काठमाडौँ — नेपाल मेडिकल एशाेसिएसन को नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा प्यानल भोट नखसेको संकेत देखिएको छ। ५६० मत गणना हुँदा अध्यक्षदेखि सदस्यसम्मका अधिकांश पदमा कडा प्रतिस्पर्धा देखिएको छ।
अध्यक्ष पदमा डा. मङ्गल रावल २९३ मतसहित अग्रस्थानमा छन् भने डा. बद्री रिजाल २१४ मतका साथ पछ्याइरहेका छन्। डा. नारायण प्रसाद भुसाल ५० मतसहित तेस्रो स्थानमा छन्। अध्यक्षमा रावलले केही सहज अग्रता बनाए पनि प्रतिस्पर्धा पूर्ण रूपमा समाप्त भइसकेको छैन।
वरिष्ठ उपाध्यक्षमा झन् रोचक भिडन्त देखिएको छ। डा. संजीव तिवारी २३५ मतसहित अघि रहँदा डा. किर्तिपाल सुवेदी २२२ मतका साथ निकै नजिक छन्। महासचिव पदमा पनि यस्तै प्रतिस्पर्धा छ, जहाँ डा. विश्वराज दवाडी २१३ मतसहित अग्रस्थानमा छन् भने डा. कालु सिंह खत्री २०२ मतसहित पछ्याइरहेका छन्।
प्रदेश उपाध्यक्षतर्फ अधिकांश क्षेत्रमा प्रतिस्पर्धा तिव्र देखिएको छ। बागमती प्रदेशमा डा. अरुण शाही (१८०) र डा. सुभाष भट्टराई (१७५) बीच अत्यन्तै कम मतान्तर छ। गण्डकीमा पनि डा. यज्ञराज सिग्देल (२४४) र डा. नवराज लम्दारी (२२२) बीच प्रतिस्पर्धा कडा देखिएको छ।
अन्य प्रदेशहरूमा भने केही उम्मेदवारले स्पष्ट अग्रता बनाएका छन्। मधेशमा डा. अमित रञ्जन मिश्र, लुम्बिनीमा डा. नन्द कुमार गुरुङ र सुदूरपश्चिममा डा. प्रमोद जोशीले तुलनात्मक रूपमा सहज स्थिति बनाएका छन्।
सह–महासचिवमा डा. हुलास अग्रवाल ३०७ मतसहित स्पष्ट रूपमा अगाडि छन् भने सह–कोषाध्यक्षमा डा. तेज्सु सिंह मल्ल २७६ मतका साथ अग्रस्थानमा छन्।
सदस्य पदमा भने प्रतिस्पर्धा अझ व्यापक छ। शीर्ष ६ भित्र पर्नका लागि उम्मेदवारहरूबीच कडा भिडन्त देखिएको छ। हाल डा. अरुण उप्रेती, डा. अमित झा, डा. शेषराज घिमिरे, डा. सुष्मित काफ्ले, डा. हिमलाल भण्डारी र डा. राकेश शाह अग्रस्थानमा रहेका छन्।
निर्वाचनको प्रारम्भिक नतिजाले कुनै पनि समूहको एकतर्फी वर्चस्व देखाएको छैन।