काठमाडौं- नेपाल मेडिकल एसोसिएसन (एनएमए) को जारी निर्वाचनमा हालसम्म १६७३ मत गणना हुँदा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा ‘टिम मंगल’ले अग्रता कायम गरेको छ। प्रारम्भिक नतिजाले प्रतिस्पर्धा कडा भए पनि केही प्रमुख पदमा स्पष्ट अग्रता देखिएको छ।
अध्यक्ष पदमा डा. मंगल रावल ७६८ मत (४६.४३%) सहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी डा. बद्री रिजालले ६८९ मत (४१.६६%) प्राप्त गरेका छन् भने डा. नारायण प्रसाद भुसाल १९७ मत (११.९१%) सहित तेस्रो स्थानमा छन्।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा डा. किर्तिपाल सुवेदी ७०० मत (४४.३६%) सहित अग्रस्थानमा रहँदा डा. सञ्जीव तिवारी ६४० मत (४०.५६%) सहित पछ्याइरहेका छन्। डा. अजय कुमार मिश्रा २३८ मत (१५.०८%) सहित तेस्रो स्थानमा छन्।
महासचिव पदमा पनि ‘टिम मंगल’कै उम्मेदवार डा. कालु सिंह खत्री ५९८ मत (३७.७५%) सहित अगाडि छन्। उनलाई डा. विश्वराज दवाडीले ५७१ मत (३६.०५%) सहित नजिकबाट पछ्याइरहेका छन् भने डा. अमृत भुसाल ४१५ मत (२६.२०%) सहित तेस्रो स्थानमा छन्।
प्रदेशगत उपाध्यक्षतर्फ पनि प्रतिस्पर्धा रोचक बनेको छ। कोशी प्रदेशमा डा. रोशन खड्का, मधेशमा डा. अमित रञ्जन मिश्रा, बागमतीमा डा. सुवास भट्टराई, गण्डकीमा डा. यज्ञराज सिग्देल, लुम्बिनीमा डा. नन्दा कुमारी गुरुङ, कर्णालीमा डा. रबिन खड्का र सुदूरपश्चिममा डा. प्रमोद जोशी अग्रस्थानमा छन्।
अन्य पदहरूमा पनि प्रारम्भिक अग्रता स्पष्ट देखिएको छ। कोषाध्यक्षमा डा. सम्युक्ता आचार्य, सह–महासचिवमा डा. हुलास अग्रवाल र सह–कोषाध्यक्षमा डा. तेजसु सिंह मल्ल अगाडि रहेका छन्। सदस्य पदका लागि हाल शीर्ष ६ मा डा. सुष्मित काफ्ले, डा. हिमलाल भण्डारी, डा. अरुण उप्रेती, डा. शेषराज घिमिरे, डा. अमित झा र डा. पाल्पसा श्रेष्ठ रहेका छन्।
हालसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मतगणना सम्पन्न भइसकेको छ भने बागमती प्रदेशको चितवनमा मतगणना जारी रहेको छ। अझै बागमती, मधेश र कोशी प्रदेशका मत गणना हुन बाँकी छन्।
विशेषगरी बागमती प्रदेशको काठमाडौं उपत्यकामा मात्रै २८५८ मत खसेकाले अन्तिम परिणाममा उपत्यकाको मत निर्णायक हुने संकेत देखिएको छ। उपत्यकाबाहिरको मत परिणामले प्रतिस्पर्धालाई रोचक बनाइरहे पनि अन्तिम परिणामका लागि उपत्यकाको मत मुख्य कारक बन्ने देखिएको छ।