प्रिय समायोजन मीठो सम्झना,
सम्झना त हामी स्वास्थ्यका कर्मचारीले तिमीलाई मात्र गर्ने भयौं, तिमीले त आजसम्म सम्झिन सकेनौ।
मेरो सम्झनाको बदलामा उल्टो अन्योलता अनि त्यही अन्योलताले सिर्जना गरेको मानसिक तनाव मात्र दियौ। समायोजन टुंगिएको उर्दीहरु जब कानमा ठोक्कियो तबबाट तिम्रा यादहरु झन्–झन् आउन थाले। मन वेचैन हुन थाल्यो। घरबाट नानीबाबुहरुको एकोहोरो 'कहाँ पर्नुभयो' भन्ने अनुत्तरित प्रश्नले झनै तनाब थपिदिएको छ।
बाबुनानीहरुको स्कुल भर्ना गर्ने समय अनि समायोजनले अन्याय गरेको महसुस भएमा गुनासो दर्ज गर्ने अन्तिम मिति नजिक आइरहँदा यो अन्योलताले सेतो कमिज अनि निलो पाइन्टमा सजिएर मुस्कान सहितको सेवा प्रवाह गर्ने चाहनामा पक्कै पनि तुषारापात गरेको छ।
तिमीले सम्झियौ कि भन्दै सामान्य प्रशासनको पेजमा आखाँहरु डुलाउँदै गर्दा यो अन्योलतालाई यातनाको आधुनिक शैली भनेर परिभाषित गर्न मन लागिरहेको छ। खासमा ज्वरो नाप्ने थर्मोमिटर भएझैँ तनाव नाप्ने मिटर भइदिएको भए, क्षतिपूर्ति माग गर्दै माग फारम भर्ने विचार नभएको होइन तर ठूला मान्छेको कमजोरीले गर्दा साना मान्छेलाई हुने तनाव नाप्ने यन्त्र किन बनाउँथे र?
अशोक भुजेल
अहेब
भिरकोट स्वास्थ्यचौकी
बिरुवा– ८ स्याङ्जा