काठमाडौं– पछिल्लो समय देशका आधाभन्दा बढी क्षेत्रमा डेंगुको संक्रमण फैलिएको छ। डेंगुका कारण साउनयता २ जनाको मृत्यु भइसकेको छ भने १२ सय भन्दा बढी संक्रमित भएका छन्। वैशाख महिनादेखि अहिलेसम्मको तथ्यांक हेर्ने हो भने डेंगुबाट ४ हजारभन्दा बढी संक्रमित भइसकेका छन्।
डेंगु नियन्त्रणबाहिर गइसक्दा पनि रोग नियन्त्रणको महत्वपूर्ण जिम्मेवारी पाएको निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने डेंगुका कारण मृत्यु भएकाको र बिरामीको तथ्यांक संकलन मात्र गरेर बसिरहेको छ।
चालु आर्थिक वर्षको एक महिनामा नै डेंगु देशका ३७ जिल्लामा देखिएको छ भने १२ सय ९ जना संक्रमित भइसकेका छन्। देशको आधाभन्दा बढी जिल्लामा डेंगुको संक्रमण फैलिसक्दा पनि मन्त्रालय यसको नियन्त्रणमा लाग्न सकेको छैन। आइतबार मात्र मन्त्रालयमा यसको नियन्त्रणका लागि भनेर बैठक बसेको छ।
डेंगु नियन्त्रण बाहिर जानुमा संघीय संरचना अनुसार तीन तहको सरकारमा तालमेल मल्नि नसक्नु भन्दै स्वास्थ्य मन्त्रालय आफ्नो जिम्मेवारीबाट पन्छिन खोजिरहेको छ। मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु नियन्त्रणकालागि ठोस कदम चाल्नु पर्ने हो। तर, महाशाखा नै संघीय संरचना अनुसार प्रदेश र स्थानीय तहसँगको तालमेल मिल्न नसकेको भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिरहेको छ।
महाशाखा प्रमुख डा विवेक लाल तीन वटा सरकारबीच तालमेल नमिल्नु र नयाँ संरचना अनुसार कर्मचारीको व्यवस्थापन र समायोजन हुन नसक्दा डेंगु नियन्त्रण बाहिर गएको बताउँछन्।
‘हामी हाम्रो तर्फबाट सक्दो प्रयास गरिरहेका छौं’ उनले भने, ‘तर नयाँ संरचनामा मलेरिया, डेंगु लगायतका कीटजन्य रोग हेर्नका लागि भेक्टर कन्ट्रोल निरीक्षकको दरबन्दी नै नराख्दा समस्या आएको हो।’ उनका अनुसार विगतमा जिल्लादेखि तल्लो तहसम्म ¥यापिड रेस्पोन्स टिम सक्रिय हुन्थ्यो तर नयाँ संरचनामा त्यस्तो संरचना भत्किएका कारण पनि रोग नियन्त्रण बाहिर गएको हो।
चालु आर्थिक वर्षको साउनयता सबैभन्दा धेरै प्रदेश १ र ३ मा डेंगुको संक्रमण फैलिएको छ। एकमहिनाको अवधिमा यी दुई प्रदेशमा ९ सय २८ जनामा डेंगुको संक्रमण भेटिएको छ।
डेंगुका कारण चितवन र डोटीमा एक एक जनाको मृत्यु भइसकेको छ।
डेंगु एडिस एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। यी लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ। यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ। औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ।
यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन्।
डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारका छन । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो। यो आफैं निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ। तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ।
पछिल्लो ७ वर्षमा कुन जिल्लामा कति?