जनकपुर- बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालय धनुषाले आयोजना गरेको निःशुल्क स्वास्थ्य जाँच शिविरमा १०० जना चालक तथा सहचालकहरुले जाँच गराएका छन्।
माँ जानकी यातायात प्रालि जनकपुरधामको सहयोगमा जिल्ला ट्राफिक कार्यालय धनुषाद्वारा जनकपुरधाम उपमहानगरपालिका–२१ स्थित बसपार्कमा आयोजित निःशुल्क शिविरमा चालक तथा सहचालकहरुले आँखा, कान, रक्तचाप तथा मधुमेह रोगको जाँच गराएका हुन्।
शिविरमा जनकपुरधामस्थित म्याक्स लाइफ अस्पतालका जेनरल फिजिसियन डा कृष्णकुमार साह, डा अभिजित साह, न्यूरो सर्जन डा रवि श्रीवास्तव, डा नेहा साह तथा नाक, कान, घाँटी रोग विशेषज्ञ डा सुनिल सिंहलगायत चिकित्सकहरुले चालक तथा सहचालकहरुको स्वास्थ्य जाँच गरे।
यस्तै जनकपुरधामस्थित जानकी आँखा अस्पतालका आँखा विशेषज्ञहरुले चालक र सहचालकहरुको आँखाको जाँच गरेको जिल्ला ट्राफिक कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए।
जाँच गरिएका चालक तथा सहचालकहरुमध्ये थोरैमा मात्र आँखासम्बन्धी समस्या देखिएको र धेरैमा अझै लाइटको रङ छुट्याउन सकिने तथा टाढासम्म हेर्न सकिने क्षमता रहेको पाइएको चिकित्सकहरुले बताएका छन्।
यस्तै रक्तचाप जाँच गरिएका चालकहरुमध्ये १० प्रतिशतमा मात्र उच्च रक्तचापको समस्या देखिएको र त्यसमध्ये पाँच प्रतिशतले मात्र उच्च रक्तचापको औषधि सेवन गरिरहेको पाइएको चिकित्सकहरुकोे भनाइ छ। रासस