हामी
मानव प्रेरणाहरु हौं,
मानवहृदयका प्राथमिक
आभासहरुलाई मुहानतर्फ
फर्काउने
हामी सहयोगी आह्वानहरु हौं,
हामी आजका असल चिकित्सकहरु हौं,
बिहे खर्च क्यान्सर बिरामीलाई
खर्चिन सक्ने हामी डा खनालका
प्रतिबिम्व पात्रहरु हौं!!
हामी गोधुलीमा
सुन्दर मन्दिरको यात्री बन्दैनौं,
हामी अँधेरीमा सपनाको
बेहिसाब आकार दौडँदैनौं,
हामी हिमालको कथा
पहाडमा बसी निलो मसीले लेख्दैनौं,
हामी पूर्वको स्वर्ण प्रभात
कौसीमा बसी सुनौलो देख्दैनौं,
किनकि
हाम्रो बास
आफैंमा आशहरुको केन्द्र मन्दिरमा हुने गर्छ,
हामी अरु कोसैको
सपनाका निम्ति समयहरु खर्चिन्छौं,
र हामी
आफैंमा कथाहरु हौं
अनि
स्वास्थ्यको ज्योति फिंजाउने
हामी प्रभातहरु हौं,
हामी आजका
असल चिकित्सकहरु हौं,
हामी डा खनालका
प्रतिबिम्व पात्रहरु हौं!!
लाखौंलाख
सलाम छ
डा खनाललाई,
जो आफू सेतो कोट पहिरिएर पनि
समाजमा रङहरु फिंजाउँदछन्,
जो आफू बाहिरी देखावटमा
भन्दा पनि सेवामुखी जिन्दगीमा आनन्द पाउँदछन्,
जो 'खानु पिउनु हाँस्नु मोज उडाउनु'
यी जिन्दगीका अधिकारभन्दा
सामाजिक कर्तव्यमा आसन जमाउँदछन्,
जो टल्कने जुत्ताभन्दा
टल्कने कर्महरुमा फूर्ति बढाउँदछन्,
जो बोक्रे भलादमी बन्नुभन्दा
देश श्रृङ्गारमा रमाउँदछन्,
जो बिहे खर्च क्यान्सर बिरामीलाई
दिएर अनेकौं सन्तुष्टि कमाउँदछन्,
लाखौंलाख
सलाम छ
डा खनाललाई,
हामी असल चिकित्सकका
प्रतिबिम्व पात्रहरुलाई!!!