संसार विकसित प्रविधिमा अगाडि बढिरहेको छ। प्रविधिको नवीन उपयोगले मानिसका दैनिक क्रियाकलाप सहज र सुविधा उन्मुख बनिरहेका बेला स्वास्थ्य क्षेत्रले पनि प्रविधिकै कारण फड्को मारिरहेको छ। जसले गर्दा बाँच्ने आधार बलियो बनेको छ।
मानवीय सिपसँगै आविष्कारले जन्माएका तमाम उपकरणबाट हामी अमूल्य आयु लम्ब्याउन सक्ने भएका छौं। शरीर स्वस्थ राखेर दैनिक क्रियाकलापमा जोडिनसक्ने भएका छौं। उपकरणकै कारण बाँच्न पाउने भरोसाले आम बिरामीको रोग निदानमा सकारात्मक ऊर्जा प्राप्त भएको छ भने अस्पतालप्रति आम मानिसको विश्वास बढेर गएको छ।
आधुनिक चिकित्सा विज्ञानमा उपकरणको भूमिका विशेष रहेको छ। उपकरण बिनाको उपचार सम्भव नै छैन या कल्पनाभन्दा बाहिर हुन्छ। त्यसैले त देशमा खुलिरहेका धेरै निजी तथा सरकारी अस्पतालहरुमा उपकरण भित्र्याउने होड नै चल्ने गरेको छ। उपकरणकै कारण उपचार पद्धति सहज र सरल बनिरहेको छ।
विश्वमा हाल निकै महँगा तथा भर्खरै आविष्कार भएका तमाम मेडिकल उपकरण प्रयोगमा छन्। नेपालको सन्दर्भमा भने सोचेअनुरुप अगाडि बढ्न बिलम्ब भइरहेको छ। किनकि देशको आर्थिक अवस्थाले गर्दा पनि हामी महँगा तर अति आवश्यक उपकरणहरु भित्र्याउन असमर्थ छौं।
केही प्रक्रियागत झन्झटका कारण अब्बल सरकारी अस्पतालहरु पनि यसकै चपेटामा पर्दै आइरहेको देखिन्छ। जसका कारण देशबाट उपचारकै लागि थुप्रै बिरामी विदेशका अस्पतालमा पुग्नैपर्ने बाध्यता रहिआएको छ।
नेपालका अधिकांश अस्पतालमा पूराना र वर्षौंदेखि प्रयोगमा ल्याइएका उपकरणहरु चलाउँदै गलत अभ्यास गरिंदै आइएको छ। कतिपय अस्पताल तथा स्वास्थ्य संस्थामा त विदेशबाट सहायताका नाममा भित्र्याइएका कमसल उपकरणबाट समेत रोगको निदान गरिन्छ। यो बिरामीको स्वास्थ्यमा गरिएको खेलबाड हो।
जनताको उपचारमा प्रत्यक्ष भूमिका खेल्ने उपकरणबारे सजग र सचेतता आम सर्वसाधरणमा आउनुपर्ने देखिन्छ। कुनै पनि अस्पतालले कमसल तथा नतिजा दिन नसक्ने उपकरणको प्रयोगमा बन्देज लगाउनै पर्ने देखिन्छ।
आम मान्छेको बुझाइ उपचार सफल नभए स्वास्थ्यकर्मी मात्रै दोषी हुन्छन् भन्ने छ तर ख्याल राख्नुपर्ने विषय कतिपय अवस्थामा उपकरणकै कारण पनि बिरामीले ज्यान गुमाउनु पर्ने स्थिति रहन गएको देखिरहेको छ।
आम मानिसको ज्यान बचाउने उपकरण सधैं ज्यान बचाउनकै लागि सही सावित नहुन सक्छन्। यसका लागि उपकरणका विविध पक्षमा ध्यान पुर्याउनैपर्ने हुन्छ। उपकरणसम्बन्धी आवश्यक ज्ञान सबै स्वास्थ्यकर्मीले राख्नुपर्छ। यदि उपकरण चलाउनका लागि पर्याप्त तथा आवश्यक ज्ञान भएन भने रोगको निदान तथा उपचार पद्धति नै असफल हुन जान्छ।
अस्पतालमा प्रयोग हुने विभिन्न मेडिकल औजार तथा उपकरण इसिजी मेसिन, एक्स–रे, अल्ट्रासाउन्ड, सिटी स्क्यान, एमआरआई, भेन्टिलेटर, एनेस्थिेसिया मेसिन, इलेक्ट्रो सर्जिकल युनिट, प्यासेन्ट मोनिटर, अक्सिजन कन्सनटेटर, सक्सन, नेबुलाइजर, बिपी इन्स्टुमेन्ट, स्टेथस्कोप, ल्याबमा प्रयोग हुने विभिन्न एनालाइजरहरु प्रत्यक्ष रुपमा बिरामीको उपचारमा प्रयोग भइरहेका छन्। यी उपकरणको उचित तवरले प्रयोग गर्न सकियो भने मात्रै उपचारमा सफलता हात पर्न सक्छ ।
निजीमा मात्रै नभएर सरकारी अस्पतालले आफ्नो धेरै लगानी उपकरण खरिदमा लगाउँदै आइरहेका छन् तर उपयुक्त उपकरणको छनोटमा भने ध्यान नपुर्याएको देखिन्छ। यसले गुणस्तरको सवालमा भने प्रश्नचिह्न खडा गरेको छ।
हाम्रो देशको धेरै धनराशि उपकरण खरिदमा जाने गरेको छ। तर, खरिदमा आवश्यक ज्ञान राख्न नसक्दा–नचाहँदा उपचारमा अपेक्षाकृत सफलता हात लाग्न सकेको छैन। मेडिकल उपकरण सम्बन्धमा सबै आम सरोकार पक्ष समयमै जिम्मेवार र संवेदनशील बन्नैपर्छ ।
(महत बायोमेडिकल इन्जिनियरिङमा स्नातक गर्दैछिन्)