काठमाडौं - मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले सञ्चालन गरेको डा ओम फाउण्डेसनले सरकारी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। डा ओममूर्ति अनिलले आफ्नो पुस्तक ‘जीवन्त सम्बन्ध’ को बिक्रीबाट प्राप्त रकमले विपन्न विद्यार्थीका निम्ति २० लाख रुपैयाँबराबरको छात्रवृत्ति प्रदान गर्ने एक पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।
देशभरका सरकारी विद्यालयमा कक्षा ६ देखि ९ सम्म अध्ययन गर्दै गरेका विद्यार्थीले आवेदन दिन सक्ने फाउण्डेसनका अध्यक्ष डा अनिलले जानकारी दिए। उनले यसका लागि माघ १७ देखि फागुन ५ गतेसम्म आवेदन मागिने बताए।
‘जीवन्त सम्बन्ध’ पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका निम्ति स्थापित ‘ओम फाउन्डेसन’मार्फत् खर्च गर्ने यसअघि नै घोषणा गरिएको थियो ।
फाउन्डेसनले यसअघि सातवटा निःशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन गरी १६ सय जनाभन्दा बढीको स्वास्थ्य जाँच, विपन्न तथा सीमान्तकृत समुदायका ३ सय ५० घर परिवारलाई कम्बल वितरणजस्ता काम गरिसकेको छ।
त्यस्तै धुम्रपानविरुद्धका अभियानमा सातै प्रदेशका हजारौं विद्यार्थीहरुलाई सहभागी गराई हाजिरी जवाफ, चित्रकला, कविता प्रतियोगिता सञ्चालन गरेको थियो । सन् २०२४ मा धुम्रपानविरुद्धकै अभियानमा १७ सय जनाभन्दा बढीलाई धुम्रपान तथा सूर्ती सेवनको लत छुटाउन फाउन्डेसनले महत्वपूर्ण भूमिका खेलेको थियो।
डा अनिलका अनुसार छात्रवृत्तिका लागि २० लाख रुपैयाँ रकम छुट्याइएको छ। विद्यार्थी स्वयम्, विद्यालय वा अभिभावकले आवेदन दिन सक्नेछन्। छात्रवृत्तिका लागि आवेदन दिँदा साथमा विद्यार्थीको अघिल्लो कक्षाको ग्रेड सिट र चालु शैक्षिक शत्रका दुई वटा त्रैमासिक परीक्षाको ग्रेड सिट अपलोड गर्नुपर्ने छ।