नर्स स्वास्थ्यका अभिन्न अंग हुन्। बिरामीको सेवामा अहोरात्र खटिने नर्सिङ जनशक्ति नेपालमा करिब ८० हजारको हाराहारीमा छ। हाम्रो देशमा नर्सिङ जनशक्ति उत्पादन धेरै र खपत थोरै छ। च्याउसरी नर्सिङ कलेज मौलाएकाले नर्सको संख्या बढ्न गएको हो। देशले उत्पादन गरेको जनशक्ति विदेशमा समेत खपत भइरहेको छ।
नर्सिङ आफैंमा सम्मानित र पवित्र पेशा हो। तर, विदेशमा जस्तो नर्सिङको स्थान र कदर हाम्रो देशमा छैन।
न्यून पारिश्रमिक, जति पढे पनि उही पद र स्तर न्यून। चाहिएको ठाउँमा नर्सको उपयुक्त दरबन्दी समेत कम छ। थोरै नर्सले धेरै बिरामी हेर्नुपर्ने अवस्था कायम नै छ।
एक जना नर्सले ६ जना सामान्य वार्डमा अनि एक कजना नर्सले १ जना बिरामी आइसियूमा हेर्नुपर्ने हो, तर बिडम्बना सामान्य वार्डमा एक जना नर्सले २० देखि ३० जना बिरामी हेनुपर्ने अवस्था रहेको छ।
कयौं स्वास्थ्य संस्थामा श्रमशोषण जारी नै छ। लाखाँै खर्चिएर पढेपछि पनि ५ हजार रुपैयाँ मात्र पारिश्रमिकमा काम लगाउने धेरै छन्।
यतिखेर नर्सहरु नर्सिङ पेशाको मूल्य, मान्यतालाई ध्यानमा राखेर पेशागत हकहितका लागि लडिरहनु भएको छ। उहाँहको आवाज छिट्टै सम्बन्धित निकायले सुनोस्। पेशाको हकहितका लागि आमरण अनसनमा बस्नुभएकी नर्स जिता बरालका जायज अनि पेशागत हितका लागि राखिएका मागहरुको छिट्टै सम्बोधन होस्।
सबै नर्समाथिको शोषणको अन्त्य, बिरामीको अनुपातमा नर्सको दरबन्दी, राज्यले तोकेको सेवासुविधा सरकारी र निजी सबैमा लागू गराउने, नर्सिङ महाशाखालाई सक्रिय बनाउने आदि माग नर्स दिदीबहिनीहरुले राख्नुभएको छ।
उहाँहरुका माग पूरा भएमा देशमा सम्पूर्ण नर्सको पेशागत सुरक्षा, बेरोजगारले रोजगारी पाउने अनि चाहिएको ठाउँमा आवश्यक दरबन्दिले नर्सिङ क्षेत्रलाई अझ सशक्त बनाउने छ।
अहिलेको अवस्थामा कति अध्ययन गरेपछि दक्षता हासिल गरेका नर्सिङ जनशक्तिलाई कहाँ अनि कसरी व्यवस्थापन गर्ने भन्ने केही रणनीति नै छैन।
प्राज्ञिक क्षेत्रमा जान केके दक्षता हुनुपर्छ, अस्पतालका लागि केके दक्षता हुनुपर्छ भन्ने प्रावधान नै छैन। स्वास्थ्यका माथिल्ला निकायले नै यस पेशालाई बलियो बनाउने दक्ष जनशक्तिलाई दक्षताअनुरुप काम गर्ने वातावरण सिर्जना गर्न सके नर्स विदेशिने क्रम पनि न्यून हुने थियो। अनि आफ्नै देशमा सेवा गर्ने अवसर प्राप्त हुन्थ्यो।
अतः यस लडाइँमा सत्यको जित होस्। जायज मागहरुको छिट्टै सम्बोधन भई कार्यान्वयन गरियोस्। अनसनरत नर्स जिता बरालको स्वास्थ्य स्थितिलाई ध्यानमा राखेर छिटो समस्या समाधान गरियोस्।