म एउटा सामान्य डाक्टर, सेवा र उपचारमा विश्वास गर्ने
म एउटा नेपाली डाक्टर , सम्मानको संस्कारमा विश्वास गर्ने
हिप्पोक्रेट्सको नाममा सपथ खाएको म,
असल बोली र व्यवहारमा विश्वास गर्ने
चहराएका घाउमा मलम लगाउने म,
मानवीय संवेदनाको एक घरमा विश्वास गर्ने
एक जीवनको मोक्ष्यार्थ मैले अरु कर्म किन गर्नुपर्यो?
भन्नुहोस् महोदय, यो भन्दा ठूलो धर्म किन गर्नुपर्यो?
एक कठोर तपस्याबाट आर्जित यो डिग्रीलाई साथमा राख्दै
बाँच र बचाउको सर्वोपरी सिद्धान्तलाई माथमा राख्दै
केवल मेरो भरमा बाँचेका बा, आमा र परिवारको जिम्मेवारी काँधमा राख्दै
व्यक्तिगत सुख र मनोरञ्जनको पाटोलाई साँधमा राख्दै
दु:खीको दु:ख मेटाउन तत्पर म एउटा साधारण डाक्टर
एक जीवनको कर्मयोगार्थ मैले अरु श्रम किन गर्नपर्यो?
भन्नुहोस् महोदय, यो भन्दा ठूलो धर्म किन गर्नुपर्यो?
मेरो 'त्याग'लाई 'व्यापार'सँग तुलना गर्ने जालसँग संघर्ष गर्दै
सौम्य जीवनमा वैराग्य ल्याउने दुर्भाग्यको शीतकालसँग संघर्ष गर्दै
भयानक भविष्यको कल्पनामा बग्दै गरेका आँसुका छालसँग संघर्ष गर्दै
ढलिरहेको जीवनको अकल्पनीय चालसँग संघर्ष गर्दै
रोगले क्षय पार्ने अनुहारमा कान्ति ल्याउने म एउटा सामान्य डाक्टर
वियोगको भयमा तड्पिरहेको अनुहारमा शान्ति ल्याउने
म एउटा सामान्य डाक्टर
यसमा रम्न जानेको म,
एक जीवनको सार्थकार्थ अरु पर्म किन गर्नुपर्यो?
भन्नुहोस्, महोदय यो भन्दा ठूलो धर्म किन गर्नुपर्यो?
लत्रिएको जीवनको पिडा बाट, थोरै आँखा खोलेर मलाई हेर्ने नजरहरु संगै
जीवनको टुङ्गो म माथी सुम्पेर बाच्न चाहने रहरहरु संगै
छट्पटी र रोदनका विष्मयलाई अस्पतालमा दबाउने भरोसाका लहरहरु संगै
मेरै जवाफमा जीवन अडेसरी, मलाई धन्य बनाउने ती प्रहरहरु संगै
अस्पताल लाई मन्दिर ठान्ने, म एउटा सरल डाक्टर
`मूर्ती´ होइन , `जीवन´लाई देउता मान्ने म एउटा सरल डाक्टर
एक असल छोराको चरितार्थ अरु सुकर्म किन गर्नु पर्यो?
भन्नुहोस् महोदय यो भन्दा ठुलो धर्म किन गर्नु पर्यो?
रङ्ग बदल्ने दुनियाँ दौड बाट पर , श्वेत वस्त्र भिरेको एक जीवन
आशिर्वादका आरती सिद्ध पार्दै, मधौरुको चिरायु रच्नमा छिरेको एक जीवन
हो म डाक्टर हुँ, दीनका रोग ,चोट र व्यथा पन्छाउने दायित्व भिरेको एक जीवन
यसमै मैले खुशीका जत्था भेटेको छु, मानव हुनुको सार्थकता भेटेको छु
जीवन दिने इलम भएको म डाक्टर, अरु नर्म किन गर्नु पर्यो?
भन्नुहोस् महोदय यो भन्दा ठुलो धर्म किन गर्नु पर्यो?
- डा प्रकाश बञ्जाडे
मणिपाल शिक्षण अस्पताल