काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐन यही अधिवेशनमा ल्याउने प्रयास गरिरहेको बताएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालको ९१ औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भने, 'छुट्टै स्वास्थ्य सेवा ऐन बनाउन हामीले एउटा ड्राफ्ट गरेका छौं। यही संसद्मा लिएर जाने अथक प्रयास गर्दैछौं।' त्यसले स्वास्थ्यकर्मीको योगदानको सम्मान गर्ने उनले बताए।
स्वास्थ्य क्षेत्रमा कयौं समस्या रहेको कुरामा आफू जानकार रहेको बताउँदै आफूलाई केही गर्ने हुटहुटी रहेको बताए। उनले भने, 'पेशा सुरक्षित हुन नसकेको, न्युनतम सेवा नपाएको, काम गर्ने वातावरण नबनेको र स्रोतसाधन उपलब्ध हुन नसकेको कुरामा जानकार छु। मन्त्रीको रुपमा केही गर्ने हुटुहुटी छ। अनेक कारणले त्यो सुधार गर्ने अवस्था छैन।'
उनले सरुवा रोग व्यवस्थित गर्ने र थप सेवा उपलब्ध गराउने विषयमा पनि आफू लागिरहेको बताए। त्यसक लागि गाइडलाइन बनाउन जरुरी भएको उल्लेख गरे।