पछिल्लो केही दिनयता देशका विभिन्न स्थानमा डाक्टर तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमणको घटना बढीरहेको छ। म गत सातामात्र काठमाडौंको ओम अस्पताल र डडेलधुरा अस्पतालमा भएको आक्रमणको घटना सेलाउन नपाउँदै मंगलबार पनि बौद्धस्थित समता अस्पतालमा आक्रमण भएको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा आक्रमण हुँदा के असर पर्छ? यो अवस्थामा सुधार ल्याउन के गर्नुपर्छ लगायतका विषयमा गैरसकारी चिकित्सक संघका महासचिव डा रितेश थापासँग स्वास्थ्यखबरले कुराकानी गरेको छ।
कुराकानीका क्रममा डाक्टर थापाले डाक्टर तथा स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु दुःखद भएको बताएका छन्।
‘न्यूनतम स्रोत साधन भएर पनि डाक्टर तथा स्वास्थ्यकर्मीले देशको दुरदराजमा पुगेर उपचार सेवा दिएका छन्। धेरैको जीवन बचाएका छन्,’ उनले भने, ‘तर, उपचारका क्रममा कुनै बिरामीको मृत्यु भयो भनेर यथार्थ नबुझी हल्लाको भरमा डाक्टर तथा स्वास्थ्यकर्मी माथि आक्रमण भइरहेको छ। स्वास्थ्य संस्थामाथि तोडफोड भइरहेको छ। यो गलत हो।’
डाक्टर तथा स्वास्थ्यकर्मीलाई पिटेर धम्काएर वा अस्पतालमा आक्रमण गरेर समस्याको समाधान नहुने बताउँदै उनले यस्ता कदम तत्कालै रोकिनुपर्ने बताए।
‘मानिसको मृत्युमा बिचौलियाले खेलिरहेका छन्। दुःखमा परेका मानिसहरुको भावनामाथि बिचौलियाले खेलेका हुन्’ स्वास्थ्यखबरसँग उनले भने, ‘अस्पताल तथा स्वास्थ्य संस्थामा आक्रमण गरेर नेपालको स्वास्थ्य सेवा नै धरासायी बनाउन खोजिएको हो कि जस्तो पनि शंका छ।’
उनका अनुसार हरेक मृत्युलाई लापरबाहीको संज्ञा दिन थालियो भने कुनै पनि डाक्टरले जटिल बिरामी हेर्दैनन्। डाक्टरले जटिल बिरामी हेर्न छाडेर रिफर हुन थाल्यो भन्यो बिरामीले झन् उपचार नपाई मृत्यु हुने अवस्था आउँछ। डाक्टरले सँधै डर र त्रासमा उपचार गर्न सक्दैन।
डाक्टरमाथि बढ्दो आक्रमणका घटनाका कारण पछिल्लो समय धेरै डाक्टरहरु विदेश पलायन हुने सोचमा रहेको उनको बुझाई छ। भन्छन्– ‘एकतिर कुटाई खाने, अर्कोतिर समाजमा प्रतिष्ठा पनि नहुने भएपछि को डाक्टर यहाँ बस्छ?’
उनी आक्रमण गर्नेलाई धरौटीमा छुट्न नपाउने कानुन ल्याएर कार्यान्वयनमा ल्याउन जोड दिन्छन्।
हेरौँ डाक्टर थापासँगको विस्तृत कुराकानी भिडियोमा