झापा- झापाको दमकमा औषधि व्यवस्था विभाग विराटनगर र प्रहरीको संयुक्त टोलीले छापा मारी नेपालमा दर्ता नभएका प्रतिबन्धित औषधिको डिलर सञ्चालकलाई पक्राउ गरेको छ। डिलर सञ्चालक दमक नगरपालिका- ७ का ३८ वर्षीय गंगाबहादुर खड्का पक्राउ परेका हुन्।
खड्काले नेपालमा आयात, किनबेच र सेवनमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको औषधिको लुकाइछिपाइ बिक्री गर्न डिलर नै सञ्चालन गरेको पाइएको विभागका विराटनगर प्रमुख सञ्जीव शर्मा कट्टेलले बताए। दमकमा खड्काले दमक मेडिसिन डिस्ट्रीब्युटर्स औषधिको होलसेल पसल सञ्चालन गरेका छन्।
भारतबाट ट्रामाडोल, जेनग्रा रेड, लुलीगार्ड, डर्मीकेम ओसी, प्रेगाउट किट, भिवेल फोर्ट, क्लोबेटा जिएम समेतका प्रतिबन्धित औषधिको कारोबारमा खड्काको संलग्नता पाइएको छ। प्रतिबन्ध लगाइएको र दर्ता नै नभएका कारण यी कुनै औषधि नेपालमा भित्र्याउन र बिक्रीवितरण गर्न नपाइने उनको भनाइ।
खड्काको घरमा छापा हान्दा लुकाइछिपाइ राखेको अवस्थामा एक सय २० पत्ता ट्रामाडोल, ३० पत्ता जेनग्रा रेड, ९५ ट्युब लुलीगार्ड, चार सय बट्टा डर्मीकेम ओसी, १४ पत्ता प्रेगाउट किट, एक सय ४० पत्ता भिवेल फोर्ट र एक सय ५० ट्युब क्लोबेटा जिएम समेतका प्रतिबन्धित औषधि बरामद भएको कट्टेलले बताए।
प्रतिबन्धित अवैध औषधिसहित पक्राउ गरिएका खड्कालाई भने प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गर्ने काम भइरहेको जानकारी कट्टेलले दिए। उनकाअनुसार विभिन्न स्थानबाट प्रहरीले पछिल्लो एक महिनाको अवधिमा १५ जनालाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेर कारबाहीका लागि औषधि व्यवस्था विभागलाई बुझाएको छ।
खड्काविरुद्ध औषधि ऐन २०३५ अनुसार कारबाही गर्न अनुसन्धान अघि बढाइएको जानकारी औषधि व्यवस्था विभागका फार्मेसी निरिक्षक दीपेन्द्र खड्काले बताए।