कर्मचारी समायोजनका विषयमा हामी स्वास्थ्यकर्मीले कहिले समायोजनको सूची आउला भनेर व्यग्र प्रतीक्षा गरिरहेकै अवस्थामा कति पटक तपाईंलाई नराम्रो बचन समेत लगाइयो। बल्ल आज मैले थाहा पाएँ, वास्तवमा कर्मचारी समायोजन सकिएको विषयमा तपाईंले गरेको पत्रकार सम्मेलन सही रहेछl
कर्मचारी भनेको प्रशासन अन्तर्गतका कर्मचारी मात्र हुन्, उनीहरुको संघमा समायोजन भयो भनी घोषणा गर्नसक्नु अत्यन्त प्रशंसनीय कार्य हो। यस्तो महान कार्य समापन गरेर संसारका देशहरुलाई छक्क पारेको कुरो मैले नबुझेको रहेछुl प्राविधिक कर्मचारीलाई एउटा दरबन्दी देखाई रोज्न लगाएको नाटक गरी पछि उक्त दरबन्दी संसोधन गरिएकोले समायोजन नमिलेको भनी सामान्य नागरिकले प्राप्त गर्नुपर्ने सूचनाको मौलिक हक (नेपालको संविधानको धारा २७) समेतबाट बन्चित गर्दा समेत केही नबोली आफ्नो काममा निरन्तर लागिरहने पनि कर्मचारी हुन सक्छन् र?
हो मन्त्रीज्यू, हजुरले गरेको कर्मचारीको परिभाषा सही रहेछl प्राविधिकहरु पनि कर्मचारी हुन् भन्ने कुरा यसअघि सूची आउट भएका शिक्षाका प्राविधिक कर्मचारी, नवौं, दसौं तहका उपसचिवहरु, संघअन्तर्गत रहेका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत (जो छैटौं, सातौं) तहको मातहतमा स्थानीय तहमा नै समायोजन भएका छन् त्यसबाट थाहा पाउनुपर्थ्यो।
त्यसैगरी समायोजन गरिएका महिला विकासका प्राविधिक कर्मचारी, जसको घरबार नै बिचल्ली हुनेगरी समायोजन ऐनले परिभाषित गरेको कुनै प्रकारले पनि समायोजन गर्न सकिने भन्ने पुष्टि हुने आधारसँग मेल नखानेगरी स्थानीय तहमा समायोजन भएको छ।
यस्तै कृषि तथा पशु स्वास्थ्यका प्राविधिक कर्मचारी र हालसालै गरिएको आठौं तहका स्वास्थ्यका कर्मचारी (मेडिकल अधिकृत) हरुको समायोजनको नतिजाबाट प्राविधिकहरु पनि कर्मचारी हुन् भन्ने मैले थाहा पाउनु पर्थ्यो। यति सानो विषय पनि जानकारी नराखी र आफूलाई एउटा प्राविधिक हो भन्ने नबुझी तपाईंप्रति गरिएको गालीगलोज सम्बन्धमा माफी चाहन्छुl
सामाजिक विकास मन्त्रालय, प्रदेश ३ , हेटौंडा