अस्पताल सामाजिक अंग हो, जसले चिकित्सा सेवा प्रदान गर्छ। मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने अस्पताल समाजको संवेदनशील क्षेत्र हो।
विभिन्न जनशक्ति र प्रविधिको प्रयोगले बिरामीको उपचार गरिन्छ। बिरामीले गुणस्तरीय र सुलभ सेवा पाउन अस्पताल व्यवस्थापन चुस्त रहन जरुरी छ। अस्पतालमा उचित व्यवस्थापन नहुँदा रोग निको हुन समय लाग्ने, बिरामीले गुणस्तरीय सेवा नपाउने लगायतका समस्या देखिन्छन्।
अस्पताल व्यवस्थापकले व्यवस्थापन, स्रोत–साधनको अधिकतम प्रयोग र समग्र अस्पतालको नेतृत्व गर्छ। विशेषगरी गुणस्तरीय र भरपर्दो सेवा प्रवाह गरी अधिकतम उपलब्धि हासिल गर्न र सेवा प्रवाह दिगो पार्न व्यवस्थापकको ठूलो भूमिका रहन्छ।
विसं १९४७ सालमा वीर अस्पतालको स्थापना भएको थियो। वीर अस्पताललाई नेपालको पहिलो आधुनिक अस्पताल मानिन्छ।
संख्यात्मक रुपमा नेपालको सरकारी तथा निजी अस्पतालको संख्या विगत दुई दशकमा वृद्धि भएको पाइन्छ तर ती अस्पतालहरुमा उचित व्यवस्थापक नहुँदा बिरामीले गुणस्तरीय सेवा पाउनबट वन्चित छन्।
अस्पतालबाट भएका कमजोरीबाट बेलाबेलामा अस्पताल तोडफोड लगायत डाक्टरमाथि हातपातका समाचारहरु आउने गरेका छन्। त्यसैले चुस्त व्यवस्थापन सबै अस्पतालको आवश्यकता भएको नकार्न सकिँदैन।
नेपालमा एक दशकभन्दा बढी समयदेखि पोखरा विश्वविद्यालयले अस्पताल व्यवस्थापनसम्बन्धी स्नातक र स्नातकोत्तर विषयमा अध्यापन गराइरहेको छ।
नेपाल सरकार र सम्बन्धित नीति निर्माणकर्ताले ती दक्ष जनशक्तिलाई स्थान दिन नसक्दा उनीहरु विदेशिन बाध्य छन्। अहिलेको परिस्थितिलाई हेर्ने हो भने निजी अस्पतालहरुले अस्पताल व्यवस्थापन अध्ययन गरेका दक्ष जनशक्तिलाई स्थान दिई स्रोत–साधनको अधिकतम प्रयोग गरी गुणस्तरीय सेवा प्रदान गरेको पाइन्छ।
सरकारी अस्पतालमा भने व्यवस्थापकीय कमजोरीका कारण अस्पतालबाट गुणस्तरीय सेवा नपाएको गुनासो आम नागरिकबाट आउने गर्छ। सरकारी तथा निजी अस्पतालमा यस्ता दक्ष जनशक्तिलाई स्थान दिने हो भने स्रोत–साधनको अधिकतम प्रयोग भई बिरामीहरुले सर्वसुलभ र गुणस्तरीय सेवा पाउने कुरामा कुनै द्विविधा छैन।
यस्तै समस्या र अवसरको कमीका कारण यस विषय पढेको दक्ष जनशक्ति विदेशिन बाध्य छन् र हाल पढिरहेका विधार्थीहरुमा पनि अन्योलको अवस्था सिर्जना भएको छ। त्यसैले यी दक्ष जनशक्तिको उचित व्यवस्थापन र स्थान दिनको लागि विश्वविधालय, यस विषय अध्यापन गराउने कलेजहरु र सरकारी निकायको ध्यान जान जरुरी छ।
(लामिछाने स्वास्थ्य सेवा तथा अस्पताल व्यवस्थापनका विद्यार्थी हुन्)