समस्या
मानिसले गर्ने आहार विहारमा छ,
समस्या
प्रदूषित सहर, अव्यवस्थित संरचनामा छ,
समस्या
दुर्घटनाजन्य कारक तत्वहरुमा छ,
समस्या
रोग निम्त्याउने विकासका मोडेलहरुमा छ,
समस्या
मेडिकल कम्लिकेसनहरुमा छ,
समस्या
चिकित्सा शिक्षा र सिकाइ प्रणालीमा छ,
समस्या
वर्ग संघर्षमा छ
तल्लो र माथिल्लो स्तरका मान्छेबीचको खाडलमा छ,
समस्या
राज्यसत्तासित पहुँच राख्नेहरुमा छ,
समस्या
अख्तियारी पाएका अधिकारीहरुमा छ,
समस्या
गरिबी उत्पीडन सामन्त व्यवस्थामा छ,
समस्या
राज्यको नीतिमा छ
समाजवादको सिद्धान्तमा छ
संविधान कार्यन्यवनको पाटोमा छ ,
समस्या
स्वास्थ्य क्षेत्रमा मौलाएको अराजकतामा छ
मेडिकल माफियामा छ,
समस्या
दलको एजेन्डा बोकेर
सरकारी तलब खाँदै
क्लिनिक धाउने एप्रोनधारीमा छ,
समस्या
सामाजिक इतिहासले निर्धारण गरेको
भूमिकाविहिन स्वास्थ्य पद्धतिमा छ,
दलाल पुँजीवादी प्रवृत्तिमा छ
अन्तर्विरोधहरु ढाकछोप गर्ने
शोषकहरुमा छ,
समस्या
स्वास्थ्य मन्त्रालयको अपरिपक्व कार्यदिशा र
जवाफदेहितामा छ,
समाधानविहीन युनियन
र नेताका वफादार स्वास्थ्य संगठनहरुमा छ,
तर
हामी मृत्युको संवेदनामा
हठात् टेकेर
अस्पताल र स्वास्थ्य संस्थाहरु
तोडफोड गरिदिन्छौं,
डाक्टरहरुमाथि आक्रमण
हातपात र प्रहार गरिदिन्छौं।
तर हामी कहिले पनि सोच्दैनौं कि
अघि केहीबेरसम्म
मृत्युसँग जुधिरहेका
हाम्रो आफन्तको
जीवन बचाउन
त्यही डाक्टरले
कति मेहनत गरिराखेको थियो?
हामी सोच्दैनौं कि
डाक्टरको पनि परिवार छन्
आमा-बुवा-श्रीमती
बालबच्चा छन्
डाक्टरले पनि मान्ने कुनै
एउटा भगवान छन्,
के सेतो एप्रोन भिर्दैमा
डाक्टरलाई
उस्ले श्रद्धा र आस्थापूर्वक मान्ने
भगवानको पनि डर लाग्दैन र?
के उसलाई पाप र धर्मको फरक थाहा
छैन र?
बाँचुन्जेल के ऊ उसका
परिवारसँग आँखा जुधाएर
बोल्नु पर्दैन र?
आमाको मातृत्वमा सत्य
ओकल्नु पर्दैन र?
के मरेपछि
उसलाई स्वर्ग जानु छैन र?
तर हामी यस्तो केही सोच्दैनौं!
डाक्टरलाई
भाउ र भडक राख्नेगुण्डा
भन्ठान्छौं,
छलले कमाउने र
बलले मिच्ने
सौन्दर्यको भोगी हो भन्ठान्छौं,
झुटो नखरा
देखाएर
पैसा धुत्ने र बिरामीको स्वास्थ्यमा
खेलबाड गर्ने बोक्रेपना हो भन्ठान्छौं,
यमराजको विज्ञापन गर्न
धर्तीमा ओर्लिएको बदमाश हो भन्ठान्छौं,
न आत्माको चाहना सुन्ने
न प्रेमको भाषा बोल्ने
संसारले बेक्कार मानेको
उपास्य देवता हो भन्ठान्छौं,
भौतिकवादको आडम्बरमा लिप्सिने
दुनियाँको आखिरी मिथ्या हो भन्ठान्छौं,
नत्र
बिरामीको जीवन बचाउन
अहोरात्र खटिने डाक्टरमाथि दिनहुँ
हामीबाटै
दुर्व्यवहार किन हुन्थ्यो त?
ठिक छ!
यदि लापरबाही र गल्ती छ भने
कानुन बमोजिम सजायका
भागीदार डाक्टर पनि हुनुपर्छ!
डाक्टर भएँ भन्दैमा
बिरामीको स्वास्थ्यमा खेलवाड त
कहाँ गर्न पाइन्छ र?
तर
छानबिन गर्ने निकायहरु छन्
पुलिस प्रशासन छ
न्यायको मूर्ति अदालत छ
तर विडम्बना
यहाँ अस्पतालमा जम्मा भएको भिडले
डाक्टरलाई कसुर देख्छ
बिचौलियाले कारबाही गर्छ
र प्रशासन मुकदर्शक बन्छ।
कारबाही त
स्वास्थ्यका भ्रष्टाचारी निकायमा आवश्यक छ,
राजनीतिकर्मीहरुका हर्कतहरुमा
आवश्यक छ,
सरकारी अपरिपक्व नीति र योजनामा आवश्यक छ,
गरिब बिरामीलाई शोषण गर्ने
निजी सञ्चाचालकहरुमा आवश्यक छ,
तर हामी
यस्ता जिम्मेदार राज्य संयन्त्रहरुमा
कारबाही त के
प्रश्नसमेत उठाउन सक्दैनौं!
र त एउटा डाक्टरलाई
सोझो देख्छौं
निरीह देख्छौं
बिरामी मर्दाको पीडामा
आफू जस्तै
वैराग्य र निराश देख्छौं
अनि तिनकै
जिउज्यान र प्रतिष्ठामाथि
जाइलाग्छौं!
यदि
विकट गाउँमा सुत्केरीलाई
बचाउन आफ्नै रगत दान गर्ने
जस्ता मानवताका यी धर्मीहरुलाई
आघात पुर्याउँदा
हामी सबैलाई
पुण्य र शान्ति मिल्छ भने
आउनुहोस्!
बिचरा डाक्टरलाई देशबाट पलायन हुन बाध्य पारौं।
(चिकित्सा शास्त्र अध्ययन संस्थान)