प्रिय भाइबहिनीहरु,
विपि कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स, धरान
शोषित, पोलिएका, घोचिएका र अन्धकारले भरिएका सायद अपाङ्गजस्तै हातहरुको सलाम!
स्वास्थ्य क्षेत्र अर्ग्यानिक र शुद्ध सेवा क्षेत्र हो भन्दै ढोल ठोक्दै हामीलाई गुन्द्रुकको झोलमा सीमित पारेर आफूचाहिं मदिरामा मस्त हुने जमातको विरुद्ध आज म मेरो कलम दौडाइरहेको छैन। 'बरु पेट भोको भयो, भाग्नु र विदेशिनु मेरो विकल्प होइन' भन्दै सम्भावनाको खोजी गर्दै दुई छाक टार्नको निमित्त उठेको तिमीहरुको आवाजमा गर्वसाथ भासिएको मेरो सानो स्वर मिसाउन चहन्छु।
इन्ट्रन भाइबहिनीहरु, तिमीहरूजस्तै बैंकिङ इन्ट्रन्हरुले सगर्व टाइसुट लगाएर आकर्षक पारिश्रमिक र सुनौलो भविष्यका साथ हसिलो अनुहार चम्काउँदा तिमीहरुकाे मानसपटल कति छट्पटिन्छ होला? सम्भावनाको भर्याङसम्म नदेखेर अमेरिका, बेलायत, क्यानाडा पुगेका तिमीहरुका दाइदिदीहरुले 'नेपालमा बसेर काम छैन, यता आउने तयारी थाल' भन्दै गर्दा यता आफू भने पुस्तक पसलमा किताबको दाम सुनेर तिम्रो होस कतिपटक हराएको होला?
पढाइ छोडेर अस्ट्रेलिया उडेको तिम्रो पल्लो घरको साथीले पोहोर साल बनाएको घरको कहानी र यो पटक आउँदा गाडी किन्ने गफ सुनेर तिमीलाई तिम्रै पढाइ र लगानीप्रति कति वितृष्णा जाग्दाे हाे? घरनेरकै गुन्डाशैलीको साथी राजनीतिमा प्रवेश गरेको ५ वर्ष नपुग्दै करोडौंको आयोजना झ्वाम पारेर मस्ती गरेको देखेर तिम्रो मुटु कति ठाउँमा कति पटक छिया-छिया भएको होला?
प्यारा भाइबहिनीहरु, गिद्द कराउँदै उडेको कहालीलाग्दो दृश्य जस्तै भयावह र डरलाग्दो तथा असीम छ्टपटाहटबाट हाम्रो स्वास्थ क्षेत्र विक्षिप्त छ भन्ने कुरा मलाइभन्दा तिमीहरुलाइ प्रष्ट छ।
माथि उल्लेखित उदाहरण केबल प्रतिनिधि घटना मात्रै हुन्। त्यसमाथि देशमै सम्भावनाको खोजी गर्दै न्यूनतम पारिश्रमिकका निमित्त उठेको तिमीहरुकाे आवज घाँटी थिचेर दबाइनसक्छ, होसियार भएर आफ्नो मागमा अडिग रहनु, चिप्लाे घस्न आउनेकाे कमी हुनेछैन, उनीहरुबाट सजग रहनु।
मेडिकल अधिकृत भएर काम गर्दै गरेका र विशेषज्ञ तहको अध्ययन गरिरहेका तिम्रा दाइदिदीहरुको हालात तिमीहरुसँग मिल्दोजुल्दो छ। तसर्थ एउटै स्वरमा स्वर मिलाउन अनुरोध गर्नु, किनकी ज्यालामजुदूरीको यो दियो अब निभ्नुहुन्न, भलै डढेलो किन नलागोस्।
अन्तमा, अधिकारको निम्ती उठेकाे तिमीहरुकाे आवाजले कर्तव्यबोध नभुलाेस्। अग्रजप्रतिको सम्मानमा कमी नहोस्, बरु सहयोग अनि सुझावका लागि हात फैलाउनु। साथै देशभरीका तिमीहरु जस्तै साथीहरूलाई भद्र र शिष्ट तरिकले एकाकार गरेर आफ्नो आवज बुलन्द पार्नु।
सफलताको शुभकामना!
उही दाइ
डा रविन बस्नेत
त्रिवि शिक्षण अस्पताल,काठमाडौं