विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मा अमेरिकी वित्तीय कटौतीको सम्भावनाले विश्वव्यापी स्वास्थ्य प्रणालीहरूमा रहेका कमजोरीहरू इंगित गरेको छ। जनस्वास्थ्स्थक विशेषज्ञहरूका लागि यो घटनाले विश्वव्यापी स्वास्थ्य संरक्षण गर्न अनुकरणीय, दीर्घकालीन र आत्मनिर्भर संरचना निर्माणको आवश्यकता औंल्याउँछ।
लचकता जनस्वास्थ्य अभ्यासको केन्द्रमा हुनुपर्छ। वित्तीय संकट वा नयाँ स्वास्थ्य खतराहरूबिरुद्ध द्रूत प्रतिकार गर्न लचिलो योजना, नवीन रणनीतिहरू र डिजिटल स्वास्थ्य प्लेटफर्मजस्ता प्रविधिमैत्री समाधानहरूको अपनाउने क्षमताको आवश्यकता पर्छ। प्रभावकारी प्रणालीहरूले संचालन विस्तार गर्न वा वैकल्पिक वित्तीय स्रोतमा परिवर्तन गर्न सक्षम हुनुपर्छ।
आर्थिक सहनशीलता कुनै पनि एकल दातामा अत्यधिक निर्भरता घटाउन महत्त्वपूर्ण छ। जनस्वास्थ्य विशेषज्ञहरूले सार्वजनिक-निजी साझेदारी, परोपकारी सहयोग, र घरेलु स्रोतहरूको परिचालनद्वारा विविध वित्तीय स्रोतहरूको पक्षमा वकालत गर्नुपर्छ। क्षेत्रीय कोषहरू वा स्वास्थ्य प्रभाव बन्डहरू जस्ता नवीन प्रणालीहरूले दीर्घकालीन स्थिरता प्रदान गर्न सक्छन्।
राष्ट्रिय क्षमताको सुदृढीकरण उत्तिकै महत्त्वपूर्ण छ। देशहरूले दिगो घरेलु लगानी केन्द्रीतथ सशक्त स्वास्थ्य प्रणाली निर्माणमा ध्यान केन्द्रित गर्नुपर्छ। युनिभर्सल हेल्थ कवरेज, स्रोतको समानुपातिक वितरण, प्राथमिक स्वास्थ्य सेवा र डिजिटल प्रणालीको उपयोगले भविष्यका संकटहरूको सामना गर्ने बलियो आधार सुनिश्चित गर्छ।
सुशासनले जवाफदेही र विश्वसनीय स्वास्थ्य प्रणालीका लागि भूमिका खेल्छ। पारदर्शी र समावेशी निर्णय प्रक्रिया, साथै सशक्त संस्थागत संरचनाहरूले स्रोतहरूको कुशल प्रयोग र स्वास्थ्य प्रणालीहरूमा विश्वास बढाउँछ।
अन्तमा, सफ्ट डिप्लोमेसी र दृढ सहभागिताको महत्त्वलाई कम आँक्न सकिँदैन। सरकारहरू, नागरिक समाज, निजी क्षेत्र र अन्तर्राष्ट्रिय संगठनहरूबीचको सहकार्यले एकता प्रवर्द्धन गर्न र साझा स्वास्थ्य चुनौतीहरू समाधान गर्न स्रोतहरू जुटाउन महत्त्वपूर्ण भूमिका खेल्छ। सरकारी निकायमा रहेका स्वास्थ्य विशेषज्ञहरूले साझेदारीहरू बनाउन, साझा लक्ष्यहरूका लागि वकालत गर्न र सामूहिक प्रयासलाई बलियो बनाउन रणनीति अपनाउनुपर्छ।
(लेखक जनस्वास्थ्य विज्ञ हुन्)