आदरणीय डडेल्धुराबासीहरु,
स्थानीय सरकार हाँक्नेहरु,
प्रदेश सरकारका पदाधिकारीहरु,
केन्द्रीय सरकार पक्षहरु,
पढिरहनुभएका मेडिकल विध्यार्थीहरु,
मेडिकल शिक्षा पढ्ने सपना देख्नुभएका भावी डाक्टरहरु,
अतिरिक्त शुल्कको लडाईं लडी विजयी भइसकेकाहरु,
मेडिकल माफियाको चङ्गुल तोड्न तत्पर परिवर्तनकारीहरु,
मेरिट भर्नामा पढ्न पाउनुभएकाहरु,
सरले पढाउनुभएका सरका हजारौँ विध्यार्थीहरु,
सरका रेजिडेन्टहरु,
फ्याकल्टीहरु,
प्रोफेसरहरु, सरका कलिगहरु...,
डाक्टर र मेडिकल फ्राटर्निटीका लागि खुलेका संस्थाहरु,
समाज सुधारका लागि डट्ने विधान बोकेका सामाजिक, नागरिक संस्थाहरु... !!
आजभन्दा अगाडि प्रथमदेखि १६औँ अनसनसम्मका समर्थकहरु,
अभियन्ताहरु,
नागरिक समाजका अग्रपङ्तीहरु,
सरले उपचार गर्नुभएका बिरामीहरु, र तिनका आफन्तहरु,
गाउँगाउँ मल्हमपट्टी बोकेर सरले शिविर/उपचार गर्नुभएका सबै जिल्लाका बासीहरु, सरले उद्दार गर्नुभएका भूकम्पपिडीतहरु, बाढीपहिरो, माहामारी शितलहर पीडितहरु र ती क्षेत्रका नेतृत्वपङ्तिहरु,
विगतमा, "जिकेसी तिमी एक्लो छैनौ, हामी तिम्रो साथ छौँ" भन्नेहरु, जीवनमा कम्तीमा एकपटक सरको अभियानलाई सपोर्ट गरेकाहरु! ब्यानर बोकेकाहरु, कालो पट्टी भिरेकाहरु, सडकमा हिँडेकाहरु, क्यान्डल बालेकाहरु, भाषण दिएकाहरु,
खै काहाँ हुनुहुन्छ तपाईंहरु आज?
फेरि पनि यो चिसो मौसममा, डडेल्धुराको एउटा अस्पतालमा देशको नाममा छटपटाइरहेको त्यो वृद्द चिकित्सकलाई तपाईंहरुको साथ चाहिएको छ।
आफ्नो लागि केही नमाग्ने, केही नसाँच्ने, देशकै लागि पटकपटक जीवन बाजी राख्ने ती योद्दालाई तपाईं हामी सबैको साथ चाहिएको छ। सरले हामी सबैलाई लाउनुभएको गुण, उपकार, त्यागलाई थोरै भए पनि तिर्ने बेला भएन र अब?
जसको देनले आज पढिरहनुभएको छ। जसको अभियानले स्वास्थ्य उपचार सुलभ ढङ्गले उपभोग गरिरहनुभएको छ, मेडिकल माफिया विरुद्द बोल्न, लड्न सक्ने हुनुभएको छ, आज फेरि पनि उहाँ सत्याग्रहमा रही कमजोर स्वास्थ्य स्थिति पुगिसक्नुभएको छ।
देशमा माहामारी लाग्दा, शितलहरले गाउँबस्ती सिथिल पार्दा, बाढी पहिरोले मानव जीवनहरु घाइते बनाउँदा या जुनकुनै आपतकालीन अवस्थाले देशलाई डस्न खोज्दा, आफ्ना सबै दिनकर्म छोडी मल्हम पट्टी बोकेर गाउँगाउँ पुगिहाल्ने ती डा गोविन्द केसी आज फेरि आमरण अनसनमा अनवरत लडिरहँदा उनका शरीरका मांसपेसीहरु काँपिसक्दा, मुटुका चालहरुले इसिजीमा उतारचढाव देखाउन थालिसक्दा, शरीरका सम्वेदनशील अङ्गहरु चल्न अत्यावश्यक चिनी, नुन र अन्य तत्वहरु घटिसक्दा, पिसाबमा किटोनको मात्रा अत्यधिक भइसक्दा र जुनै बेला पनि स्वास्थ्य स्थिति नाजुक भई ज्यानको जोखिम हुने अवस्थामा पुगिसक्दा पनि खै तपाईंहरु कहाँ हुनुहुन्छ? के गर्दै हुनुहुन्न्छ? निल्न सकिरहनुभएको छ व्यन्जनका गाँसहरु? अहँ मैले त सकिनँ निल्न। गारो भयो, तितो, अमिलो भएर आयो, अड्कियो!
देशका हरेक आपतकालीन अवस्थामा महत्वपूर्ण योगदान दिनुभएका ती वरिष्ठ चिकित्सक फेरि पनि देशकै लागि आपतकालीन घडीमा पुगिसक्दा पनि तपाईं, तपाईंका कलम, तपाईंका सोच, तपाईंका गतिविधि र पहुँचहरु मौन राख्नुहुन्छ भने धिक्कार छ!
सक्नुहुन्छ आफूलाई सत्य र न्याय अनि परिवर्तनको समर्थक भनिराख्न?
आग्रह छ सबै चेतगणहरुलाई, केही गर्नुस्, जे सक्नुहुन्छ गर्नुस् जनतामा सत्ता उल्टाउन सक्ने तागत हुन्छ भने विगतका सम्झौताहरु कार्यान्वयन गराउन सक्नु र नगरेमा सत्तापक्षलाई दण्डित गर्न सक्ने क्षमता पनि हामी जनतामा नै छ। त्यसैले नागरिक समाज, देशको लागि कलम चलाउने पारखीहरु, परिवर्तनकारीहरु, अभियन्ताहरु र देशलाई माया गर्ने सम्पूर्ण देश भित्र र बिहीर रहेका नेपालीहरु, आउनुहोस्, उठ्नुहोस् आफ्नोआफ्नो ठाउँबाट, समूहबाट, क्षेत्रबाट, संस्थाबाट, जे सकिन्छ दबाब सिर्जना गरौँ, अभियान गरौँ कि यही अनसन नै अब स्वास्थ्य क्षेत्रमा कायापलटको, सुधारको विजयी आन्दोलन बनोस्।
चिकित्सा शिक्षा र स्वास्थ्यमा व्यापार गर्ने, राजनीति गर्ने र जनता लुट्नेहरुको मनोबल सधैंको लागि अन्त्य गरौँ। डा गोविन्द केसीको जीवन, उहाँको अभियान, उहाँका योगदानहरुको सुरक्षा गरौँ।
यस घडिमा पनि तपाईं हामी मौन रह्यौ भने, केही गरेनौ भने, ढिला भइहाल्यो भने, केही भवितव्य भए तपाईंको मौनता पनि जिम्मेवार हुनेछ। पछुताउनु नपरोस्, यदि केसी ढले भने!!!???