आज रंगहरुको पर्व होली काठमाडौं उपत्यका लगायत देशका पहाडी जिल्लामा मनाइँदै छ। तराईका जिल्लामा भने यो पर्व भोली मनाइन्छ। रंग र पानीसँग खेलेर खुसी आदान प्रदान गर्दै यो पर्व मनाइन्छ। होली पर्व मनाइरहेको सन्दर्भमा त्रिवि शिक्षण अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डा सुदीप पराजुलीसँग स्वास्थ्यखबरका लागि बुनु थारुले उनको अनुभव सोधेकी थिइन्। प्रस्तुत छ उनको हाली अनुभव उनकै शब्दमा :
मलाई खासै होली खेल्न त त्यति मन पर्देन। पहिला चाहिँ एकदमै खेलिन्थ्यो बाल्यकालमा। अहिले खासै त्यति खेल्ने गरेको छैन। रेजिडेन्ट हुँदा खेलिन्थ्यो तर अहिले त्यति खेलिँदैन। २ देखि ३ घण्टा मस्तले खेलिन्थ्यो। रंग मज्जाले खेलिन्थ्यो। पानीहरु छ्याप्ने गरिन्थ्यो। सफा पानी छ्याप्थ्यौँ हामीले त। अहिले फोहोर पानी छ्याप्न थालेका छन्। हाम्रो जमानामा त्यति प्लास्टिक बेलुन त्यति प्रचलनमा थिएन। पिच्कारी किन्ने चलन पनि थिएन। हामीसँग रंगीबिरंगी बलुनहरु हुन्थे अनि धाराको टुटीमा बलुन हालेर पानी भथ्र्यौ।
सायद कक्षा ८ मा हुँदा होला मैले आर्टिफिसियल कलर लगाएको थिएँ। इनामेल प्रयोग गरिएको सेतो कालो रंग। त्यो पानीले धुँदा जाँदै गएन। ३–४ दिन जाँदा निकै आत्तिए अनि डराएपनि। कहिल्यै यस्तो रंग लाउँदिन भनेर डराएँ। पछि मट्टितेलले धोएपछि बल्ल रंग गयो।
हुन त प्राकृतिक रंग राम्राे हो तर अहिले कसैले प्रयोग गर्दैनन्। रंगमा विभिन्न मिसावट हुन्छ त्यसले छालालाई अवसर पार्ने हो। एकछिन खेलेर धोएमा खासै त्यसले बिगार गर्दैन। साइनिंग कलर युज गर्नुहून्न। पानी खेल्दा पनि धेरै फोहोर पानी खेल्नुहुन्न। कलर लाएर धेरै बेरसम्म घाममा बस्नुहुन्दैन। रंगले चिलाउने तथा पोल्ने पनि गराउँछ। खेल्नुखगाडी मोस्चराइजरहरु लगाएर खेल्दा राम्रो। कसैलाई एलर्जी तथा छालाहरु सुख्खा बनाउने हुन्छ कलर धेरै लाउँदा त्यसैले धेरै बेरसम्म खेल्नु राम्रो होइन। आँखा जोगाउनुपर्ने हुन्छ।
आज त हामीले होलीको टिका मात्र लगायाैँ सपरिवार। होलीपछि छालाका एलर्जी जस्तै रातो रातो बिबिरा आउने, सुख्खा हुने समस्या, फोहोर पानीको संक्रमणले पिप जस्तो फोका आउने समस्याहरु लिएर आउने गर्दछन् बिरामीहरु। पोहोर होलीपछि १०० जनामा १५ देखि २० जना रंगको एलर्जीको समस्या लिएर आएका थिए। भोलि सायद ओपिडिहरुमा धेरै बिरामीहरु आउने हुन्छन्।
होली रंगको पर्व हो। साथीभाइसँग जमघट गर्ने रमाउने राम्रो अवसर हो। जीवनलाई कसरी रंगीन बनाउन सकिन्छ भनेर यो चाडले सिकाउँछ। त्यसैले सभ्य तरिकाले होली मनाउन पर्छ।