मुलुक संघीय संरचनामा गएपछि कर्मचारी वृत्तले धेरै आशा र अपेक्षा गरेको थियो। संघ, प्रदेश र स्थानीय तहमा तीन सरकार भएपछि कर्मचारी समायोजन हुनेबारे सबै कर्मचारी जानकार पनि थिए। त्यसका लागि मानसिक रुपमा तयार थिए।
समायोजन गर्दा कर्मचारीले थप ऊर्जा, नयाँ उत्साह र उमंगका साथ आफ्नो कार्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गरी जनतालाई स्वस्थ बनाउन गुणस्तरीय सेवा दिई देशको विकासमा साझेदार बन्न तत्पर थिए।
सरकारले त्यसका लागि कर्मचारीलाई विकासको साझेदार बनाउने बेलामा कर्मचारी समायोजनका निर्धारित आधार विपरीत ज्येष्ठता, स्थायी ठेगाना, रोजेको प्राथमिकता आदिलाई नजरअन्दाज गरी हचुवाको भरमा समायोजन गरिएको गरिएको छ।
यसरी हचुवाको भरमा गरिएको समायोजनले अहिले स्वास्थ्यकर्मीलाई मानसिक रुपमा विक्षिप्त र विचलित बनाएको छ।
यहाँसम्मकि घरपायक पठाउन मिल्ने कर्मचारीलाई पनि अर्कै ठाउँमा पठाइएको छ। एकै ठाउँमा कार्यरत श्रीमान्लाई एकातिर र श्रीमतीलाई अर्को जिल्लामा समायोजन गरिएको छ।
स्वास्थ्यकर्मीले रोज्दै नरोजेको स्थान वा तह जस्तोः प्रदेश २ को स्वास्थ्यकर्मी प्रदेश १ को कुनै जिल्लामा समायोजन गरिएको छ।
क जिल्लाको स्वास्थ्यकर्मी क जिल्लामा नभई ख जिल्ला गरिनु र ख जिल्लाको स्वास्थ्यकर्मी ख जिल्लामा नभई क जिल्लामा समायोजन गरिनुले सावित हुन्छ कि, यो समायोजन कार्यलाई गम्भीरतापूर्वक नलिई हचुवाको तालमा गरिएको छ। सरकारले मंगलबार निकालेको स्वास्थ्यको समायोजन सूचीमा यस्ता खाले समस्या र त्रुटि थुप्रै छन्।
स्वास्थ्यकर्मीलाई दोस्रो दर्जाको नागरिकसरह व्यवहार गरिएको छ। कामै गर्न नसक्नेगरी मानसिक रुपले विक्षिप्त बनाइएको छ। स्वास्थ्यकर्मीलाई अदृश्य रुपमा बल प्रयोग गरी कार्यक्षेत्रमा पठाउँदा त्यस्ता स्वास्थ्यकर्मीबाट गुणस्तरीय सेवाको आशा गर्नु व्यर्थ हुनजान्छ।
मानसिक तनावमा रही भोलि कार्यक्षेत्रमा काम गर्दा दुर्भाग्यवश कुनै अप्रिय घटना भयो भयो भने त्यस्तो समायोजन गरी खटाउने पठाउने पनि नैतिक रुपमा जिम्मेवार हुनुपर्छ।
यदि यसरी समायोजन गर्नु थियो भने पहिले स्थान किन रोज्न लगाइयो? किन ज्येष्ठता, स्थायी ठेगानाका आधारमा समायोजन हुनेछ भनेर कर्मचारीलाई झुट बोलिएको? यो समायोजन ऐनविपरीत पनि भएन र?
तसर्थ, त्यस्तो मानसिक तनावमा स्वास्थ्यकर्मीले काम गर्नु नपरोस् अनि सेवा प्रदायकले मानसिक रुपले स्वस्थ भई काम गर्ने वातावरण निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समायोजन संशोधन शाखासमक्ष मेरो विनम्र अनुरोध छ– न्यायोचित तवरले समायोजनका आधारहरुलाई पूर्ण रुपमा अबलम्वन गरी हाल समायोजनमा देखिएका समस्या तथा त्रुटिहरुलाई समाधान गरी स्वास्थ्यकर्मीमा नयाँ जोश र जाँगर थपिने कार्य गरियोस्।
(पंजियार गोलबजार नगरपालिका सिरहाका स्वास्थ्य संयोजक हुन्)