हेर्नेहरुलाई
सुखद्, आनन्द र रोचक
खेल्नेलाई
सधैं त्रासदी र मोहक
जुवाको खेलजस्तै
डाक्टरको जिन्दगी!!
भाग्यको विधानमा जिज्ञासु भएर
भविष्यका पानाहरूमा अनभिज्ञ भएर
हरेक श्वासहरूमा
ढक्क मुटु फुलाउँदै,
हरेक प्रतीक्षाका भावहरूमा
केन्द्रिकृत हुँदै
अँध्यारो पर्दाबाट
चियाउने घामहरूसँगै
आफ्ना मगजरुपी कौडीहरू
भाग्यरुपी तन्नाहरूमा फाल्दै
बिरामीको स्वास्थ्यमा
सकारात्मक उलट-पुलट
हुने आशाहरुमा उत्तेजित हुँदै
आकस्मिक कक्षमा
सजीव उत्साहको
जुवा खेल्न उत्रिएको
खेलाडी जस्तै
यो डाक्टरको जिन्दगी!
खै के जिन्दगी?
कतै हेर्छ त
स्वास्थ्यमा व्यापार देख्छ,
कतै हेर्छ त
आशाहरूमा पनि नैराश्य देख्छ,
कतै हेर्छ त
अवसरवादीले बिरामी सिद्याएको देख्छ,
कतै हेर्छ त
जीवन तिलस्मी र ईश्वर अचेत देख्छ,
तर पनि सधैंझैं
बिर्सेरआफूलाई
बिरामी र अस्पतालको समयमा
तल्लीन भइराख्छ
अनि कतै केही भइहाले
बिरामीका आफन्त जाइलाग्ने पो
हुन् कि भन्दै
अर्धचेतमा त्रास कायम राखिराख्छ
ओहो!
यो डाक्टरको जिन्दगी!
खै के जिन्दगी?
खै अरुले बुझेका?
सायदै किन र
डाक्टर अँध्यारोमा झटारो हान्छ?
घरबाट निस्कने बेलामा साइत बिगार्छ?
कसैको विश्वासलाई त्यसै किन मार्छ?
तर पनि
बिरामीको आकस्मिक मृत्यु पछाडिका आरोपहरूमा
राज्यको निकम्मापन देखेपछि
मिडियाचैं ज्योतिष बनेर
डाक्टरलाई दोषी ठहर्याबराउँछ!
हैट,
यो डाक्टरको जिन्दगी!
खै के जिन्दगी?
साथीले अमेरिकाको लाइसेन्स परीक्षा दिएर
मनग्य पैसा कमाएको देख्छ,
सन्तोष परम् सुखम् भन्छ
तर
प्याज किन्न नसक्दा
सेतो एप्रोनमा धब्बा देख्छ,
हरेक रात
सपनाको टुकीमा
चञ्चल मनको दागबत्ती दिएर पढ्छ,
अरु समय बिरामीको सेवामा खट्छ,
परिवार बहलाउन बिहे गर्छ
बिहेपछि पत्नीको
मीठो व्यंग्य खान्छ,
पारिवारिक चिफ कम्पेल्नहरूमा
घोत्लिन थाल्छ,
जिन्दगीले न हँसाउछ
न धरधरी रुवाउछ!
सरकार पनि सधैं भन्छ
डाक्टर त दुर्गममा गएर बसेको सुहाउँछ,
आफ्नै व्यग्र सहानुभूतिहरूमा
बिरामी सित्तैमा उपदेश फलाकिदिन्छ,
सिरानीमा किताबहरू राखी
चौतारीरुपी लाइब्रेरीमा निदाउँदा
कपाल झरेर चिल्लो भएको तालुमा
सुन्दरी नर्स अन्वेषण गर्छे
अनि नफर्कने झटारो हान्छे,
तर डाक्टर लप्पन छप्पन जान्दैन
अनि जिन्दगी बाकीँ छ भन्दा भन्दै
आयुनै विज्ञानको अड्कलमा
समर्पण गरिदिन्छ,
यो डाक्टरको जिन्दगी!
खै के जिन्दगी?
खै! जहर पनि होइन
अमृत त हुँदै होइन
सायद
खेलिरहने
जिते जस्तो भए पछि हार्ने
भाग्य र विज्ञानको
दोँसाधमा रङ फिजाउँने
लहड पो हो कि?
यो डाक्टरको जिन्दगी!
कालिदासले
टुप्पोमा बसेर फेद काटेजस्तै
घनघोर मुर्खता पो हो कि?
यो डाक्टरको जिन्दगी!
चतुरहरूले
धन लुट्न बनाएको
खजना पो हो कि?
यो डाक्टरको जिन्दगी!
भावीलाई दोष लगाएर
अनिश्चितताको पगरी गुथी
दाउ थुत्नलाई पो हो कि?
यो डाक्टरको जिन्दगी!
हाकिमको हप्काइ
कामसँगको लडाइँ
बिरामीसँगको सामीप्यता र
दुःखसँगको आत्मीयता
नाप्ने सर्वोत्तम कडी पो हो कि?
यो डाक्टरको जिन्दगी!
हत्तेरी,
यो डाक्टरको जिन्दगी
खै के जिन्दगी?