नेपाल सरकारद्वारा पूर्ण स्वामित्वमा संचालित सामाजिक सुरक्षाको प्रत्याभूति दिने सम्पूर्ण नागरिकको लागि कोशेढुङ्गा सावित भएको स्वास्थ्य बीमा एक गुणस्तरीय कार्यक्रम हो। स्वास्थ्यको विषयमा हाम्रा पुर्वजहरु निकै संवेदनशील थिए। किनभने चार्वाक दर्शनमा लेखिएको छ कि ‘यावज्जीवेत सुखं जीवेत ऋणं कृत्वा घृतं पिवेत, भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः॥‘
अर्थात जबसम्म जिउनु छ सुखपुर्वक जीवनयापन गर्ने, ऋण लिएर पनि घ्यू खाने, जब मरे पश्चात शरीर खरानी भएर नष्ट हुन जान्छ तब मनुष्यको पुनर्जन्म सम्भव हुदैन। अत: बा्चुन्जेल सुख पूर्वक बाच्ने। तर अब स्वास्थ्य उपचारको लागि कसैले पनि ऋण लिनु पर्दैन किनभने स्वास्थ्य बीमा बोर्डले बीमित भईसके पश्चात तपाईंको स्वास्थ्य हाम्रो अठोट भन्ने प्रतिबद्धता गरेको छ। स्वास्थ्य बीमा गर्नुको धेरै कारणहरुमध्ये केही कारण निम्नुसार रहेका छन्।
• रोगको कारणले अचानक आईपर्नै अप्रत्यासित आर्थिक जोखिम कम गर्न
• निश्चित रकमको योगदान तिरी लाखौं सम्मको सहज उपचारमा पहुँच कायम गर्न
• मुटु, मिर्गौला तथा क्यान्सर लगायतका जटिल दीर्घकालिन रोगमा थप आर्थिक सहयोग प्राप्त गर्न
• रोग लागेपश्चात अनुदान वा सहयोगको लागि विभिन्न निकायको झन्झटबाट मुक्त भई सिधै स्वास्थ्य संस्थामा सहज उपचार पाउन
• दिगो विकासका लक्ष्यहरु हाँसिल गर्नमा सहयोगी भूमिका निर्वाह गर्न
• आर्थिक अभावमा रोग पालेर दुःखबाट मुक्ति पाउन
• कर्जा, धितो वा ऋण लिएर उपचारको नाममा आर्थिक पक्षको अकल्पनीय असरबाट बच्न
• सरकारी कार्यक्रममा सजगताको साथ सहभागी हुन
• स्वाभिमानी स्वस्थ नेपालीको पहिचान कायम गरी सचेत नागरिकको भूमिका निर्वाह गर्न
• आफूलाई रोग नलागे पनि दान स्वरुप बीमामा अनुदान तिरी अरुलाई सहयोग गर्न
• सरकारी स्वास्थ्य संस्थाको सुदृढीकरणमा योगदान गर्न
• थोरै पैसा योगदान बापत तिरी निजि स्वास्थ्य संस्थामा प्रेषण लिई उपचारमा पहुँच कायम गर्न
इत्यादि।
यस्तै यी उपरोक्त कारणहरु बाहेक स्वास्थ्य बीमामा सहभागी हुन कुनै प्रकारको आरक्षित प्रक्रियामुखि समस्या रहेको पाइँदैन। नेपाल सरकारद्वारा नागरिकहरुको सामाजिक सुरक्षालाई सम्बोधन स्वरूप यस उपलब्धिमूलक कार्यक्रमलाई विगतको आधा दशकदेखि संचालित गरी करिब आधा करोड भन्दा बढी नागरिकहरुलाई निरन्तर गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको पाइन्छ। यस कार्यक्रममा सहभागी हुन उमेर, जातजाति, भाषाभाषी र भूगोल लगायतका कुनै विषयमा असहजता छैन। स्वास्थ्य बीमा सरकारद्वारा संचालित सेवामुखी कार्यक्रम हो। यस कार्यक्रमलाई अझै सहज, सर्वसुलभ र गुणस्तरीय बनाउनु तीनवटै सरकार, बीमा बोर्ड र नागरिकहरुको दायित्व हो।
-(तिवारी स्वास्थ्य बीमा बोर्ड संखुवासभाका दर्ता अधिकारी हुन्।)