सरौँ भन्यो
चुनाबको बेला रित्तिएको भकारी भरौँ भन्यो
त्यो बुढोकन्य अनसन बसिदिन्छ
अनि खानै लागेको हाम्रो गाँस खाेसिदिन्छ
जील्ल हामीलाई पारेर
लाज छोप्न हामी दुई तिहाई भन्छौं
जनताको शासन भन्छौं
रेल र पानीजहाजका कुरा गर्छौं
तर पनि
बरबराउँदै र कुर्दैगर्दा
इँजार नभएको हाम्रो पाइजामा
बेलाबेलामा खसिरहन्छ
हामिलाई उदाङ्गो पारेर
कुर्न गाह्रो हुँदो रहेछ
आजसम्म पनि
झिनो आशमा
हामी कुरेकोकुर्यै छौं
ऊ नमरे पनि
जनताका लागि सोच्ने
उसका स्नायु मर्छन् कि भनेर
आत्मामा फुलेका सपनाका ती फूल
ओइलाई झर्छन् कि भनेर
जुरमुराउँदै उठेका परिवर्तनका लहर
लड्छ कि भनेर
तर, आसैआसमा कुरेर बसेका
हामी गल्याैं, उ गलेन
के अब हाम्रो ढल्ने पालो हो?
के अब हाम्रो मर्ने पालो हो?
कुर्दाकुर्दै आङ नै सिरिङ... हुन्छ
कुर्न गाह्रो हुँदो रहेछ