काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए)को जारी निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार अध्यक्ष पदमा डा. मंगल रावलले अग्रता लिएका छन् भने अन्य प्रमुख पदहरूमा कडा प्रतिस्पर्धा देखिएको छ।
अध्यक्ष पदतर्फ हालसम्म गणना भएका ३८३ वैध मतमध्ये डा. रावलले २०७ मत (५४.०५ प्रतिशत) प्राप्त गर्दै अग्रस्थानमा छन्। उनका निकटतम प्रतिद्वन्द्वी डा. बद्री रिजालले १४० मत (३६.५५ प्रतिशत) पाएका छन् भने डा. नारायणप्रसाद भुसालले ३६ मत (९.४० प्रतिशत) प्राप्त गरेका छन्। कुल ३८४ मतमध्ये १ मत बदर भएको छ।
वरिष्ठ उपाध्यक्ष पदमा भने प्रतिस्पर्धा निकै रोचक बनेको छ। डा. सञ्जीव तिवारी १६७ मत (४४.८९ प्रतिशत) सहित अग्रस्थानमा छन् भने डा. किर्तिपाल सुबेदी १५० मत (४०.३२ प्रतिशत) सहित पछ्याइरहेका छन्। डा. अजयकुमार मिश्राले ५५ मत (१४.७८ प्रतिशत) प्राप्त गरेका छन्। यस पदमा १२ मत बदर भएका छन्।
महासचिव पदतर्फ पनि प्रतिस्पर्धा निकै नजिक देखिएको छ। डा. विश्वराज दवाडी १४५ मत (३९.३० प्रतिशत) सहित अगाडि छन् भने डा. कालुसिंह खत्री १४० मत (३७.९४ प्रतिशत) सहित झिनो अन्तरमा पछ्याइरहेका छन्। डा. अमृत भुसालले ८४ मत (२२.७६ प्रतिशत) प्राप्त गरेका छन्। यस पदमा १५ मत बदर भएका छन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।