अछाम — सुदूरपश्चिम प्रदेशको अछाम जिल्लास्थित बयालपाटा प्रादेशिक अस्पतालले हाडजोर्नी विशेषज्ञ उपचारमा उल्लेखनीय सफलता हासिल गरिरहेको छ। अस्पतालले बिहीबार एकै दिन पाँच जना बिरामीको जटिल हाडजोर्नी शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो।
अस्पतालका अनुसार शल्यक्रिया गरिएका बिरामीमध्ये दुई जना बालक, दुई जना वयस्क र एक जना वृद्ध रहेका छन्। शल्यक्रियाको नेतृत्व अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. विश्वबन्धु निरौलाले गरेका थिए।
डा. निरौलाका अनुसार बिहीबार सम्पन्न भएका पाँच वटा शल्यक्रियामध्ये डोटीका ६० वर्षीय काले साँउदको शल्यक्रिया विशेष रहेको छ।
डोटी जिल्ला, पूर्वीचौकी–७ का साँउदको ‘कलर बोन’ (क्लेभिकल) भाँचिएपछि उनी जिल्ला अस्पताल डोटी पुगेका थिए। त्यहाँबाट रिफर भएपछि उनी १० दिनअघि बयालपाटा प्रादेशिक अस्पताल आएका थिए।
अस्पतालमा उपचारका क्रममा डा. निरौलाले क्लेभिकलको हड्डी शल्यक्रिया नगर्दा पनि आफैँ जोडिन सक्ने भएकाले शल्यक्रिया नगर्न सुझाव दिएका थिए। तर, छिट्टै निको भएर आफ्नो नियमित काममा फर्किने इच्छा र आत्मविश्वासका साथ साँउदले स्वयं शल्यक्रिया रोजेका थिए।
उनकै आग्रहमा डा. निरौलाको टोलीले सफल शल्यक्रिया सम्पन्न गरेको हो। “साँउदको निर्णयले उमेरभन्दा पनि कामप्रतिको सक्रियता र आधुनिक उपचार पद्धतिमाथिको विश्वास झल्काउँछ,” डा. निरौलाले बताए।
बिहीबार नै डोटीको दिपायल सिलगढी–५ का ७ वर्षीय आयुष्मा भण्डारी र बाजुराको बुढीगंगा नगरपालिका–६ का ४ वर्षीय शालिन नेपालीको पनि सफल शल्यक्रिया गरिएको छ।
उनीहरूको पाखुराको तल्लो भागको हड्डी (फोरआर्म ह्युमेरस) भाँचिएको थियो। दुवै बालकको हातमा ‘के-वायर’ राखेर सफल शल्यक्रिया गरिएको डा. निरौलाले बताए। उनीहरू दुवै जना बिहीबार नै घर फर्किएका छन्।
आयुष्मा तीन दिनअघि घाइते भई जिल्ला अस्पताल डोटी पुगेका थिए र त्यहाँबाट रिफर भएपछि बयालपाटा आएका थिए। शालिन भने सिधैँ उपचारका लागि बयालपाटा आएका थिए।
त्यसैगरी अन्य दुई बिरामीमा डोटीको दिपायल सिलगढी–६ का २१ वर्षीय विशाल खत्री र बाजुराको बुढीगंगा नगरपालिका–९ का ४७ वर्षीय एक पुरुष रहेका छन्।
खत्रीको दायाँ खुट्टाको नलीहड्डी (टिबिया) भाँचिएको थियो भने अर्का बिरामीको हातको नाडीको हड्डी (रेडियस) भाँचिएको थियो।
खत्री तीन दिनअघि धाराबाट पानी लिएर घर फर्किने क्रममा लडेर घाइते भएका थिए। जिल्ला अस्पताल डोटीमा एक्स–रेपछि शल्यक्रिया आवश्यक रहेको बताइएपछि उनी बयालपाटा आएका थिए।
शल्यक्रियापछि खुसी हुँदै खत्रीले भने, “बयालपाटा नभएको भए मलाई धनगढी जानुपर्थ्यो, खर्च पनि धेरै हुन्थ्यो। अहिले नजिकै सहज रूपमा अपरेशन भयो। यहाँको सेवा एकदमै राम्रो लाग्यो।”
त्यस्तै, बाजुराका ४७ वर्षीय पुरुष घरको छानोमा ढुंगा मिलाउने क्रममा लडेर घाइते भएपछि सिधैँ बयालपाटा आएका थिए। उनको पनि बिहीबार सफल शल्यक्रिया गरिएको हो।
हड्डी मात्र होइन, मुस्कान पनि जोड्दै बयालपाटा
बयालपाटा प्रादेशिक अस्पतालले यी उपचारलाई केवल प्राविधिक शल्यक्रियाका रूपमा मात्र नभई बिरामीलाई पुनः सामान्य जीवनमा फर्काउने माध्यमका रूपमा लिएको छ।
डा. निरौलाका अनुसार, “हामीले हड्डी मात्र जोडिरहेका छैनौँ, हरेक बिरामीको जीवनलाई फेरि चलायमान बनाउने प्रयास गरिरहेका छौँ। बिरामीको मुहारमा खुशी ल्याउनु नै हाम्रो पहिलो धर्म हो।”
एकै दिन पाँच जना बिरामीको सफल शल्यक्रियापछि बिरामी र तिनका आफन्तहरूको अनुहारमा खुशी छाएको छ। दुर्गम क्षेत्रमा असम्भवजस्तै मानिने जटिल शल्यक्रिया बयालपाटाले सफलतापूर्वक गर्दै आएको छ।
दुर्गम क्षेत्रबाट शहरसम्म पुग्नुपर्ने बाध्यतालाई कम गर्दै बयालपाटा प्रादेशिक अस्पतालले स्तरीय सेवा प्रदान गर्दै स्थानीय नागरिकहरूको विश्वास जित्दै आएको छ।