भक्तपुर- भक्तपुर कौशलटार अवस्थित मानव सेवा आश्रममा संविधान दिवसको अवसर पारेर स्वास्थ्य शिविर आयोजना गरिएको छ।
टिम नेपो, प्रधान परिवार परोपकार र आयुर्वेद क्याम्पस र शिक्षण अस्पताल, कीर्तिपुरको आयोजना र नेपाल आयुर्वेद विद्यार्थी समाज र आयुर्वेद चिकित्सा विकास तथा अनुसन्धान प्रतिष्ठानको सहयोगमा आइतबार एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो।
टिम नेपाले विगत केहि दशक यता स्वास्थ्य क्षेत्रलाई आफ्नो प्रमुख कार्यक्षेत्र बनाई स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ।
त्यहि स्वरुप कोभिड महामारीलाई मध्यनजर गर्दै यस महामारीको समयमा सबैभन्दा जोखिममा रहेको उमेर समूह वृद्धवृद्धालाई लक्षित गरि काठमाडौँका अधिकांश वृद्धाआश्रमहरुमा जेष्ठनागरिक निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ।
संस्थाकी स्वयमसेविका सृष्टि पौडेलले शिविर मुख्यतयः ज्येष्ठ नागरिकहरुका निम्ति संचालन गरिएता पनि अन्य विभिन्न उमेर समुहका व्यक्तिहरुले पनि स्वास्थ्य सेवा लिनु भएको कुरा बताइन।
टीम नेपोद्वारा उपत्यकामा तेस्रो पटक आयोजित जेष्ठ नागरिक शिविरको आयुर्वेद क्याम्पस र शिक्षण अस्पतालका प्रमुख डा. शिवमंगल प्रसादले उद्घाटन गरेका थिए।
उनले प्रसादले भने, ’विशेष गरी कोभिडको समयमा वृद्ध आमाबुवाको हेरचाह महत्वपूणर् विषय भएकाले पनि वृद्धाआश्रमहरुमा यस्ता शिविरहरु आयोजना गर्नु अति आवश्यक छ। यो महामारीको अवस्थामा हरेक लक्षणहरुको निगरानी, धेरै भन्दा धेरै नागरिकहरुलाई खोप लगाउने, उच्च जोखिममा रहेका उमेर समूहलाई प्राथमिकतामा राख्न जरुरी छ।’
सस्थाका अध्यक्ष डा पौडेलले आफ्नो मन्तव्य राख्दै भने, ‘यो शिविर उहाहरुको वर्तमान स्वास्थ्य समस्याहरुको जाँच तथा सम्बोधन गर्ने मात्र नभई महामारीलाई परास्त गर्नका निम्ति उहाँको रोगप्रतिरोधात्मक क्षमता सुदृढ गर्ने एक राम्रो अवसर पनि हुनेछ।’
शिविरमा डा ऋषि केशव भुसाल, डा हेमन्त गौतम, डा प्रदीप अधिकारी, डा सुशान्त भण्डारी, डा दिलीप अधिकारी, डा रवीन्द्र सुवाल, डा नीरु भट्टराई, डा स्वीकृति लामिछाने र डा सुर्यश्वोरी दुवाडीलगायतले स्वास्थ्य सेवा प्रदान गरेका छन्।
आश्रमको निम्ति साबुन, मास्क र रोगप्रतिरोधात्मक चिया सहित निर्धारित औषधि, सरसफाई तथा प्रतिरक्षा किट आश्रम संचालिका जमुना पौडेललाई हस्तान्तरण गरेको थियो। यसअघि टिम नेपोले शङ्ख्धर जेष्ठ नागरिक सेवा केन्द्र, कीर्तिपुर र दिव्या सेवा निकेतन वृद्धाश्रम, गोल्फुटार, काठमाडौंमा निःशुल्क चिकित्सा शिविरको आयोजना गरिसकेको छ।