हामी केटाकेटी हुँदा दसैं सुरु भएपछि एक महिना स्कुल बिदा हुन्थ्यो। बिदामा छिटोछिटो गृहकार्य सिध्याएपछि साथीभाइसँग दिनभरि खेल्न पाइन्थ्यो। त्यो कारणले पनि दसैं विशेष लाग्थ्यो।
घटस्थापना सुरु भएदेखि नै गाउँमा विशेष खालको चलहपहल हुन्थ्यो। दसैंको बेलामा टोलटोलमा पिङ हाल्ने भएकोले हामी केटाकेटी जतिबेला पनि पिङमा झुन्डिन्थ्यौं। खाना खानाको लागि १० पटक बोलाउन आउनुपथ्र्यो।
दसैं आएपछि नयाँ लुगा किनिदिनुहुन्थ्यो आमाबुबाले। नयाँ लुगा किनिदिएको दिन रातभरि निद्रा लाग्दैनथ्यो। उज्यालो कति बेला होला र नयाँ लुगा साथीलाई देखाउँला जस्तो हुन्थ्यो।
नयाँ लुगा लगाएर गाउँभरि टीका थाप्न हिड्दा खुवै रमाइलो लाग्थ्यो। नयाँ लुगा लगाएर साथीलाई देखाउन र साथीसँग मिलेर पिङ खेल्न असाध्यै मन पथ्र्यो।
दसैंको अर्को रमाइलो पक्ष भनेको दक्षिण हो। हाम्रो घरतिर पाँच दिनसम्म टीका लगाउने चलन छ। टीका लगाएर सकिएपछि कति दक्षिणा भयो भनेर गन्ने हुटहुटी चल्थ्यो।
बेलुका दक्षिण गन्ने र भोलिपल्ट मेरो यति दक्षिणा भयो भनेर साथीलाई सुनाउन खुबै मन पथ्र्याे। उनीहरुको भन्दा आफ्नो दक्षिणा बढी भएको रहेछ त झन् खुसीको सिमा नै हुँदैनथ्यो।
जबदेखि जान्ने, बुझ्ने भएँ, त्यो बेलादेखि आफ्न्तहरुसँग भेट्न पाइने भएकोले दसैं विशेष लाग्न थाल्यो। दसैंको बेलामा टाढाटाढाबाट आफन्तहरु आउने घरको वातावरण नै रमाइलो हुन्थ्यो।
मेरो घर इटहरी हो। मेरो काम पनि विराटनगर, धरानमा हुन्थ्यो। स्टाफ नर्स हँुदा घर नजिकै भएकोले बिदा मिल्दैनथ्यो। घरमा पाउना हुन्थे, रमाइलो माहोलमा आफू ड्युटी हिँड्नु पर्दा नरमाइलो लाग्थ्यो, तर जानै पर्ने बाध्यता थियो।
आफू नभएको बेलामा घरमा केके भयो होला भनेर दिनभरि कौतुहलता हुन्थ्यो। त्यसैले ड्युटीबाट फर्किनासाथ दिनभरि केके भयो भनेर सबै बेलिविस्तार सोध्थें। दसैंमा पूरा दिन बिदा नपाए पनि आफ्ना परिवारको खुसीमा सामेल हुन पाउँदा एक हिसाबले खुसी पनि लाग्थ्यो।
पछि अधिकृत भइसकेपछि भने त्यस्तो समस्या परेन। चाडबाडको बेला बिदा मिल्थ्यो। त्यो बेलामा जिम्मेवारी आफ्नो टाउकामा भएकोले कतै केही भइहाल्यो कि भनेर बेलाबेलामा अस्पतालमा फोन गरेर अस्पतालको माहोल बुझ्थें।
ड्युटीको कारणले गर्दा अहिलेसम्म निधार खाली राख्नुुपरेको छैन। मलाई दसैंभन्दा तिहार धेरै नै मन पर्छ। त्यसैले दसैंमा बिदा नबसे पनि तिहारका महत्वपूर्ण दिनमा भने बिदा बस्ने गरेको छु।
तिहारको झिलिमिली बत्ती धेरै मन पर्छ। लक्ष्मीपूजाको दिन बिहानै उठेर नुहाएर दिनभरि व्रत बस्छु र राति लक्ष्मी भित्र्याउने गर्छु। लक्ष्मीपूजा खास लाग्छ। त्यो दिन पूरै घर आफैंले सजाउने गर्छु।
- प्रस्तुति : सिर्जना खत्री