सरकार
तिमी प्रलोभनमा पर्ने र कच्चा हुनुहुँदैन,
जन्म जन्मान्तर सम्म
सेवामुखी मृगतृष्णामा बाचिरहेछौं हामी,
सरकार तिमी पैसा र शक्तिको
भुलभुलैयामा चक्कर मार्नुहुँदैन,
मिथ्याहरु एकपछि
अर्को जन्मिँदै जानेछन्,
हामी शून्य न्यायकै
भूमरीमा अलमलाइरहनेछौं,
सरकार
तिमी आफ्नै क्रियाका
असत्य जालहरुमा
लर्बराउँदै
धर्मराउँदै जानेछौ,
पुलिस प्रशासन लगाएर
हामी माथि ज्यादती
नगर सरकार,
माफियाका महत्वाकांक्षालाई
काखी च्यापेर
हाम्रा मागहरुमा लात्ती भकुण्डो
नखेल सरकार,
याद राख
जब कोही
च्याँठ्ठिन्छ
छटपटिन्छ
रुन्छ
त्यो थाप्लोमा नाम्लो बोक्ने होस् वा
त्यो घाँटीमा इस्थेत बोक्ने होस्,
त्यसको आवाज
हरेक
गल्लीका कानहरुले सुन्नेछन्
र त्यस बखत
तिमी अझै पनि बहिरो भएको नाटक गर्न
कदापि सुहाउने छैन!
महिना बित्यो
गण्डकी मेडिकल कलेज
सुनसान छ,
विद्यार्थीहरु आन्दोलित छन्,
डाक्टर बन्ने सपनाहरु स्खलित छन्,
अभिभावकहरु दिग्भ्रमित छन्,
अब लुट्न नपाउने हो कि!भन्दै माफियाहरु सस्ंकित छन्,
अनि
सरकार! तिमी मौन छौ,
लाग्छ
तिमी पनि माफियाकै अन्धभक्त हौ,
नत्र
यो शान्त आन्दोलनको
फाईदा उठाइ,
कसरी प्रहरी प्रशासन लगाएर
ताला खोल्न सक्थ्यौ र???
के देश बिरामी हुँदा
हामी चाहिदैन र???
के जाजरकोटको
बिरामीमा तिम्रो रुप झल्किदैन र???
के माफियाको मनपरीतन्त्र
सिहँदरबार बाट चिहाउदैमा पुग्छ र???
चेतना होस्,
सरकार
हामी महमा टाँसिने माखाहरु होइनौं,
अन्यायको अत्याचार
विरुद्ध संघर्ष गर्दै,
देशलाई निको पार्न
हौसिएका
भविष्यका कर्णधारहरु हौं,
यो सेतो एप्रोनको गरिमा
र पेशाको ईमानलाई
माफियाको टुनामुनाले बहकाउन सक्दैन,
हेर्दै जाउ
सरकार
आज हजार छौं
भोलि लाखौं हुनेछौं,
नियमविपरित अतिरिक्त
शुल्क लिने विरुद्ध लडिरहनेछौं,
हामी अघि बढिरहनेछौं,
अवश्य एकदिन
तिम्लाई
माफियासँग सम्बन्ध विच्छेद गरेर
हाम्रा आवाज सुन्न कर लाग्छ,
हाम्रा दृश्य हेर्न कर लाग्छ,
हाम्रा लागि
बोल्न कर लाग्छ!
(घिमिरे चिकित्सा शास्त्र अध्ययन संस्थानमा कार्यरत छन्)