अन्तर्राष्ट्रिय स्तरमा स्वयंसेवकको रुपमा काम गर्ने व्यक्तित्वको उच्च सम्मानस्वरुप हरेक वर्ष डिसेम्बर ५ तारिखका दिन अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउने गरिन्छ। तर नेपालमा भने महिला स्वास्थ्य सेविकालाई नै स्वयंसेवकका रुपमा उच्च सम्मान गर्दै डिसेम्बर ५ तारिखमा महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइन्छ। यस वर्षको महिला स्वास्थ्य स्वयंसेविका दिवसको नारा ‘महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा, स्वस्थ, समृद्ध राष्ट्र निर्माणको टेवा’ रहेको छ।
महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको पृष्ठभूमि
नेपालमा आर्थिक वर्ष २०४५÷४६ देखि तराइका २७ जिल्लामा र क्रमैसँग सबै जिल्लामा स्वास्थ्य सेवक कार्यक्रमको थालनी भएको हो। केन्द्रीय जनवर्गीय महिला संगठन तथा स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा सुरु भएको सो स्वास्थ्य स्वयंसेवक कार्यक्रममा महिलालाई नै परिचालन गर्ने निर्णय भएको हो।
कार्यक्रमको सुरुमा हरेक वडाका १ जना सेविकाका दरले परिचालित हुने गरी सुरु भएको महिला स्वास्थ्य स्वयंसेविकालाई स्थानीय वडाबाटै छनोट गरी १५ दिनको आधारभूत तालिम प्रदान गरी महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रममा परिचालित गरिएको हो।
महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम
महिला स्वास्थ्य स्वयंसेविका विशुद्ध स्वयंसेवक कार्यक्रम हो। आधारभूत स्वास्थ्य सेवालाई जनताको घरदैलोमै पु¥याउने उद्देश्य अनुरुप नेपालमा स्वास्थ्य स्वयंसेवक कार्यक्रमको सूत्रपात भएको हो। स्वास्थ्य स्वयंसेवक कार्यक्रम केन्द्रीय जनवर्गीय महिला संगठन र स्वास्थ्य मन्त्रालयको समन्वयमा सुरुमा तराइका २७ जिल्लामा र क्रमैसँग सबै जिल्लामा महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम लागू भई सञ्चालन भइरहेको छ।
यो कार्यक्रममा हरेक वडामा स्थायी बसोबास गरिरहेका महिलाको आमा समूह गठन हुन्छ। सोही समूहबाट छनोट हुने २५ वर्ष उमेर नाघेका, गर्भवती र सुत्केरी स्थानीय वडाबासी महिला स्वास्थ्य स्वयंसेविका वार्ड स्वास्थ्य कार्यक्रममा परिचालित हुन्छन्। जनस्वास्थ्य कार्यक्रमका संवाहक स्वयंसेविकाले तालिम, गोष्ठी र राष्ट्रिय कार्यक्रममा परिचालन गर्दा खाजा र भत्ता पाउने गरी हरेक वार्डका स्वास्थ्य सेवाग्राहीलाई निर्दिष्ट सेवा पु¥याउने कार्यक्रम नै महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम हो।
महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको उद्देश्य
यस कार्यक्रमको प्रमुख उद्देश्य हरेक वडाका जनतालाई आधारभूत स्वास्थ्य सेवा सन्देश पु¥याउने संवाहकका रुपमा वडास्तरकै स्थायी बासिन्दा महिलालाई स्वास्थ्य स्वयंसेविकालाई छनोट एवं तालिम दिई स्वास्थ्य स्वयं सेवामा परिचालन गर्नु हो।
महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको वर्तमान अवस्था
आजभन्दा झण्डै ३१ वर्ष पहिले हरेक वडामा १ जनाका दरले परिचालित हुने गरी सुरु भएको महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रममा स्थानीय वडामा स्थायी बासिन्दालाई आमा समूहको सिफारिसमा छनोट गरी आधारभूत तालिम प्रदान गरी प्राथमिक उपचारका केही औषधि समेत खटाइएको हो। तर पछि जनसंख्याको आधारमा पहाड र तराईमा क्रमशः ५०० र २५० जनसंख्यामा १ जनाका दरले छनोट गरी परिचालित गरिएका छन्। हालसम्म देशका ग्रामीण तथा सहरी क्षेत्रका गरी ५१ हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका सेवारत छन्। स्वास्थ्य सेविकाको आधारभूत तालिम १५ दिनवाट परिमार्जन गरी सुरुमा ९ दिन तालिम प्रदान गरी सेवामा परिचालन गर्ने र ६ महिनाभित्र पुनः ९ दिने तालिम प्रदान गरिन्छ भने समय सापेक्ष पुनर्ताजगी तालिमका साथै विभिन्न गोष्ठीमा सहभागिता गराइँदै आएको छ।
महिला स्वास्थ्य स्वयंसेविकाका काम र कर्तव्य
हरेक वडाका गर्भवती तथा सुत्केरी समेतको सहभागितामा ‘आमा समूह’ को गठन हुन्छ। आमा समूहको सदस्य मध्येबाट स्वयंसेविका छनोट गरिन्छन्। छनोट भएका स्वास्थ्य सेविकाले आधारभूत तालिम प्राप्त गरेपछि आफ्नो वडाको स्वास्थ्य कार्यक्रममा परिचालित हुन्छन्। आमा समूहको विस्तार गर्दै जाने, कम्तीमा हरेक महिनाको एक पटक बैठक बसाल्ने र विभिन्न जनस्वास्थ्य समस्यामा छलफल एवं कार्यान्वयन गर्ने, वडाका बासिन्दाका आधारभूत प्राथमिक स्वास्थ्य सेवाभित्र पर्ने खोप, सुरक्षित मातृत्व, परिवार नियोजन, झाडापखाला, श्वासप्रश्वास नियन्त्रण र पोषण लगायत बालस्वास्थ्य तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको प्रबर्धन गर्ने, स्वास्थ्य सेवाग्राहीलाई साधन वितरण, प्राथमिक उपचार तथा प्रेषण र स्वास्थ्य सन्देश फैलाउनुका साथै राष्ट्रिय स्वास्थ्य कार्यक्रममा सघाउने महिला स्वास्थ्य सेविकाका काम र कर्तव्य हुन्।
महिला स्वास्थ्य स्वयंसेविकालाई सरकारको सहयोग
नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान गरेको भन्दै बखान र पुरष्कृत गर्दै गएको छ। पहिले वडा संख्याका आधारमा मनोनित महिला स्वास्थ्य स्वयंसेविका २०५० देखि जनसंख्याका आधारमा मनोनित भई तालिम समेत प्राप्त गरेका छन्। सेविकाको उच्च सम्मान गर्दै २०६४ देखि वर्षेनी असोज १५ गतेलाई महिला स्वास्थ्य स्वयंसेविका दिवसको रुपमा मनाउन थालियो।
स्वयंसेवक सेवालाई अझ मर्यादा र प्रोत्साहन गर्दै डिसेम्बर ५ तारिखलाई अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसलाई महिला स्वास्थ्य स्वयंसेविका दिवसको रुपमा मनाउन थालिएको छ। कुनै कारणवस छोड्न चाहेका महिला स्वास्थ्य स्वयंसेविकाका सिफारिसमा आफ्नै नाता पर्ने महिलालाई छनोट गरी तालिम दिई काममा परिचालन गर्ने नीतिसँगै कार्यान्वयन हुँदै आएको छ।
मुलुकभरिका सेविकालाई पालैपालो गरी उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा छनोट गरी एकजोर कपडा (साडी, चोलो आदि) सेट वितरण गर्न थालिएको छ भने हरेक महिला स्वास्थ्य स्वयंसेविकालाई पोषक भत्ताको रुपमा वार्षिक रु६ हजार र स्वयंसेविका कोषको रुपमा वार्षिक रु१० हजार उपलब्ध गराएको छ। त्यतिमात्र नभई हरेक महिला स्वास्थ्य स्वयंसेविकाको नाममा रु५० हजारका दरले अक्षय कोषको स्थापना र मोबाइल फोन सेटका साथै योग्य र सक्रिय महिला स्वास्थ्य स्वयंसेविकालाई अक्जुलियरी नर्स मिडवाइफको तालिम दिने व्यवस्था समेत गरेको छ।
निष्कर्ष
म महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको थालनीदेखि नै प्रशिक्षक प्रशिक्षणदेखि सेविकालाई परिचालन, सुपरिवेक्षण, अनुगमन समेत गर्दै आएको हुँ। कार्यक्रमको सुरुमा छनोट भई १५ दिने तालिम पश्चात मासिक पारिश्रमिक रु१००।– मात्र पाउने गरी परिचालित महिला स्वास्थ्य स्वयंसेविकाको सेवा साँच्चिकै प्रशंसनीय थियो। वैदेशिक सहयोगबाट मासिक पाउने पारिश्रमिक कटौती भएपछि महिला स्वास्थ्य सेविकाहरुमा नैराश्यता बढ्न थाल्यो।
तालिम तथा गोष्ठीमा भत्ता र खाजा मात्र उपलब्ध हुन थाल्यो भने स्वयंसेविकाले आफू स्वयंसेवकको रुपमा सेवारत भएकोले तलब सुविधा पाइँदैन भन्ने तथ्य चटक्क बिर्सेर हामीलाई खान, लाउन पुगेन भनी आन्दोलन गर्दै घरदैलोबाट पु¥याउने सन्देश, सामग्री वितरण र सल्लाह समेत दिन छाडे। तर नेपाल सरकारले भने महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदानको फलस्वरुप नै देशले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको भनी बखान र पुरष्कृत गर्दै वर्षेनी डिसेम्बर ५ तारिखका दिन महिला स्वास्थ्य स्वयंदिवस मनाउने व्यवस्था, विभिन्न शीर्षकमा वार्षिक रकमको व्यवस्था, सबैलाई लुगा भत्ता, मोबाइल फोन, अक्षय कोष र हरेक कार्यक्रममा मन्त्री तथा राजनीतिक पदाधिकारीको सम्बोधनमा उच्च बखान हुँदै गयो।
यतिका सेवासुविधा प्राप्त गरेका महिला स्वास्थ्य स्वयंसेविका भने विभिन्न ट्रेड युनियनमा आबद्घ भई हरेक मञ्च र कार्यक्रममा सरकारसँग तलब, भत्ता, सुविधा नपाएको गुनासो मात्र गर्छन्।
जे होस्, सरकारले सेविकावाट जनस्वास्थ्य कार्यक्रम प्रबर्धन, स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार सम्बन्धी सन्देश स्थानीय जनतालाई पु¥याउन र प्रेषण गर्न र राष्ट्रिय कार्यक्रममा सरकारी स्वास्थ्य संस्थालाई सघाउन परिचालन गरेको हो। स्वास्थ्यकर्मीको सबल नेतृत्व र सेविकाको सहयोगमा मातृ–शिशु स्वास्थ्य, शिशु तथा बालबालिका स्वास्थ्य सम्बन्धी लक्ष्य अनुसार उपलब्धि हासिल हुन सघाउ नपुगेको भने होइन।
त्यसैले महिला स्वास्थ्य स्वयंसेविकाले वडास्तरमै जनतालाई स्वास्थ्य सूचना, शिक्षा र सञ्चार सम्बन्धी सन्देश पु¥याउने कामको कदर भएकै छ। त्यसकारण आफू स्वास्थ्य स्वयंसेविका भएको तथ्यलाई नबिर्सेर निःस्वार्थ सेवा पुगोस् भनेरै सरकारले ‘महिला स्वास्थ्य स्वयंसेविकाको निःस्वार्थ सेवा, स्वस्थ, समृद्ध राष्ट्र निर्माणमा टेवा’को नारामा अन्तर्राष्ट्रिय स्वास्थ्य स्वयंसेवक दिवस मनाउन लागेको हो।