काठमाडौँ - सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल इन युरोप(एसएनएचपीई) ले नेपाल मेडिकल काउन्सिल ले २०८३ वैशाख ११ मा प्रकाशित सूचनामार्फत १७ जना गैरआवासीय नेपाली (एनआरएन) चिकित्सकहरूको दर्ता खारेज गरी नाम हटाएको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।
संस्थाले जारी गरेको विज्ञप्तिमा उक्त कदम “चिन्ताजनक र दुःखद” भएको उल्लेख गर्दै प्रचलित कानुनी व्यवस्थाहरूले नेपालको व्यावहारिक स्वास्थ्य आवश्यकता र एनआरएन चिकित्सकहरूको योगदानलाई पर्याप्त रूपमा समेट्न नसकेको बताएको छ। परिषद्को निर्णय नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ तथा एनआरएन चिकित्सक दर्ता तथा चिकित्सकीय अभ्यास नियमावली २०८१ अनुसार गरिएको जनाइएको छ।
एसएनएचपीईका अनुसार यस्तो निर्णयले एनआरएन चिकित्सक र नेपालका स्वास्थ्य संस्थाबीचको लामो समयदेखिको पेशागत सहकार्यमा नकारात्मक असर पार्न सक्छ। यसले ज्ञान आदान–प्रदान, शैक्षिक सहकार्य, विशिष्टीकृत स्वास्थ्य सेवा तथा अन्तर्राष्ट्रिय पेशागत संलग्नतामा अवरोध सिर्जना गर्ने बताइएको छ।
संस्थाले दर्ता सम्बन्धी निर्णयहरू गर्दा सम्बन्धित चिकित्सकलाई प्रत्यक्ष र सम्मानजनक रूपमा जानकारी गराउनुपर्नेमा जोड दिएको छ। सार्वजनिक रूपमा नाम प्रकाशन गर्दा चिकित्सकहरूको व्यक्तिगत गोपनीयता, पेशागत प्रतिष्ठा र गरिमामा असर पुग्ने उल्लेख गरिएको छ।
एसएनएचपीईले नेपाल सरकार र नेपाल मेडिकल काउन्सिललाई प्रचलित ऐन तथा नियमावली पुनरावलोकन गरी एनआरएन चिकित्सकलाई निरुत्साहित गर्ने प्रावधानहरू संशोधन गर्न आग्रह गरेको छ। नागरिकताको आधारमा मात्र दर्ता खारेज गर्नु उपयुक्त नहुने संस्थाको धारणा छ।
स्वास्थ्य क्षेत्रको उन्नयनका लागि निरन्तर संवाद र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै संस्थाले चिकित्सकहरूको गोपनीयता, गरिमा र पेशागत अधिकारको संरक्षण गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
उक्त विज्ञप्ति एसएनएचपीईका अध्यक्ष डा. विनय कुमार श्रेष्ठद्वारा हस्ताक्षरित छ।