तनहुँ- दमौली अस्पतालमा कार्यरत एक चिकित्सकमाथि हातपातको प्रयास भएको भन्दै अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले त्यसको विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।
अस्पतालका चिकित्सकहरुले सामुहिक रुपमा निकालेको प्रेस विज्ञप्ति अनुसार बुधबार अपरान्ह ५:४० बजे दमौली अस्पतालमा कार्यरत डाक्टर स्वेता बस्नेतमाथि हातपातको प्रयास भएको थियो। व्यास १२ तनहुँ निवासी अमर आलेले अस्पतालको प्राङ्गणमा नै हातपातको प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ।
‘माघ १६ गतेको दिन अपराह्न ५:४० बजे, दमौली अस्पतालमा कार्यरत डाक्टर स्वेता बस्नेतलाई मादक पदार्थ सेवन गरी आएका व्यास १२, तनहुँका अमर आलेले अस्पताल प्राङ्गणमा हातपातको प्रयास गरेको घटनालाई सम्पुर्ण दमौली अस्पतालमा कार्यरत चिकित्सक, नर्स र सम्पुर्ण स्वास्थ्यकर्मीले यो घटनाको घोर भर्त्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।
उनीहरुले दोषीलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ अनुसार दफा ३ को च ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्ने, कुनै किसिमले धम्की दिने, गाली गलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गर्न’ सम्बन्धी कानुन बमोजिम कारबाहीको माग गरेका छन्।